कालिञ्चोक दर्शनको नाफासँगै ईपीएस पनि बढ्यो
काठमाडौं । कालिञ्चोक दर्शनको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४५.४२ प्रतिशत बढेर २ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।े गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको तथ्याङ्कले देखाएको छ । ९ महिनामा कम्पनीको आम्दानी १६.९९ प्रतिशत ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ४ करोड ५९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.८१ प्रतिशत बढेर ४ करोड ८१ लाख रुपैयाँ र अन्य आम्दानी ९७.४५ प्रतिशत बढेर १ करोड ४९ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको कूल खर्च ४४ प्रतिशत बढेर १ करोड ३७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९५ लाख ६६ हजार रुपैयाँ कूल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेर ६० करोड रुपैयाँ र जगेडा कोष १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७१ पैसा बढेर ५ रुपैयाँ ५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९९.३६ गुणा रहेको छ ।
वसन्त ऋतुसँगै यो वर्षको सगरमाथा आरोहण शुरु
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । ‘सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे’, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले जानकारी दिए । अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि विहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ, भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्’, उनले भने । दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत हुन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् । ‘प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ’, उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित ससयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो । उक्त क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो । प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्याङ्क अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले मौसमलगायतका विभिन्न कठिनाइका बाबजुद पनि आरोहणको ढोका खुलेको बताए। रासस ।
सरकारबाटै हेपिएको रेल्वे कम्पनी, सम्झौताको १९ वर्षमा पनि पाएन पैसा
काठमाडौं । विभिन्न सात वटा मन्त्रालयले रेल्वे कम्पनीमा सेयर लगानीको सम्झौता गरेर छोडेको पाइएको छ । सरकारका विभिन्न मन्त्रालय तथा मातहतका निकायले कम्पनीको सेयर खरिद गर्ने सम्झौता गरेर सेयर नै नलिई छोडेको कम्पनीले जनाएको छ । रेल्वे कम्पनीसँग २०६१ सालमा नै अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, उद्योग विभाग, र महालेखा नियन्त्रक कार्यालयले सेयर लगानीका लागि सम्झौता नै गरेका थिए । सम्झौता भएको १९ वर्ष हुँदा समेत उक्त मन्त्रालय तथा विभागले सेयर खरिदमा कुनै चासो नदेखाएको रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले जानकारी दिए । उनका अनुसार लामो समयसम्म प्रतिवद्धता गरेर सेयरमा लगानी नगर्दा रेल्वे कम्पनीमा समस्या थपिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ करोड र बाँकी विभाग तथा मन्त्रालयले साढे सात/साढे सात करोड गरी ६० करोड रुपैयाँ लगानी गर्ने सर्त राख्दै सम्झौता गरेका थिए । प्रतिवद्धता अनुसार उक्त रकमका लागि ताकेता गर्दा कुनै पनि निकायले चासो नै नदिएको झाले बताए । ‘सुरुवातमा यसको लागि कत्तिको पहल भयो थाहा भएन, उहाँहरूले आफ्नो पक्षबाट गर्नु भयो होला, म आएको दिनदेखि यसका लागि पहल गरिरहेको छु, हाम्रो प्रवर्धक पत्रमा नै उहाँहरूले कबुल गरेकै आधारमा सेयर पुँजी भरिएको थियो, तर पैसा आएन,’ उनले भने । प्रतिवद्धता अनुसारको रकम आएपछि व्यवसायीक प्लान बनाउने योजना रहेको बताउँदै झाले रकम नहुँदा योजना बनाउनै नसकिएको बताए । सेयर बापतको पैसा आएमा सरकारी बजेटको तत्तका अवश्यकता नरहेको उनको भनाइ छ । ‘ती मन्त्रालय तथा निकायले कम्पनीमा सेयर लगानी गर्ने भनेर लिखित प्रतिबद्धता नै गरेका थिए, यस विषयमा अर्थ मन्त्रालयमा पनि कुरा उठाइरहेका छौं, अर्थलाई आगामी बजेट २०८०÷८१ को बजेटमा उनीहरूले पाउने रकम कटौंती गरी कम्पनीलाई दिनुहोस् भनी रहेका छौं,’ उनले भने । सो रकम आएपछि रेल्वे कम्पनी सक्षम हुने र आउँदा बजेटबाट रेल्वे कम्पनीलाई छुट्टै बजेटको आवश्यकता नपर्ने उनले उल्लेख गरे । सरकारले दिएन पैसा सरकारले नेपालमा नै रेलका लागि आवश्यक जनशक्ति उत्पादन नहुँदा सम्मका लागि भन्दै भारतबाट आवश्यक म्यानपावर ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै भारतबाट आवश्यक जनशक्ति ल्याउने र उनिहरुका लागि सेवासुविधा (तलब) सरकारले नै भुक्तानी गर्नेगरी सहमित दिएका थिए । मन्त्रिपरिषद्को निर्णय अनुसार आवश्यक जनशक्ति भारतबाट ल्याईएको थियो । उक्त जनशक्तिका लागि भुक्तानी गर्नुपर्ने रकम अहिलेसम्म अर्थमन्त्रालयबाट नपाएको झाले बताए । ‘सरकारले निर्णय अनुसार रकम निकासाका लागि हामीले अर्थ मन्त्रालयमा अनुरोध गरेका थियौँ, तर अहिलेसम्म रकम पाएका छैनौँ’, उनले भने, ‘सरकारले रकम नदिएपछि रेलको आम्दानीबाट नै हामीले भुक्तानी गरिरहेका छौँ ।’ वार्षिक ८ करोड आम्दानी नेपालमा रेल सञ्चालनमा आएको डेढ वर्ष भन्दा बढी समय भइसकेको छ । रेल सञ्चालनमा आएतापनि आम्दानी भन्दा खर्च नै बढी भएको छ । ‘रेलको अहिले वार्षिक आम्दानी ८ करोड रुपैयाँ छ, आम्दानी सँगसँगै खर्च पनि उतिकै छ, अहिले आम्दानीको दोबर खर्च छ,’ उनले भने । रेलको आम्दानीले कर्मचारीलाई तलब खुवाउन पुग्ने भएतापनि रेलको मर्मत सम्भारका लागि ठूलो रकम खर्च भएको उनको भनाई छ । ‘रेलको मर्मत सम्भार भारतमा मात्रै हुन्छ, मर्मतसँगै वासिङ लगायतका काममा बढी खर्च हुन्छ’, उनले भने, ‘आवश्यक पूर्वाधार निर्माण तथा अन्य सेवा थप हुँदा आम्दानीले मात्र कम्पनीको खर्च धान्न सकेन ।’ रेल्वे कम्पनीमा अहिले ११० जना कर्मचारी छन् । फुल फेजमा रेल चलाउँदा २१० भन्दा बढी कर्मचारीको आवश्यकता पर्ने पनि कम्पनीले जानकारी दिएको छ । सोको लागि कम्पनीले लोकसेवाको मध्यमबाट कर्मचारी नियुक्ति गर्ने उनले बताए । उनका अनुसार हाल रेल मर्मत सम्भार गर्ने वर्कसप नेपालमै खोल्ने गृहकार्य भइरहेको छ । निकट भविष्यमा कार्गो रेल सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । ‘रेललाई नाफामा लाने हाम्रो कोसिस जारी छ, यसको लागि हामीले आवश्यक कामहरू गरिरहेका छौं, रेलका पूर्वाधारहरू यही बनाई, दक्ष जनशक्ति यही उत्पादन गर्यो भने रेल नाफामा लम्कन्छ,’ उनले भने ।