राजा महेन्द्रले रानी रत्नलाई दिएको उपहार रत्न मन्दिर सर्वसाधाणको लागि खुला गरिँदै

गण्डकी । पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो । नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए । राजसंस्थाको अन्त्यपछि विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए । नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले पहिलोपटक यही जेठ १५ गतेदेखि सर्वसाधारण र पर्यटकका लागि दरबार खुला गर्न लागिएको जानकारी दिए । ‘देशविदेशका पर्यटकलाई लक्ष्य गरी दरबार परिसर खुला गर्दैछौँ’, उनले भने, ‘रत्न मन्दिर खोल्ने वषौँदेखिको प्रयासले सार्थकता पाएको छ ।’ दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला नहुने सञ्चालक सदस्य शेर्पाले बताए । ‘अहिलेलाई दरबार परिसर खुला हुनु नै ठूलो कुरा हो, तत्काललाई दरबारका सबै कक्ष र कोठासम्म पर्यटक लैजान मिल्ने अवस्था छैन’, उनले भने । दरबारका कोठा, भर्‍याङदेखि भित्री संरचना साँघुरा छन् । एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ । ‘दरबार परिसर नै पर्यटकलाई लोभ्याउने खालको छ, दरबारभित्रको भागलाई भिडियो प्रविधिबाट बाहिर देखाउने विषयमा सोचिरहेका छौँ’, सञ्चालक सदस्य शेर्पाले भने, ‘दरबार अवलोकन गर्न आउने पर्यटकलाई रोमाञ्चक अनुभूति लिएर फर्कने वातावरण हामी बनाउँछौँ ।’ रत्न मन्दिर खोल्ने निर्णय भएपछि सञ्चालक सदस्य शेर्पा पोखरामै बसेर व्यवस्थापकीय तयारीमा जुटाएका छन् । नेपाल ट्रस्टले दरबार खोल्नका लागि आवश्यक पूर्वतयारीदेखि स्थानीय संयोजनको जिम्मा उनलाई नै दिएको छ । पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालयका अनुसार दरबार प्रवेशमा नेपालीका लागि एक सय रुपैयाँ शुल्क तोकिने छ भने विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ । विदेशी पर्यटकबाट हजार रुपैयाँ या पाँच सय लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको सञ्चालक सदस्य शेर्पाले बताए । दरबार खुल्ने समय केही दिनमा निर्धारण हुने जनाइएको छ । अहिले दरबार परिसरमा मर्मतसम्भार, रङ्गरोगन र साजसज्जाको काम चलिरहेको एकाइ कार्यालयका प्रमुख गीता मिजारले जानकारी दिए । ‘अहिले दरबार बाहिरको परिसर मात्र सर्वसाधारणका लागि खुला गर्न लागेका छौँ’, उनले भने, ‘अरु क्षेत्र क्रमशः खोल्दै जाने योजना छ ।’ दरबारभित्र के छ पोखरा महानगरपालिका–६ फेवाताल किनारमा रत्न मन्दिर अवस्थित छ । गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ । रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ निर्माण सम्पन्न भएको थियो । पोखरा आउँदा ठाउँ मन परेपछि पूर्वराजा महेन्द्रले सो दरबार बनाएका थिए । राजा महेन्द्रले रानी रत्नलाई दिएको उपहारका रुपमासमेत रत्न मन्दिरलाई लिने गरिन्छ । प्राकृतिक सौन्दर्यका दृष्टिले पनि रत्न मन्दिर र वरपरको वातावरण मनमोहक छ । तीनतले दरबारमा ११ कोठा छन् । भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत एडिसी बस्ने कोठा र आरामकक्ष छन् । दोस्रो तलामा पाँच कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ । जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे । राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ । त्यो बेलाका खेल सामग्री सुरक्षित छन् । दोस्रो तलामा युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो ।  सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा छ । बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौशी छ । हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन् । राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री सुरक्षित राखिएका छन् । भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन् । नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक ‘पेन्टिङ’हरु दरबारभित्र छन् । दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन् । काठ र ढुङ्गाबाट दरबार बनेको छ । निर्माणमा रैथाने सीप र प्रविधि प्रयोग भएको देखिन्छ । दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स–साना कोठा छन् । सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ । अहिले रणचण्डी गणले रत्न मन्दिरमा सुरक्षा पहरा दिइरहेको छ । तेइस वर्षदेखि रत्न मन्दिरको रेखदेखमा खटिँदै आएकी कार्यालय सहयोगी दुर्गा पराजुलीले राजपरिवारले प्रयोग गर्ने गरेका सबै सामग्री सुरक्षित राखिएको बताए । ‘विस्तारा, भाँडाकुँडादेखि सबै सरसामान जोगाएर राखेका छौँ’, उनले भने, ‘राजपरिवारले प्रयोग गर्ने सियोदेखि महँगा उपहारसम्म दरबारभित्र छन् ।’ कार्यालय सहयोगी पराजुलीले विशेष गरी पुस,माघको समयमा राजारानी जाडो छल्न रत्न मन्दिरमा आएर बस्ने गरेको सुनाए । ‘दसैँमा स्याङ्जालगायत ठाउँमा शक्तिपीठको दर्शनपछि राजारानी यहीँ आएर बस्नुहुन्थ्यो’, उनले भने, ‘बिदा मनाउन र आराम गर्न राजपरिवारका सदस्य यहाँ आउने चलन थियो ।’ राजा ज्ञानेन्द्र शाह पनि आफ्नो शासनको आखिरी कालमा रत्न मन्दिरमा आएर बसेका थिए । विसं २०६२/६३ को जनआन्दोलनपछि उक्त मन्दिर पूर्णरूपमा बन्द भएको थियो । नेपालमा दुई सय ४० वर्षसम्म शासन गरेको शाहवंशसँग जोडिएको रत्न मन्दिर खुला गर्न यसअघि पनि प्रयास भएका थिए । गत चैत २६ मा रत्न मन्दिरको अवलोकनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छिट्टै रत्नमन्दिरलाई सर्वसाधारणका लागि खुला गरिने बताएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरका प्रमुखलगायत राजनीतिक नेतृत्वले पनि रत्न मन्दिर खुला गर्न पहल गर्दै आएका थिए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले लामो प्रयासपछि रत्न मन्दिर खुला हुन लागेको बताए । मन्दिर खुलेसँगै पोखराको पर्यटनमा थप टेवा पुग्ने उनले उल्लेख गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रत्न मन्दिरले पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन मद्दत पुग्ने बताए । ‘रत्न मन्दिर खोल्नुपर्छ भन्ने हामी पोखरेलीको पहिले देखिकै माग हो । रत्न मन्दिर खुला गर्न अहिलेको पर्यटनमन्त्रीसहित नेपाल ट्रस्टको नेतृत्वले लिएको पहलप्रति हामी कृतज्ञ छौँ, यसले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउँछ’, उनले भने । इतिहासको बोकेको रत्न मन्दिरलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्ने माग पोखराका पर्यटन व्यवसायीले गर्दै आएका थिए । पोखरा घुम्न आउने पर्यटकलाई रत्न मन्दिरले नयाँ आकर्षण थप्ने पर्यटन व्यवसायीको विश्वास छ । यसअघि नेपाल ट्रस्टले रत्न मन्दिर र हिमागृहलाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने तयारी गरे पनि पर्यटन व्यवसायीले विरोध जनाएका थिए । अहिले ट्रस्टको व्यवस्थापनमा रत्न मन्दिर खुला गर्न लागिएको हो । मन्दिरको पूर्वपट्टी रहेको हिमागृह भने तत्काल नखुल्ने ट्रस्टको पोखरास्थित एकाइ कार्यालयले जनाएको छ । पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह बनेको थियो । रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनी क्षेत्रफलमा फैलिएको छ । दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल एक सय ७४ रोपनी जग्गा छ । रत्न मन्दिर र हिमागृहको स्वामित्व अहिले नेपाल ट्रस्टका नाममा छ । रासस

ठमेलमा करिब डेढ अर्ब लगानीमा होटल ‘बाराही काठमाडौ’ सञ्चालन

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ आइबारदेखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् । डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । होटलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुँदैछ । केशरमहलको अगाडि चोकैमा रहेको होटलको सातौं तलामा इन्फिनिटी स्वीमिङ पुलु छ । स्वीमिङ पुलको मोहोडा तर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य रहेको पौडेल बताउँछन् । साँढे चार फिट गहिरो स्वीमिङ पुल करिब ११०० स्क्वायर फिटमा फैलिएको छ । बाराही ग्रुपले व्यवसायिक कम्प्लेक्ससहितको होटल निर्माण गरेको हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल रहेको छ । काठमाडौंको ‘मिड पोइन्ट’मा रहेको होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ । सपिङ कम्प्लेक्स सहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । पसल तथा अफिसका लागि बुकिङ पनि खुल्ला रहेको छ । सपिङ कम्प्लेक्स सहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’का अरुण देव पन्त र अन्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् । नेपालली पर्यटनको गोल्डेन ट्र्याङ्गलु मानिएको पोखरा, चितवन र काठमाडौं मध्ये यस अगाडि पोखरा र चितवनमा बाराही ग्रुपको प्रिमियम प्रपर्टीु रहेको थियो । बाराही काठमाडौंको सुरुवातसँगै अब बाराहीले गोल्डन ट्र्याङ्गल भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । ४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए, सोही होटलमा पछि सुबिधा थप गरि होटल बाराही नामाकरण गरिएको हो । पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आवद्ध छन् । सामान्य स्तरबाट सुरू भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको थापाले बताए । बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् । बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयर आइपीओमा समेत जाने थापाले बताए ।

दुवै खुट्टा गुमाएका बुढामगर सगरमाथाको चुचुरोमा, राखे विश्व रेकर्ड

काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका छन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भने, ‘हामी सफल भयौँ ।’ हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए । सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भने, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो, त्यसैले हामीलाई कुनै फरक परेन, जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भयौँ ।’ बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ,’ उनले भने । सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लाङ्क (४ हजार ८१० मिटर), चुलु सुदूरपूर्व (६ हजार ५९ मिटर), किलिमन्जारो (५ हजार ८९५ मिटर) र मेरापिक (६ हजार ४७६ मिटर)लगायतका आरोहण गरेका सथए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ ।