अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी
पोखरा । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताए । विमानस्थल कास्कीको मात्र नभई गण्डकी प्रदेशकै गहना भएको उनको भनाइ छ । पूर्वमन्त्री यज्ञबहादुर थापाले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय विमानस्थको भूूमिका महत्वपूर्ण रहने बताए । पोखरा मात्र हैन विमानस्थलबाट समदूरीमा पोखराको फेवा र लेखनाथको बेगनास ताल पनि पर्ने भएकाले लेखनाथको क्षेत्रको पर्यटन विकाले अब द्रुतगति लिनेमा विश्वास व्यक्त गरे । ‘अब यहाँ आउने पर्यटक पोखराको लेकसाइडले मात्र थेग्न सक्दैन ती पर्यटक बेगनास र रुपा तालतर्फ पनि आउने छन्, कस्केलीको ४ दशक लामो प्रतीक्षाबाट निर्माण सम्पन्न भएको छ यो विमानस्थल सफल बनाउन कस्केली मात्र नभएर सिङ्गो गण्डकीवासी नै जुट्नुपर्छ, अब विदेशी पर्यटक सीधै पोखरा आउनसक्ने भए,’ उनले भने, ‘पोखरा र लेखनाथको मात्र हैन अब समग्र गण्डकी प्रदेशको विकास भएको छ, अब यहाँबाट पर्यटक चितवन, लुम्बिनीमा जानसमेत सक्ने भए ।’ उनले लेखनाथ र पोखरा अब एउटै उपत्यका भएको छ, विमानस्थल सञ्चालनमा आएपछि झनै नजिक बनाइदिएको बताए । अब यहाँका जनप्रतिनिधिले समृद्धि र यहाँका प्रकृतिक संरचनालाई संरक्षण गर्दै गुफा र तालको धनी सहर पोखराको पर्यटक विकासमा जुट्नुपर्ने उनको भनाइ छ । पोखरा–२६ लेखनाथका गणेश अधिकारीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले समग्र कास्की र वरपरका जिल्लाको पर्यटन विकासमा सहयोग पुर्याउने र यस क्षेत्रका मानिसको जीवनस्तरसमेत माथि उठ्ने विश्वास व्यक्त गरे । ‘समग्र पोखराको पर्यटन विकासमा स्थानीय, प्रदेश र सङ्घका प्रतिनिधि जुट्नुपर्छ, विदेशी पर्यटक अब सीधै पोखरा आउने भएपछि पोखरालाई थप सुन्दर बनाउन विकासका योजना पर्याप्त मात्रामा ल्याउनुपर्छ,’ उनले भने । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं लेखनाथवासी छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथका सडक विस्तार गर्न आवश्यक भएको बताए । उनले साँघुरा सडक र कच्ची सडकले पर्यटक थेक्न सक्दैन, ट्राफिक जाम नहुने किसिमबाट सडकको विस्तार हुन जरुरी भएको बताए । यस क्षेत्रको पर्यटकीय बेगनास, रुपालगायत अन्य ५ तालको पनि विकास गर्न जरुरी रहेको जनाउँदै उनले लेखनाथका सातै ताललाई जोड्ने सडक निर्माण गर्न जरुरी भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गरे । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको छ । करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी २२ अर्ब रुपैयाँ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । विमानस्थलको क्षमता वार्षिक दश लाख यात्रुको रहेको छ । २४ सैँ घण्टा जहाज सञ्चालन गर्न सकिने सो अवसरमा जानकारी दिइएको छ ।
एक वर्षमा ६ लाख विदेशीले गरे नेपाल भ्रमण
काठमाडौं । सन् २०२२ मा ६ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको एक वर्षको तथ्यांक अनुसार विभिन्न देशबाट हवाई मार्गहुँदै ६ लाख १४ हजार १४८ जना विदेशी नेपाल भित्रिएका हुन । बोर्डको तथ्यांक अनुसार सबैभन्दा धेरै अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मे मा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७ र जुलाईमा ४४ हजार ४६२ जना विदेशी हवाई मार्ग हुँदै नेपाल आएका हुन । यस्तैगरी, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६५३ र डिसेम्बरमा ६७ हजार ९३२ जना विदेशी नेपाल आएका छन् । तथ्यांक अनुसार एक वर्षमा सबैभन्दा धेरै विदेशी भारतबाट आएका छन् । भारतबाट २ लाख ९ हजार १०५ जना नेपाल आएका हुन । यस्तै, अमेरिकाबाट ७७ हजार ९, युकेबाट ४४ हजार ७८१, अष्टेलियाबाट २६ हजार ८७४ र बंगलादेशबाट २५ हजार ३८४ विदेशी नेपाल भित्रिएका छन् । सन् २०२० मा २ लाख ३० हजार विदेशी नेपाल आएका थिए भने २०२१ मा १ लाख ४९ हजार मात्र विदेशी आएका थिए । कोरोना महामारीमा कमी आएपछि नेपाल भित्रने विदेशीको संख्यामा बृद्धि हुन थालेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने
पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो । ‘विकास, समृद्दि र सुशासन आजको आवश्यकता हो’, मन्त्री पौडेलले भने । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए ।