अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् । चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले जानकारी दिए । ‘शुरुमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ’, उनले भने, ‘मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।’ अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । ‘उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्’, उनले भने, ‘मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।’ आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेवित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ । लुक्लामा रहेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उनले बताए । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका तीन सय २३ र सन् २०२१ मा ४२ समूहका चार सय नौ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपाल तर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ । पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए । रासस
अनलाइनमार्फत ९ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
काठमाडौं । सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्स कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टान र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई टिम्स कार्ड र गाईडबिना पदयात्रामा जान नपाउने नियम लागू गरेसँगै अनलाईनमार्फत टिम्स कार्ड लिने पदयात्रीको सङ्ख्या बढेको हो । टान र पर्यटन बोर्डले संयुक्त प्रदान गर्दै आएको टिम्स कार्डलाई अप्रिल १ देखि अनलाईनमार्फत वितरण गर्न थालेसँगै नौ हजार तीन सय २० पदयात्रीले टिम्स कार्ड लिएका हुन् । यस्तै, सोही अवधिमा एक हजार पाँच सयभन्दा बढी ट्रेकिङ कम्पनी टिम्समा आबद्ध भएका छन् । सरकारले टिम्स कार्ड लिएबापत पदयात्रीसँग दुई हजार रुपैयाँ शुल्क लिँदै आएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोला पर्यटकको सहजताका लागि अनलाइनमार्फत टिम्स कार्ड वितरण गरिएको बताउँछन् । ‘पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनका लागि सरकारले अनिवार्य गाईड र टिम्स कार्डको व्यवस्था गरेको हो’, उनी भन्छन् । अध्यक्ष बाँस्तोला बर्सेनि एक दर्जनभन्दा बढी पदयात्री बिना सूचना एक्लै पदयात्रामा जाँदा हराइरहेको बताउँदै पर्यटकको सुरक्षाकै लागि गाइड अनिवार्य गरिएको बताउँछन् । ‘पर्यटक एक्लै पदयात्रामा जाँदा र हराउँदा नेपाल पदयात्राका लागि सुरक्षित गन्तव्य हैन भन्ने सन्देश विदेशमा गएको छ, यसलाई चिर्न जरुरी छ’, अध्यक्ष बाँस्तोला भन्छन् । टिम्स कार्ड र गाइड अनिवार्य गरेसँगै पर्यटक सुरक्षित हुने, नेपाली पर्यटक गाइडले रोजगारी पाउने, कम्पनीबाट जाँदा कम्पनीले राज्यलाई राजस्व तिर्ने भएकाले सबैलाई फाइदा हुने टानले जनाएको छ । रासस
ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने, रोकिएला बेथिती ?
काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो । ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौँ महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले स्थलगत अवलोकनसमेत गरेको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाडौँ महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागिएको जानकारी दिए । ‘ठमेलभित्रका कुन चोक तथा सडकमा सिसी क्यामरा आवश्यक छ भन्नेबारे काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र ठमेल पर्यटन विकास परिषद्को टोलीले पाँच घन्टा लगाएर स्थलगत अवलोकन गरेको छ, चाँडै नै ठमेलभित्र सिसी क्यामरा जडान हुन्छ,’ उनले भने । नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । ठमेलभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सिसी क्यामरा जडान गर्न लागिएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे स्थलगत अवलोकन भएको बताए । ठमेलभित्रका सडकमा एक सयभन्दा बढी सिसी क्यामरा जडान गरिने उनको भनाइ छ । काठमाडौँभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई ६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकमबाट सिसी क्यामरा खरिद गरी काठमाडौँभित्रका सिसी क्यामरा आवश्यक पर्ने स्थानमा जडान गरिनेछ । काठमाडौँ महानगरपालिका वडा नं १६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झण्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् ।