खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग’ पुगे । आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा (बझाङको खप्तडछान्ना गाउँपालिका–३ खप्तडको फेदी) नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाले । विसं २००६ मा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो । इतिहासका जानकार विष्णुभक्त शास्त्रीका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा आश्रम निर्माण गरिदिने बचन दिए । सोही वर्ष खप्तडमा आश्रम बन्यो र खप्तड बाबा साधनाका लागि खप्तड सरे । गर्मीयामका छ महिना खप्तड लेक र छ महिना खप्तडछान्नाकै दारूगाउँ गरेर खप्तडबाबाले ५० वर्ष खप्तड क्षेत्रमा साधना गरेर बिताए । लामो समय खप्तडमा बिताउनुभएका खप्तड बाबाले आफ्ना नाम भने खुलाएनन् । युगपुरूष भन्दै धेरैले उनको नाम ‘श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रीय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवनमुक्त महात्मा सच्चिदानन्द सरस्वती’ राखिदिए । स्थानीयले भने छोटो नाम ‘खप्तड बाबा’, ‘खप्तड स्वामी’ राखे र सोही नामले सर्वत्र चिनिए । उहाँकै कारण अहिले पनि खप्तडले प्रसिद्धि कमाइरहेको छ । खप्तड बाबासँग राजपरिवारको निकटता विसं २०३८ को वैशाख महिनामा तत्कालीन राजा वीरेन्द्र हेलिकोप्टरमा सुदूरपश्चिम भ्रमणमा निस्किए । कर्णाली नदी हुँदै बाजुराको आकाश भएर खप्तड पुग्नुभएका राजालाई पहिलोपटक खप्तड बाबाले नै स्वागत गरे । रानी ऐश्वर्यासँगै खप्तड पुगेका राजा वीरेन्द्रले बाबासँग लामो भलाकुसारी र विचार मन्थन गरे । खप्तड बाबाबारे जानकार प्राध्यापक शिवगोपाल रिसालले लेखेको श्रीखप्तड बाबा महाकाव्यमा उल्लेख भएअनुसार राजा वीरेन्द्र हरेक वर्ष बाबालाई भेट्न सपरिवार, सहयोगीसहित खप्तड गइरहन्थिए । आफूलाई केही तनाव भए, मुलुकमा केही सङ्कटजन्य परिस्थिति आए राजा वीरेन्द्र खप्तड बाबासँग सल्लाह लिन आइहाल्थिए । खप्तडमा जडीबुटीबारे अनुसन्धान गर्दै ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’सहित करिब डेढ दर्जन पुस्तक लेख्नुभएका खप्तड बाबा र राजा वीरेन्द्रबीच निकटता बढेपछि उनी काठमाडौंसमेत जान थाले । प्राध्यापक रिसालका अनुसार राजा वीरेन्द्रले खप्तड बाबाका लागि बुढानीलकण्ठमा एउटा आश्रमसमेत बनाइदिएका थिए । उनको निधन हुनुभन्दा साता दिन अगाडि पनि बुढानीलकण्ठमै थिए भन्ने जानकारहरू बताउँछन् । लामो समय खप्तडमा साधना गरेकाे बाबाको आश्रममै बिरामी भएपछि हेलिकोप्टरमा काठमाडौं ल्याउने क्रममा कालीगण्डकी नदीमाथिको आकाशमा २०५३ वैशाख २७ गते ब्रह्मलीन भएको इतिहासकार शास्त्री बताउँछन् । उनका अनुसार बाबाको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्य खप्तड आउन छाडेका थिए । ‘जीवित छँदा भने गङ्गादशहरामा दर्शन गर्न हरेक वर्ष पूर्वराजा वीरेन्द्र खप्तड पुग्ने गर्नुहुन्थ्यो’, उनले भने । स्वामी खप्तड पस्नुअघि भने त्यो क्षेत्र लेकमात्रै थियो । घना जङ्गल हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दासमेत पाटनमा आवतजावत खासै गर्दैनथे । खप्तडसँग स्वामी गासिएपछि भने खप्तडले आफ्नो सौन्दर्यताको प्रचार पायो । ‘उच्चपदस्थका व्यक्ति’को भ्रमणपछि बाक्लिए पर्यटक विसं २०७३ असारमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणि पौड्यालसहितको टोलीले खप्तड भ्रमण गरेका थिए । त्यसभन्दा अघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदासमेत गङ्गादशहरा मेलामा मन्त्री, सचिवसहित जम्बो टिम हेलिकोप्टरमा खप्तड पुगेको थियो । पूर्व युवराज पारस शाहसँग स्व धिरेन्द्र शाहकी छोरी शिताष्मा शाह, पूर्वप्रहरी प्रमुख हेमबहादुर सिंहका छोरा प्रवनजङ्ग सिंह (आध्यात्मिक नामः योगी व्याग्र वेदनाथ) सहित १५–२० जनाको टोली खप्तड पुगेको थियो । वेदनाथ ‘बाबा’ बनेकै कारण साधनाका गर्न खप्तड पुगेका थिए । त्यसबेलामा खप्तडमा असुविधाका कारण सबै आवश्यक सरसामानको चाँजोपाँजो मिलाएर भरियासहित खप्तड गएका थिए । पूर्वराजा वीरेन्द्रले उच्च अधिकारीका लागि बनाएको पाहुनागृहमा बसेर पारसको टोलीले एक साता बिताएका थिए भने पौड्यालको टोली दुई दिनमै फर्किएको थियो । विसं २०७३ मङ्सिर २३ मा तत्कालीन प्रधानमन्त्री (वर्तमानसमेत प्रधानमन्त्री) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडको अवलोकन गरेका थिए । दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाको अनुगमनमा गएका प्रधामन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुगेका थिए । खप्तडमा उनले केही समय बिताएर फर्किएका थिए । यसरी उच्चपदस्थका व्यक्तिको भ्रमणपछि खप्तडमा पर्यटकको सङ्ख्या बढ्दै गएको हो । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार उच्चपदस्थका व्यक्तिको भ्रमणपछि हरेक वर्ष सयौँको सङ्ख्यामा आन्तरिक र १०–१५ जना विदेशी पर्यटक थपिँदै गएका छन् । योग शिविरमै बाक्लो उपस्थिति गत वर्ष खप्तड क्षेत्रमा पहिलोपटक योग शिविर सञ्चालन हुँदा सहाभागीको सङ्ख्या बाक्लो रह्यो । योग जागरणका लागि ‘सुन्दर सुदूरपश्चिम खप्तड योग ध्यान शिविर २०७९’ नामक शिविर तीन दिनसम्म चलेको थियो । जसमा अढाइ सयभन्दा बढी योग साधक सहभागी थिए । नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अड्डा राजपुर ब्यारेक दिपायल, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा चिन्तामणिनाथ योगी, योगगुरू पुष्पराज पुरूषसहितको टोली एक सातासम्मै खप्तड बसेका थिए । खप्तडमा बाबा व्याग्र वेदनाथ भने साधनाका लागि पटक–पटक खप्तड पुगिरहन्छन् । खप्तडमा रहेको नेपाली सेनाका अनुसार खप्तड बाबापछि धेरैपटक खप्तडमा आएर साधाना गर्नेमा वेदनाथ नै पर्छन् । गङ्गादशहरा मेलामा आउने बाबाहरू भने दुई–तीन दिन धर्मशालामा बसेर फर्किने गरेको दर्शनार्थीको बुझाइ छ । खप्तड अध्यात्मको केन्द्र बन्ने विश्वास स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योगगुरू हुनुहुन्छ । योगासन र प्राणायामको सरल विधि सिकाएर योगमा क्रान्ति ल्याएका रामदेव अबको दुई सातापछि खप्तड आउन लागेका छन् । खप्तडमा हुने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन २३ जेठदेखि तीन दिनसम्म चल्नेछ । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सुदूरपश्चिम प्रदेश र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलनको प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्षनेता, जगत्गुरू कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जना सहभागी हुने समितिका कार्यकारी निर्देशक खड्काले जानकारी दिए । ‘सम्मेलनको उद्घाटनपछि योगी रामदेवले ध्यान गराउने र प्रवचन दिने कार्यक्रम तय गरिएको छ’, खड्काले भने, ‘त्यसपछि योगाभ्यास गरिने, खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम तय भएको छ ।’ सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्याउन मद्दत पुग्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिं ओलीले बताए । उनले भने, ‘भारतीय पर्यटकमात्रै भए पनि खप्तड भित्र्याउन सके पर्यटनमार्फत सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’ खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको तथ्याङ्कानुसार पछिल्ला पाँच वर्षमध्ये सबैभन्दा बढी चालु आर्थिक वर्षमा ६३ विदेशी पर्यटकले खप्तडको अवलोकन गरेका छन् । यो सङ्ख्या बढाउनका लागि पनि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन अनिवार्य भएको प्रदेशसभा सदस्य ओलीले बताए । मुख्यमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन यही जेठ २३–२५ सम्म सञ्चालन हुने अध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधि आयोजक समितिमा छन् । सम्मेलन आयोजनाको लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ भने सम्मेलन सफल पार्न १५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । खप्तडको ऐतिहासिकता पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा पाण्डुपुत्र भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ । संस्कृतिका जानकार खप्तडछान्ना गाउँपालिका–६ का ज्ञानबहादुर खड्काका अनुसार खप्तडमा रहेको केदार ढुङ्गा पनि भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको कपडाको अगाडिपट्टिको भाग)मा बोकेर ल्याएका थिए भन्ने कथन छ । ‘त्रिवेणी पाटनमा केदारढुङ्गा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ’, उनले भने । घायलका अनुसार खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँको छुट्टै पौराणिकता रहेको र तत्ठाउँमा स्थानीयले शिवको पूजा गर्दै आएका छन् । खप्तडको स्वरूप धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँट, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ । वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूले खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम नभएको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानको आ–आफ्नै महत्व र पौराणिकता छ । खप्तड ‘२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) को सङ्गम’ भनेर पनि परिचित छ । समुद्र सतहबाट २४–३७ सय मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर, सयौँ पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना (२०४२) भएको पाँच वर्षपछि विसं २०४७ मा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको थियो । के–के पाइन्छ खप्तडमा ? बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र एक सय ९९ दशमलव ७३, घाँसेमैदान १३ दशमलव ४७, कृषिभूमि नौ र झाडी बुट्यान दुई दशमलव आठ वर्गकिमीमा फैलिएको छ । खप्तडमा तीन सय ८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइने गरेको तथ्याङ्कले देखाएको छ । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात दुई सय तीन, लहरा आठ र उन्यु १९ प्रजातिका रहेका छन् । तथ्याङ्कानुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा दुई सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । सोमबारबाट गङ्गादशहरा हरेक वर्ष जेष्ठ शुल्कपक्ष दशमी तिथिमा पर्ने गङ्गादशहरा मेलामा हजारौँ तीर्थालु खप्तड पुग्ने गर्नुहुन्छ । यस वर्ष तीर्थालुको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गङ्गादशहराको दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकाले गङ्गादशहरा मेला खप्तडको प्रमुख आकर्षण बनेको हो । मेला दुई दिनसम्म चल्ने भए पनि पछिल्लो समय विभिन्न जिल्लाले सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगिता गर्ने हुँदा दशहरा हप्ता दिनसम्म लम्बिने गरेको छ । दशहराको पहिलो दिन देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गरेर सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने गर्छन् । शुक्रबारबाटै विभिन्न कार्यक्रम हुने खप्तडमा दशहरा मेला भने मङ्गलबार हुनेछ । यस वर्ष खप्तडदेखि प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी मन्दिरसम्म हाइअल्टिच्युड म्याराथन प्रतियोगिताको दोस्रो संस्करण १७ गते बिहान ६ बजेदेखि सुरु हुने उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहन कलेलले जानकारी दिए । उनका अनुसार पुरूष म्याराथन प्रतियोगितामा ४२ दशमलव पाँच किलोमिटर दूरी (खप्तड–डोटी शैलेश्वरी) तोकिएको छ भने झिग्रानाबाट सिलगढीको शैलेश्वरी मन्दिरसम्म महिलाका लागि हाफ म्याराथन प्रतियोगिता सोही दिन हुनेछ । पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म खप्तड क्षेत्रमै सञ्चालन गरिने भएको छ भने घोडादौड प्रतियोगिता जेठ १५ गते हुने डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए । उनका अनुसार देउडा प्रतियोगिता १६ गते राति हुने भएको छ । डोटी उद्योग वाणिज्य सङ्घ, सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा, श्री भैरवप्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने भएका छन् । रासस
४० प्रतिशत सटर खाली भइसके, गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्नु पर्याे
काठमाडौं । उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् । उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही)ले भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी-व्यवसायीले यस्तो माग गरेका हुन् । उनीहरूले विगतमा पनि विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरिएको जनाउँदै थप दबाब आवश्यक रहेको जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणअघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा नागरिक निराश भएको बताए । अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै ४० प्रतिशत सटर खाली भइसकेको जानकारी गराए । चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले समग्र रुपन्देही र लुम्बिनीको विकास आवश्यक रहेको बताए । उनले लुम्बिनीमा सञ्चालित गुम्बा तथा मोनाष्ट्रीमा पर्यटक राख्दा त्यहाँ सञ्चालित होटल धरासायी भएको गुनासो सुनाए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्णरूपमा सञ्चालनका लागि आन्दोलनका कार्यक्रम गरिएको उनले बताए । उनले लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रमा रहेका समस्या समाधानका लागि अग्रसर हुन मन्त्रीहरूसँग आग्रह गरे । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको ठूलो हात रहने भएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि जनप्रतिनिधिको भूमिका रहने बताए । विमानस्थल नियमितरूपमा सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भए पनि मन्त्री र सचिवबाट आश्वासन मात्रै पाएको उनले गुनासो गरे । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गुप्ताले उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताए । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले विमानस्थल पूर्ण सञ्चालनका लागि सङ्घीय सरकारसँग निरन्तर पहल भइरहेको बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्र्याकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए ।
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
म्याग्दी । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार पाँच सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताए । ‘मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ’, उनले भने, ‘झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ । अन्नपूर्ण क्षेत्रमा पनि पाइने अभिलेख गराउन पहल गरेका छौा ।’ आधा मिटरदेखि तीन मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए । उनका अनुसार लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ । ‘अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ । रोडोडेन्ड्रन कोवानियनमको पातमा रौँजस्ता ससाना भाग देखिन्छन्’, उनले भने, ‘रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । यी नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन् ।’ वनस्पतिविद् मादेनले सन २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा यस प्रजातिका गुराँस पहिचान गरेका थिए । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन् । सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङ्टाङबाट सङ्कलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि तीन मिटरसम्म हुन्छ । यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताए । विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन् । अरु अन्य मुलुकमा पनि पाइन्छन् । रोडोडेन्ड्रन कोवानियनमको फूल गुलाबी रङको हुन्छ । रासस