मनकामना केबलकारले ४६ करोड लगानीमा सुविधा सम्पन्न होटल खोल्दै, दुई वर्षभित्र सञ्चालनमा आउने

काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिरमै सुविधा सम्पन्न होटल खोल्ने भएको छ । मनकामना केबलकार सञ्चालन गरिरहेको कम्पनीले अब होटल खोल्ने तयारी गरेको हो । कम्पनीले ४६ करोड लगानीमा सुविधासम्पन्न ४० बेड क्षमताको होटल खाल्ने तयारी गरिरहेको कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले बताए । ‘मनकामना मन्दिरहरु सुविधासम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गर्दैछौं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, यसमा स्विमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल हुनेछ, केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले भने । होटलले आन्तरिकसँगै वाह्य पर्यटक भित्र्याउनका लागि पनि महत्पूर्ण भूमिका खेल्ने उनको भनाइ छ । अहिले मनकामना केबलकारमा यात्रा गर्नेहरुको पनि संख्या बढ्दै गएको छ । उनका अनुसार दैनिक ३ हजार ५ सय बढी मानिसले केबलबार यात्रा गर्ने गरेका छन् । उनका अनुसार २ वर्षभित्र निर्माण सकेर होटल सञ्चालन गर्ने तयारी छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार सञ्चालन गरेपछि स्थानीयहरुको जीवनस्तर सुध्रिएको छ । स्थानीय उत्पादनले बजार पाएको छ । अधिकांश मानिसहरु स्वरोजगार बनेका छन् । धेरैले रोजगारी पाएका छन् । आन्तरिक पयर्टकको घुइँचो छ । ‘आन्तरिक पर्यटक बढाउनमा हामीले धेरै सहयोग गरेका छौं, केबलकार सञ्चालनमा आएपछि राजमार्गमा पनि धेरै होटल÷रेष्टुराँहरु खुले, स्थानीय उत्पादनले बजार पाएको छ, कतिपयको उत्पादन मनकामना मन्दिरमै बिक्छ,’ राजेशबाबु भन्छन्, ‘अब हामीले मनकामना धार्मिकसँगै पर्यटकीय गन्तब्य पनि हो है भन्ने सन्देश दिन खोजेका छौं ।’ मनकामना दर्शन प्रालिले ४६ करोडको लगानीमा अब मनकामनामै सुविधा सम्पन्न होटल खोल्दैछ भने अर्को ठाउँमा पनि केबलकार निर्माण गर्ने जनाएको छ । नयाँ निर्माण हुुने केबलकारलाई पब्लिकमा लैजाने योजना रहेको पनि उनी सुनाउँछन् । मनकामनाको भने अहिले दोस्रो बजारमा सूचिकृत गराउने कुनै तयारी नभएको उनले बताए । अहिले मनकामना केबलकारको मर्मत सम्भार पनि भइरहेको छ । जसका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने अझै ४० करोड मर्मतमा लाग्ने कम्पनीको भनाइ छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । केबलकारको अहिले चरणवद्ध रुपमा काम भइरहेकाके पनि निर्देशक श्रेष्ठले बताए । सुरुमा ६५ करोड रुपैयाँ लगानी लगाएर सुरु भएको मनकामना केबलकारले अहिले मासिक करोडौं कमाउँछ । गत आर्थिक वर्षमा पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी मनकामना बनेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन क्यानलाई सकस, हिमालयले रोक्यो उडान

काठमाडौं । गत जेठ २ गतेबाट औैपचारिक रुपमा सञ्चालनमा आएको भैरहवास्थीत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)लाई सकस परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पीक विमानस्थलको रुपमा हेरिएको भैरहवामा उडान गर्न वायुसेवा कम्पनीले चासो नदेखाउँदा विमानस्थल सञ्चालनमा सकस परेको हो । करिब ३२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको विमानस्थल सञ्चालनमा आएको ७ महिना हुँदा सीमित उडान मात्रै भएका छन् । सुरुवाती चरणमा दैनिक उडान गर्दै आएको जजिरा एयरवेजले पर्याप्त यात्रु नभएको भन्दै आफ्नो उडान कटौती गरेको छ । जजिराले सुरुवाती चरणमा हप्तामा ३ उडान गर्दै आएको थियो । बीचमा उडान थप गरेर गत ३१ भदौदेखि दैनिक गरेको थियो । तर, दैनिक उडानका लागि पर्याप्त यात्रु नभएको भन्दै जजिराले असोज २६ गतेबाट पुनः सातामा ३ उडान मात्रै गर्दै आएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार अन्य वायुसेवा कम्पनीले भैरहवा विमानस्थल उडानमा चासो नदेखाउँदा समस्या भएको छ । ‘नेपालबाट कुवेतका लागि उड्ने यात्रु कम भएकाले यात्रुको उपलब्धताका आधारमा उडान संख्या घटाउने तयारी गरेको छ, हामीले आन्तर्राष्ट्रि उडान गर्ने सबै वायुसेवा कम्पनीसँग अनुरोध गरिसकेका छौँ, उडानका लागि चासो देखाएका वायुुसेवा कम्पनीले समेत उडान नगर्दा समस्या भयो,’ उनले भने । भारत सरकारले समेत उडान अनुमति नदिँदा समेत समस्या भएको उनले बताए । नेपाल वायुसेवा निगमले मलेसिया र कतारको दोहा उडान गर्न तालिका पेश गरेको भएपनि हालसम्म उडान सुरु गरेको छैन । यस्तै, निगमले भारतको नयाँ दिल्लीमा उडान गर्ने भने पनि भारतीय सरकारले अनुमति पाएको छैन । त्यो बाहेक अन्य गन्तव्यमा उडान गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रवक्ता निरौलाले बताए । नवीकरण नहुँदा हिमालयले रोक्यो क्यानले हिमालय एयरलाइसको दिएको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ सेवा नवीकरण नगरेपछि हिमालयले भैरहवा उडान कटौती गरेको छ । क्यान स्रोतका अनुसार तत्कालका लागि भैरहवाबाट उडान गर्ने यात्रु नभएको भन्दै उडान कटौती गरेको भनिएपनि सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको नवीकरण नगरेकाले उडान कटौती गरेको छ । सातामा ३५ भन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिने प्राधिकरणको नियम अनुसार क्यानले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाकोे अनुमति दिएको थियो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको आम्दानी खासेको भन्दै चौरर्फि विरोध भएपछि तत्कालका लागि हिमालयलाई दिएको अनुमति रोकिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुयानहरूको भूमिस्थ प्रबन्ध ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिकाअनुसार अनुमति प्राप्त भएको एक वर्षभित्र ग्राउन्ड इक्विपमेन्ट खरिद गरेर सेवा सुचारु गर्नुपर्ने हुन्छ । तर, हिमालयले निर्देशिका अनुसार कुनै पनि काम नगरेपछि अनुमति स्थगन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अनुमति रोकेपछि हिमालयले उडान नै कटौती गरेको हो । यता हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ भने यात्रु अभावका कारण उडान कटौती भएको बताउँछन् । हिमालयले कात्तिक १७ गतेदेखि भैरहवामा उडान सुरु गरेको थियो । क्यानका प्रवक्रा निरौला हिमालयले उडान कटौती नगरेको दाबी गर्छन् । जहाजमा समस्या आएर उडान रोकिएको उनको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडानका लागि जोड दिएपछि हिमालयले चार्टर्ड उडान सुरू गरेको थियो । केही समय चार्टर्ड उडान गरेको हिमालयले पनि केही दिन यता भैरहवा उडान गरेको छैन ।

अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यका शतप्रतिशत होटल बुकिङ

काठमाडौं । अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरुले बताएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरुले बताएका हुन् । अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु भरिभराउ भएर बुकिङ फुल भएको व्यवसायीहरुले बताएका छन् । होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशत रहेको बताए । उनले बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशतसम्म रहेको बताएका हुन् । विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु नयाँ वर्ष लक्षित दुई दिनको लागि फुल अकुपेन्सी हुने उनले बताए । उपाध्यक्ष साहले विशेष गरी युवा वर्गमा नयाँ वर्ष पर्यटकीय गन्तव्यहरुमा गएर मनाउने भएकाले होटलहरुको बुकिङ राम्रो हुने बताए । उनले अंग्रेजी नयाँ वर्षमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या बढाएकाले होटलहरुको अकुपेन्सी राम्रो रहेको बताए । नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगेपनि समग्र नेपालका होटलहरुको अकुपेन्सी ३० प्रतिशत मात्रै रहेको उपाध्यक्ष साहले ए । उनले विभिन्न चार्डपर्वमा हुने अकुपेन्सी दुई, तीन दिनको लागि मात्रै हुने बताए । उनले समग्र रुपमा हेर्दा ७० प्रतिशत होटलहरुमा अकुपेन्सी हुन नसकेको बताए । अब पर्यटक पूर्वधारहरु बिस्तार गरी १२ महिना नै ८० प्रतिशत होटलहरुको अकुपेन्सी पुर्याउन आवश्यक रहेको बताए । २०२२ को तुलनामा सन् २०२३ मा पर्यटन क्षेत्र राम्रो हुने आशा रहेको उपाध्यक्ष साहको भनाई छ । उपाध्यक्ष साहले आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आन्तरिक पर्यटक र भारतीय पर्यटकहरुले गर्दा होटल भरिभराउ भएको बताए । उनले पोखरामा अंग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव लगायत अन्य विभिन्न कार्यक्रम आयोजना हुने हुँदा होटल बुकिङमा उत्साह देखिएको बताए । उनले कोरोना महामारीपछि विगतको तुलनामा होटल बुकिङको ‘फ्लो’ ह्वात्तै बढेको बताए । उपाध्यक्ष साहले बुधवार अर्थमन्त्री पौडेललाई भेटेर होटल व्यवसायीहरुको समस्याका विषयमा ध्यानाकर्षण गराएको बताए । उनले अर्थमन्त्रीलाई बैंक र होटल व्यवसायीहरुको सम्बन्ध सुधारको लागि बैंक कर्जा तिर्ने समय दुई वर्ष थप गर्न माग गरिएको बताए । पूर्वका व्यवसायीहरु बैंकहरुको व्यवहार देखेर सडक आन्दोलनमा रहेको उनले बताए । सरकारले पर्यटक उद्योगलाई सेवा उद्योग नभएर उद्योगको रुपमा मान्यता दिन माग राखेकाले उद्योगको मान्यताको माग पूरा हुने आशा रहेको उनको भनाई छ । नयाँ सरकारले पर्यटन क्षेत्रका समस्या समाधान गरी पर्यटक पूर्वाधारमा विशेष ध्यान दिए पर्यटन क्षेत्र लयमा आउनसक्ने उपाध्यक्ष साहले बताए । उनले वर्तमान सरकारले पर्यटन व्यवसायीहरुमा समस्या समाधान गर्नेमा व्यवसायीहरु आशावादी रहेको उल्लेख गरे ।