भैरहवा : बन्ला त फूलै फूलको सहर ?

रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ ।  बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ सर्वअर्थसिद्धबाट यस नगरपालिकाको नामकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यता साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साँझा सङ्गमका रुपमा नगरपालिका रहेको छ । नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने एक महत्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । पैदलमार्ग हुँदै भित्रिने सबैभन्दा बढी पर्यटक यही नाकाबाट हुँदै भैरहवा आउँछन् । भैरहवा ऐतिहासिक सहर हो । यसलाई फूलैफूलको सहर बनाउनका लागि नगरपालिकाले अभियान थालेको पनि एक वर्ष पूरा भएको छ । भैरहवा मात्रै होइन सिङ्गो सिद्धार्थनगर नगरपालिकालाई नै फूलैफूलको सहर बनाउने योजना नगरपालिकाको छ । जसका लागि गत वर्षदेखि वृक्षरोपण अभियान चलाइएको छ । गतवर्ष नगरका प्रमुख इस्तियाक अहमद खानले बेलहियामा वृक्षरोपण गरेर अभियानको सुरुवात गरेका थिए । सबैभन्दा धेरै पर्यटक भित्रिने नाका बेलहिया भएकोले यहीँबाट अभियानको थालनी गरिएको थियो । नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले सुरु गरिएको अभियान अहिले सुस्ताएको छ । नगरले यो क्षेत्रलाई फूलको सहर बनाउने योजना अघि सारे पनि बजेट व्यवस्थापन भने गरेको छैन । नगर प्रमुख ईस्तियाक अहमद खाँनले प्रमुख पदमा निर्वाचित भएपछि आफूले पाएको मत बराबर वृक्षरोपण गर्ने घोषणा गरेका थिए । उनी नौ हजार एक सय ३४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।  मत बराबरकै वृक्षरोपण नगरे पनि यो अभियानलाई निरन्तरता दिने प्रमुख खाँनको भनाइ छ । ‘हामीले गत वर्ष केही बिरुवा रोप्र्यौंँ, अहिले गर्मीको समय भएकाले रोकिएको छ । एक /दुई महिनापछि फेरि सुरु हुन्छ’, नगर प्रमुख खाँनले भने, ‘गर्मीमा बिरुवा रोप्यो भने मर्न सक्छ, त्यसैले चिसो मौसममा रोप्ने तयारीमा छौँ ।’ नगरपालिकासहित अन्य सङ्घ संस्थाले पनि वृक्षरोपण अभियान चलाएको उनले बताए । भैरहवालाई हराभरा र फूलको सहरको रुपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको उनको भनाइ छ । नगरलाई ‘क्लिन’, ‘ग्रीन’ र ‘ईको फ्रेन्डली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ । नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ । नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैंक रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्धचोक लगायतका क्षेत्रलाई हरियाली बनाउने योजना नगरपालिकाको छ । राजमार्गको दुवै किनार र बीच भाग डिभाइडर तथा बजार क्षेत्रको सडकको दुवै किनारमा फूल/रुखका बिरुवा लगाउने काम भइरहेको नगरपालिकाका उपप्रमुख उमा अधिकारी बताउँछिन् । नगरको  सौन्दर्यकरण साथै स्वास्थ्यलाई हित गर्ने बिरुवा रोपिने उनको भनाइ छ । ‘स्वच्छ, हराभर नगर बनाउने हाम्रो योजना हो, यसमा सबैले साथ दिनुभएको छ’, उपप्रमुख अधिकारी भन्छिन् । सिद्धार्थनगर नगरपालिका हुँदै सयौँ पर्यटक बुद्धजन्मस्थल पुग्ने भएकाले नगरको सौन्दर्यकरण गर्न आवश्यक रहेको उनी बताउँछिन् । ‘हामी बिरुवा रोप्ने मात्रै होइन हर्काउने कुरामा पनि ध्यान दिन्छौँ, रोपिएका बिरुवाको संरक्षका लागि नगरवासीको पनि साथ लिएका छौँ’, अधिकारी भन्छन् । हरेक दिन साँझबिहान बिरुवामा पानी राखिन्छ । बिरुवा संरक्षणका लागि कर्मचारी खटिएका छन् भने स्थानीयले पनि बिरुवा संरक्षणमा सघाएका छन् । नगर राम्रो हुँदा फाइदा हामीलाई नै हो, त्यसैले भित्री सडकमा समेत वृक्षरोपण गरेका छौँ, स्थानीय व्यवसायी सपना हमाल भन्छिन्, ‘सबै घर अगाडि फूल रोप्ने र संरक्षणको काम गरेका छौँ ।’ नगरपालिकाले नीति नै बनाएर अभियानको सुरुवात गरेको हो । नगरपालिकाको  ११औंँ नगरसभाले नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने भन्दै निर्णय गरेको र सोही निर्णय अनुसार अभियान सुरु गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् । योजना नगरको भए पनि यो योजना पूरा गर्न विभिन्न सङ्घ संस्थाले साथ दिएका छन्। सामाजिक र व्यावसायिक सङ्घ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरमा वृक्षरोपण गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल बताउँछन् । उनका अनुसार नगरमा एभरेष्ट बैंक, इन्भेष्टमेन्ट बैंक र लायन्स क्लब तथा विभिन्न सहकारीले बिरुवा लगाउने गरेका छन् । ‘जिल्ला वन कार्यालयलाई बिरुवा ठिक्क पार्न भनेका छौँ, केही दिनपछि फेरि वृक्षरोपण सुरु हुन्छ’, उनले भने, भैरहवाको बुद्धचोकदेखि बसपार्कसम्म विभिन्न प्रजातिका बिरुवा तथा फूलहरु लगाइएका छन् । पहिलेभन्दा अहिले नगर धेरै हरियाली भएको छ, अझै बाँकी ठाउँमा फूल अन्य प्रजातिका बिरुवा रोप्ने तयारीम छौँ, उनले भने । नगरको लगानी नभएका कारण कति बिरुवा रोपियो भन्ने तथ्याङ्क नगरपालिकासँग छैन । सिद्धार्थनगर नगरपालिाका अनुसार विसं १९९० सम्म नगन्य रूपमा मात्र बस्ती भएको यस नगरमा बिसं २०१० मा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ती विकासको गतिमा तीव्रता आएको पाइन्छ । विसं २०२४ मा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । विसं २०३३ देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । कूल १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा भारतको सुनौली नाका सिमाङ्कन गरिएको छ । रासस

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

दोर्दी (लमजुङ) । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो । लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा गोरखाको अजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकालाई जोड्ने गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्ने सम्झौता भएको टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बाँस्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार उक्त पदमार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक वजेट विनियोजन गर्ने र त्यसको प्राविधिक तथा प्रवद्र्धनात्मक संयोजन टान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईले जानकारी दिए । सम्झौतासँगै अब नयाँ पदमार्गको खोजी गरी प्रोफाइल तयार गर्ने, पदमार्ग विकासका लागि योजना तयार गर्ने, योजना तथा डिपिआर तयार गर्ने, नयाँ पदमार्गको प्रवद्र्धनका लागि ब्रोसियर, वृत्तचित्र र पर्यटन पदयात्रा नक्सा तयार गरी शुभारम्भ गरिनेछ । विगत ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले यसअघि धादिङको रुविभ्याली तथा गोरखाका चुमभ्यालीको समेत नयाँ पदमार्ग खोजेर पर्यटन प्रवद्र्धन गरिसकेको छ । कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीले टानसँगको समन्वयनमा लमजुङ तथा गोरखाका उत्तरी गाउँपालिकासँग सहकार्य गरेर तत्काल काम सुरु गर्ने बताए । उनले पदमार्ग पूर्वाधार विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग समेत हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अजिरकोट गाउँपालिकाका प्रमुख देवकोटाले अजिरकोटको भच्चेक बजारलाई नयाँ पदमार्गको प्रवेशद्वार तथा हिल स्टेशनका रुपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए । मस्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङले नयाँ पदमार्गलाई छिमेकी जिल्ला मनाङसँग जोड्ने गरी सहकार्य गरिने बताए । दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले राइनासकोटलाई नयाँ पदमार्गसँग जोड्नका लागि राइनास नगरपालिकासँग सहकार्य गरिने उल्लेख गरे । नयाँ पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, लिपे लेक, मेमे पोखरी, बराहपोखरी, ठूलागीताललगायत प्राकृतिक तथा सांस्कृतिक क्षेत्र पर्दछन् । रासस

८ जना पर्वतारोही धौलागिरिको चुचुरोमा

काठमाडौं । म्याग्दीमा रहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन् । धौलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने ८ हजार १६७ मिटर अग्लो सो हिमाल बुधबार उनीहरुले आरोहण गरेका हुन् । यो हिमालमा सेभेन समिट टे«क्सका ५ जना र पाइएर एडभेन्चरमार्फत ३ जनाले आरोहण गरेका हुन् । पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए । सेभेन समिट टे«क्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले बुधबार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् । पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ । धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७ ः०० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए । आरोहणबाट फर्केपछि वार्टेकले ४ हजार ७ सय मिटर उचाइको वेस क्याम्पमा स्कीसमेत खेलेका थिए । धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षीय ज्येष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ । बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएपछि उनको धौलागिरिको चुचुरोमा पाइला राख्ने १४ औँ प्रयास असफल बनेको हो । दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको छ । कार्लोसको फेसबुक पेज अनुसार बधुबार राति धौलागिरि चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धार गरी क्याम्प तीनमा झारेको तथा होलिकप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ ।