बेनीको ‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

बेनी । घना जङ्गलको सिरमा रहेको धुरीबाट दन्ते लहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरे डाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यु प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहर डाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वरिपरि गुराँसे जङ्गल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरे डाँडा क्षेत्र रङ्गीबिरङ्गी गुराँसका फूलले चिटिक्क सजिएको छ । अभियन्ता डाक्टर महावीर पुनको अगुवाइमा सन् २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहर डाँडामा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढेको मोहर डाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापक विनपुनले बताए । ‘यहाँ आउने पर्यटक लोभिएर फर्कने गर्छन्, प्राकृतिक सुन्दरताको छटासँगै रमाउँदा यहाँ आउने जो कोही पनि आफूलाई गौरव ठान्ने गर्छन्, पर्यटकको चापले पर्यटन सिजनमा पर्यटकको भार थेग्न मुस्किल हुन थालेको छ’, पुनले भने । पर्यटकको सुविधाका लागि मोहर डाँडामा रहेको सामुदायिक लजको क्षमता विस्तार गरिएको छ । पदयात्राका लागि आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको मोहर डाँडामा फ्रान्स, जर्मनी, अमेरिका, रसिया, अस्ट्रेलिया, दक्षिण कोरियालगायतका देशबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने गर्छन् । घना जङ्गल र अग्ला पहाड भएर तयार भएको यस क्षेत्रको पदयात्रालाई पर्यटकले ‘साहसिक’ पदयात्राका रूपमा लिने गर्छन् । पहिलो पटक मोहरे डाँडा पुगेका काठमाडौंका सुरज बज्राचार्यले प्राकृतिक भ्यु प्वाइन्टका रूपमा रहेको मोहर डाँडाको सुन्दरताले आफू लोभिएको बताए । ‘घना गुराँसे जङ्गलको यात्रा निकै रोमाञ्चकृत हुँदो रहेछ, प्राकृतिक छटाले यहाँ आउँदा हुने सबै दुःख बिसाइदिँदो रहेछ, अन्नपूर्ण र धौलागिरि रेञ्जका दन्तेलहर हिमाललाई एक ठाउँबाट नियाल्नुको मज्जा नै छुट्टै भएको अनुभूति भएको छ’, उनले भने । यस डाँडाबाट धौलागिरि, गुर्जा, चुरेन, माना पाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण, मार्दी, मनास्लु, माछापुच्छ्रे लगायतका करिब दुई दर्जन हिमाललाई अवलोकन गर्न सकिन्छ । डाँडाबाट हिमाल र सूर्योदयको दृश्यले आफूलाई मोहित तुल्याएको पोखराबाट भ्रमणमा आउनुभएका महेश पुनले बताए । हिमालसँगै यहाँबाट पोखरा, फेवातालसँगै म्याग्दी, पर्वत र बागलुङका समेत भू–भागलाई अवलोकन गर्न सकिन्छ । हिमशृङ्खलाको अवलोकन, ग्रामीण जीवनशैली, रहनसहन र परम्परागत पशुपालन, कृषिसमेत यहाँका थप आकर्षण हुन् । यस क्षेत्रमा गरिने घुम्ती चौर पालनसमेत पर्यटकको अवलोकनको रोजाइमा पर्ने गर्छ । बस्तीदेखि टाढा र घना जङ्गलको सिर मा रहेको मोहर डाँडामा विद्युत्का लागि सोलार जडान गरिएको छ । यहाँ खानेपानीको मूल नभएकाले जङ्गलमा रहेका मूलबाट खच्चडमार्फत पानी ल्याएर प्रयोग गरिन्छ । क्षमताभन्दा बढी पर्यटक आउँदा मुख्य गरी खानेपानीको अभाव हुने गरेको लजका सञ्चालक पुन बताए । मोहर डाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँ पुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै मोहरे, बेनीबाट घोरे पानी–पुन हिल हुँदै मोहरे र पर्वतको मिलन चोक–सालिजा–जलजला–हप्पाल हुँदै मोहरेमा पर्यटक पुग्ने गर्छन् । पछिल्लो समय पुन हिलदेखि मोहरे जोड्ने गुराँस पदमार्ग भएर धेरै पर्यटक मोहरे डाँडा क्षेत्रको भ्रमणमा जाने गरेका छन् । रासस

निगममा आफूखुशी राजनीतिक नियुक्ती बढ्न थालेपछि योग्यता तोक्दै प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको न्यूनतम योग्यता तोक्ने भएको छ । निगममा राजनीतिक शक्तिको आडमा योग्यता नै नपुगेका मान्छेलाई कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नियुक्ती दिदा उनीहरुले उडड्यन नियम मिच्न थालेको भन्दै प्राधिकरणले त्यसलाई नियन्त्रण गर्न नयाँ कार्यविधि ल्याउन लागेको हो । उक्त कार्यविधि एक साताभित्रै सार्वजनिक गर्ने तयारीमा प्राधिकरण रहेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले वायुसेवा कम्पनीमा ‘एकाउन्टेबल म्यानेजर’ (सीईओ) बन्न न्यूनतम योग्यता र अनुभव निर्धारण गर्न लागिएको बताए । ‘अहिले ‘एकाउन्टेबल म्यानेजर’ बन्नका लागि योग्यता तोकिएको छैन्, योग्यता नतोक्ता सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम र हेलिकप्टर कम्पनीमा अराजक गतिविधिहरु बढ्न थाल्यो, वायुसेवा कम्पनीको अनुगमन तथा निरीक्षण गर्न थप सहज गर्न कार्यविधि लागू गर्न लागिएको हो’, उनले भने । ‘हामीले प्रमुख कार्यकारी अधिकृतको योग्यता, काम, कर्तव्य र अधिकार सम्बन्धि मापदण्ड छिट्टै सार्वजनिक गरेपछि होटल, रेष्टुरेन्ट चलाएकोे व्यक्तिले एयरलाइन्स कम्पनी खोल्ने परिवेशको अन्त्य हुन्छ’, उनले भने । अहिले पनि निजी एयरलाइन्सका एकाउन्टेबल म्यानेजर बन्न प्राधिकरणको सेफ्टी विभागबाट अनुमति भने लिनुपर्छ । तर, कार्यविधि नै बनाएर न्यूनतम योग्यता भने तोकिएको छैन । योग्यता नतोक्दा सरकारी स्वामित्वमै सञ्चालित वायुसेवा निगमको बहालवाला कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक हटाएर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटनमन्त्रीले आफू खुशी नियुक्त गर्ने परिपाटी रहेको छ । आर्थिक अवस्था खस्किएर कर्मचारीलाई नियमित रुपमा तलब समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई उक्त कार्यविधि लागू भएसँगै ठूलो राहत मिल्ने जानकारहरु बताउँछन् । निगमका पूर्व महानिर्देशक डिमप्रकाश पौडेल नयाँ कार्यविधि लागू भएका निगमको व्यवसायिक छवि पनि उच्च र निगमभित्र सुधार पनि हुने बताए । निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएको व्यक्तिले योजना अनुसार ४ वर्षसम्म ढुक्क भएर काम गर्ने वातावरण बन्ने हो भने निगममा धेरै सुधार हुने उनको विश्वास छ । ‘जति राम्रो काम गरे पनि सरकार परिवर्तन वा पर्यटनमन्त्री हुँदा निगमका अध्यक्ष वा कार्यकारी प्रमुख तारोको रुपमा रहन्छन्, कार्यविधि लागू भएपछि विभिन्न आरोप प्रत्यारोप लगाएर निलम्बन गर्ने परिपार्टीको अन्त्य हुनेछ’, उनले भने । लगानीकर्ताको लगानी सुनिश्चित गर्नकै लागि भए पनि जवाफदेही व्यवस्थापक नियुक्तीका लागि मापदण्ड तोक्न लागिएको प्राधिकरणले जनाएको छ । यसअघि जवाफदेही व्यवस्थापकका रुपमा गर्नुपर्ने कार्य नगरेको भन्दै प्राधिकरणले तीन पटकसम्म निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टिकरण सोधेको थियो ।

सिटि होटलको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो ।सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सेयरमा सामूहिक लगानी कोष, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयरमा कर्मचार र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।