भाेटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता

काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार अन्य दिन बढीमा तीन हजारले मात्र चिडियाखानाको अवलोकन गर्ने गरेका थिए आज भोटो देखाउने दिन भएकोले उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् । चिडियाखाना अवलोकनकै लागि अन्य दिन दुई सय तिर्नुपर्ने भए पनि आज ७५ मै अवलोकनको व्यवस्था मिलाइएको अधिकारी कोइरालाले बताए ।  कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलिरहेको चिडियाखानामा पछिल्लो समय अवलोकनकर्ताको भीड नै लाग्ने गरेको छ । उनका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक १४ देखि १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । ‘यही अनुपातमा अवलोकनकर्ता आउने हो भने लक्ष्यमा पुग्न हामीलाई कठिन छैन । यहाँको आम्दानीको स्रोत भनेको अवलोकनकर्ताबाट आउने प्रवेश शुल्कवापतको रकम नै हो,’ अधिकारी कोइरालाले भने । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकन गर्न विदेशीका लागि सात सय ५०, सार्क देशका लागि पाँच सय, नेपालीलाई दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ । अवलोकनका लागि तीर्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलब भत्ता र जीवजनावरलाई खाना खुवाउनेलगायत सबै व्यवस्थापनको काम गर्दै आएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यहाँ निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।

असारदेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ । विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ । ‘आगामी असार ६ गते (जुन २१ तारिख) लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ’, उनले भने । उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ । त्यस्तै, निगमले सिङ्गापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ । सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ । निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ । मलेसिया–भैरहवा एघार हजार चार सय ६१ मै उडाउने वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु ११ हजार चार सय ६१ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो । ‘मलेसिया–भैरहवा–काठमाडौंका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ’, निगमका सहायक प्रवक्ता घिमिरेले भने । उनका अनुसार मलेसिया–भैरहवाका लागि रु एघार हजार चार सय ६१ र मलेसिया–भैरहवा–काठमाडौंका लागि १२ हजार तीन सय ४६ रुपैयाँ भाडादर कायम गरिएको छ । निगमको उडान नम्बर आरए ४२१ जहाज जेठ २९ गते काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते आरए उडान नम्बर ४२२ जहाज क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आइपुग्ने उडान तालिका रहेको छ । यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ । रासस

सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर

काठमाडौं । सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन । मेरो परिवार यतिबेला बेलायतमा छ । मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो साथ दिएको छ । त्यति मात्रै होइन, नेपाल र विश्वका कुना–कुनाबाट मलाई फोन कल र सन्देशमार्फत हौसला प्रदान गर्ने धेरै छन् । म कुनै समय विक्षिप्त भइ आत्महत्या गर्ने सोचमा समेत पुगिसकेको थिए । रक्सीको लतमा फसेर जीवन बर्बाद गर्ने अवस्थासम्म आएको थियो तर त्यसबाट बाहिर निस्किर आज यो अवस्थामा आइपुग्न साथ दिने सबै मेरो यो सफलतामा म जत्तिकै हकदार हुन् । हामी नेपालीहरु सगरमाथा, बुद्ध र गोरखालीको देशका रुपमा विश्वभर परिचित छौँ । यी तीन वटै कुरामा म व्यक्तिगत रुपमा जोडिएको छु । स्कुल पढ्दा हामीले सगरमाथाबारे पढेका थियौँ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेका कथा सुन्दा म पनि चढ्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो । तर करिअर बनाउने सिलसिलामा ब्रिटिस आर्मीमा भर्ना हुन पुगे । त्यहाँ केही समय सेवारत भए । सेवाकै क्रममा अफगानिस्तान तैनाथ हुँदा युद्धमा परी म घाइते हुन पुगे । फलस्वरुप मेरा घुँडासम्मका दुवै खुट्टा गुमे । घाइते भएपछि मेरा पीडाका दिन सुरु भए । शारीरिक र मानसिक पीडाले लामो समयसम्म दुःख दियो । मेरो भाग्य र कर्ममै खोट रहेछ, पुरानो जन्मको फल होला भन्दै आफैलाई कैयन पटक धिक्कारेको छु । अब मेरो जिन्दगी नै सकियो भन्ने निचोडमा पुगिसकेको थिए । त्यही बेला पीडा भुलाउन रक्सी बाहना बन्यो । करिब डेढ वर्षसम्म रक्सीको लतमा जीवन डुब्यो । यतिसम्म कि रक्सी नपिउँदा शरीर काम्न थाल्यो । हरेक दिन रक्सी अनिवार्य जस्तै बन्यो । कतिपटक आत्महत्या गर्ने सोच पलायो अहिले भन्न सक्दिन । तर आफू मरेर परिवार र सन्तानलाई किन पीडा दिनु ? भन्ने सोचले आत्महत्या पनि गर्न सकिन । लामो समयसम्म रक्सीको लतमा फसेपनि केही समयपछि भने मनमा बाँच्ने रहर पलाएर आयो । घर परिवार र सन्तानको मायाले मलाई आफू बाँच्नुपर्छ भन्ने लाग्यो । म आफूलाई खेल तथा साहसिक गतिविधिमा केन्द्रित गराए । यो मेरो जीवन परिवर्तन गर्न सहयोगी बन्यो । यसैक्रममा स्की खेल्न युरोप र अमेरिकामा पनि पुगे । एड्भेञ्चर खेल खेल्दा विद्यालयमा छँदा पढेको आफ्नै सगरमाथाको तस्बिरले पछ्याउन थाल्यो । विश्वका अन्यत्र स्थानका हिमाल देख्दा सगरमाथाको झल्को अझ बढ्न थाल्यो । यसबीच मैले माउन्टेनरिङसम्बन्धी तालिम लिएँ । माउन्टेन प्रशिक्षक भएर काम पनि गरेँ । अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी पनि बने । तालिमका क्रममा गोसाइँकुण्डसम्म पुगे । हाइ अल्टिच्युडमा कस्तो हुन्छ रु शारीरिक रुपमा सम्भव छ वा छैन भन्ने अनुभव भयो । स्की खेल्दा सुरुमा दुवै खुट्टाले खेले पनि पछि बसेर खेल्न थाले । जर्मनी र अष्ट्रियामा रहँदा भेटिएका म जस्तै १२÷१५ जना साथीहरुका बीचमा आफूलाई अब्बल सावित गर्न सफल भएँ । यी सबै अनुभवले मलाई इच्छाशक्ति भयो भने असम्भव केही छैन भन्ने पाठ सिकायो । मलाई सगरमाथा चढ्नका लागि भने लामो समय लाग्यो । मैले सन् २०१८ मै सगरमाथा आरोहणको योजना बनाएको थिएँ । तर सरकारले दुई आँखा र दुई खुट्टा नहुनेलाई आरोहणमा प्रतिबन्ध लगायो । यसका विरुद्ध हामी अदालत गयौँ र त्यहाँबाट बाटो खुल्यो । सन् २०१९ मा आरोहणका लागि आवश्यक रकम जुटाउन सकिन । त्यसपछि कोरोना महामारीका कारण योजना पाँच वर्ष पछाडि धकलियो । तर यसपटक भने सफल भएँ । मलाई धेरैले प्रश्न गर्छन्, दुवै खुट्टा नभएकाले कसरी सगरमाथा चढिस रु म भन्छु, मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ । यसअघि मैले मोन्ट ब्लाङ्क चार हजार आठ सय १० मिटर, चुलु सुदूरपूर्व छ हजार ५९ मिटर, किलिमन्जारो पाँच हजार आठ ९५ मिटर र मेरापिक छ हजार चार सय ७६ मिटर लगायतका हिमाल आरोहण गरिसकेको छु । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि मेरो नाममा छ । आधार शिविरमा १८ दिन सगरमाथा आरोहणका क्रममा हामी अप्रिल ५ मा मेरापिक बस्यौँ । दुई पटक मेरापिक चढेपछि हामी सगरमाथाको आधार शिविर पुग्यो । मौसम बिग्रिएकाले आधार शिविरमा १८ दिन बस्यौ । मौसम सफा हुँदै गएपछि दोस्रो आधार शिविरतर्फ लाग्यौँ । त्यहाँ मौसमले साथ नदिएपछि म पहिलो आधार शिविर फर्किए । साथीहरुले त्यहीँ बसेर अन्य व्यवस्थापकीय काममा जुट्नुभो । जब मौसम अनुकुल भयो हामी सगरमाथा चढ्न सक्यौँ । सगरमाथा आरोहणमा निकै ठूलो पीडा भोग्यौँ । समूहका सबै साथीहरु चुचुरोसम्म पुग्न सक्नुभएन । सगरमाथा चुचुरोबाट धेरै फोटो खिच्ने र त्यहाँबाट हिमालहरु हेर्ने सपना भने मौसम बिग्रिएकाले पूरा हुन सकेन । अब मैले बाँकी जीवन सामाजिक काममा सक्रियताक साथ बिताउने योजना बनाएको छु । पुरानो उपलब्धिका आधारमा सामाजिक कार्यमा सक्रिय हुनेछु । मलाई जस्तै अवस्था अरुलाई नआओस् भन्ने चाहना छ । अब फाउन्डेसनमार्फत सशक्तिकरणमा लाग्ने योजना बनाएको छु । यसमार्फत एकजनाको मात्रै जीवनमा सुधार ल्याउन सकियो भने त्यसले सकारात्मक ऊर्जा दिन्छ । अवसरबाट वञ्चित र साहसिक कार्यप्रति रुचि भएकालाई हौसला दिने योजना बनाएको छु । ममा अझै पनि खुट्टा गुमाउँदाको पीडा ठूलो छ । युद्धका कारण मैले दुवै खुट्टा गुमाएको छु । युद्धका कारण मेरो जीवनमा परेको असर म भुल्न सक्दिन । त्यसैले विश्वमा अशान्ति मच्चाउनेहरुलाई सगरमाथाको शीरबाट शान्तिको कामना गर्न चाहन्छु । कृत्रिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाउनुभएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगर आरोहण सकेर मङ्गलबार काठमाडौ फर्किएर पत्रकार सम्मेलनमार्फत आफ्नो अनुभव सुनाएका हुन् । बुढामगरलाई कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड बनाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेर बधाई दिए । बुढामगरले जेठ ५ गते अपराह्न ३ः१० बजे सगरमाथाको सफल आरोहण गरी कृत्रिम खुट्टाको बलमा सगरमाथा चढ्ने पहिलो व्यक्तिका रुपमा विश्व रेकर्ड बनाएका थिए । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झन्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।