तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिट क्षमताको ठूलो जहाज

काठमाडौं । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिकरूपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्न थालेको नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ । वि.सं २०२८ मा स्थापना भएको हिमाली जिल्ला तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले उडान भर्न थालेको हो । बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेको थियो । बुद्ध एयरको ७२ सिटको जहाजले उडान भर्न थालेपछि बिरामी र वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । निजी क्षेत्रको सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटीआर ७२ सिट क्षमताको जहाजले सेवा विस्तार गरेपछि खुसी व्यक्त गरेका हुन् । पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्बाध उडान भइरहेको विमानस्थल हो । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भीडभाड हुने गर्दछ । यस विमानस्थलमा यात्रुको चाप बढेपछि ७२ सिटे एटीआर जहाजले सेवा विस्तार बुद्ध एयर तुम्लिङटारका स्टेसन म्यानेजर राम लुइँटेलले बताए । विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यसअघि जहाजको टिकट पाउन समस्या भएको छ । तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार चार सय २० मिटर लामो रहेको छ । ७२ सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ ।

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

काठमाडौं । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्र ‘विजनेश’ पाउन सकेको छैन । विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो । यद्यपि, यो एयरलाइन्सले पनि विभिन्न कारण देखाउँदै उडान नियमित गरेको छैन । अघिल्लो पटक झण्डै दुई महिना उडान स्थगित गरेको जजिराले पुनःकरिब एक महिनादेखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । जेठ १५ देखि उडान गर्ने निगमको तयारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेठ १५ देखि उडान गर्नेगरी आवश्यक तयारी गरिरहेको छ । निगमले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुर सातामा एक–एक उडान गर्ने कार्यतालिका बनाएको छ । मलेसियाबाट उडान अनुमति पाइसकेको निगमले भारतबाट अझै अनुमति पाएको छैन । ‘भारतबाट उडान अनुमति पाएका छैनौँ, ‘अन्डर प्रोसेस’ भनेर सन्देश आएको छ, एक/दुई दिनभित्रै निर्णय आउला, अनुमति पाउनासाथ टिकट बिक्री खुला गर्नेछौँ’, निगमका प्रवक्ता रमेश पौडेलले भने । उनका अनुसार ‘इनरुट’मा पर्ने देशबाट ‘ओभर प्लाइट’ को अनुमति र सम्बन्धित देशको ‘ल्याण्डिङ पार्किङ’को अनुमति आउनसाथ काम अगाडि बढ्नेछ । यसका लागि सम्बन्धित मुलुकसँग अनुमति प्रक्रियामा रहेको प्रवक्ता रमेश पौडेलले बताए । गौतमबुद्ध विमानस्थलबाट उडान सुरू गरेपछि निगमले भैरहवा–दिल्ली–काठमाडौं र काठमाडौं–मलेसिया–भैरहवा उडान हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका नेपाल एयरलाइन्सले ‘समर’मा उडानका लागि तालिका पेस गरिसकेको छ । ‘नेपाल वायुसेवा निगमको भैरहवामा उपस्थिति नै हाम्रा लागि सकारात्मक पक्ष हो, अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाइरहेकाले उनीहरुलाई आकर्षण गर्न यसले मद्दत पुग्नेछ’, उनले भने । जजिराको उडान अन्योल झन्डै एक महिनादेखि जजिरा एयरवेजले उडान बन्द गरेको छ । जजिराले वैशाख ६ गते (अप्रिल १९)देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय जजिराले कुवेत–भैरहवा सातामा तीन उडान भर्दै आइरहेको थियो । तर उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगन गरेको एयरलाइन्सले उल्लेख गरेको छ । यसअघि जजिराले मङ्गलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे विमानस्थलमा अवतरण हुने र ८ः०५ मा कुवेतका लागि उडान गर्दै आएको थियो । तर यात्रु सुविधाका लागि भन्दै जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समय तालिका परिर्वतन गरेर उडान गर्न अनुमति मागेको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले व्यावसायिक कारण देखाउँदै उडान स्थगित गरेको र कहिलेबाट उडान हुने टुङ्गो नरहेको बताउनुभयो । पछिल्लो पटक मौसमका कारण झन्डै दुई महिना रोकिएको उडान गत फागुन २५ गतेबाट पुनः सुरू भएको थियो । जजिराले २०७९ साल जेठ २ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको थियो । व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवा शुल्कमा पनि छुट पाएको थियो । जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पायो । विमानस्थलले यस्तो छुट थप एकवर्ष लम्ब्याएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्सले विसं २०८१ सम्म शुल्क छुट पाउनेछन् । एक वर्षमा ३५ हजार अन्तर्राष्ट्रिय यात्रु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक वर्षमा अन्तर्राष्ट्रियतर्फ तीन सय ५९ उडानमार्फत झण्डै ३५ हजार अन्यात्रुले आवतजावत गरेका छन् । विमानस्थलका महाप्रबन्धक पाण्डेका अनुसार ३४ हजार आठ सय ७७ अन्तर्राष्ट्रिय यात्रुको आवागमन भएको छ । आन्तरिक उडान नियमित भइरहे पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको उहाँले बताउनुभयो । म्यान्मार, थाइल्याण्ड र कम्बोडियाबाट उडान चासो गौतमबुद्ध विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चासो दिएका छन् । विमानस्थलका अनुसार अहिले म्यानमार, थाइल्याण्ड, कम्बोडियालगायत मुलुकबाट उच्च अधिकारीले विमानस्थलको स्थलगत अवलोकनसमेत गरेका छन् । म्यानमारले छिट्टै चार्टर्ड उडान गर्ने मौखिक प्रतिक्रिया दिएको छ भने अन्य एयरलाइन्सले थप छलफल गरी उडान गर्ने संकेत गरेका छन् । भैरहवाबाट बौद्धमार्गीहरुको बाहुल्यता भएका मुलुकमा उडान विस्तार हुने अनुमान गरिएको छ । रासस

महावुको जैविक विविधता : एउटै रूखमा चार थरी लालीगुराँस

दैलेख । समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरुमा फुलेका लालीगुराँसले मानिसको मन आकर्षित गर्छ नै अझ यहाँ एउटै रूखमा फुल्ने चार थरीका लालीगुँरास त अझ पर्यटकको  केन्द्रविन्दु बन्न पुगेको छ । महावु गाविसको यस वनमा गुराँस, साल, सल्लो र काफलसमेत एकै स्थानमा भेटिन्छन् । तराईमा प्रचण्ड गर्मी भएको बेला यस्ता स्थानहरुमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षणको केन्द्र बनाउन यस्ता स्थानको थप प्रचारप्रसार गरिनुपर्नेमा उक्त गाउँपालिकाका पूर्वअध्यक्ष जङ्गबहादुर शाहीले जोड दिए । धार्मिक स्थलसमेत रहेको  यस क्षेत्रका  मनोरम दृश्यसँगै पाटन क्षेत्रलाई चलचित्र हवका रुपमा विकास गर्ने सरकारको  निर्णयमा कुनै पनि काम नभएको उनको भनाइ थियो । यस क्षेत्रमा सडक विस्तार हुन सके दैनिक सयौँ आन्तरिक र बाह्य पर्यटकको आगमन हुने देखिन्छ । अहिले यहाँ सातवटा निर्माण कम्पनीमार्फत सडक विस्तारको काम थालिए पनि सोचे अनुसारको प्रगति हुन सकेको छैन । रासस