होटल संघ नेपालको अध्यक्षमा विनायक शाह
काठमाडौं । होटल संघ नेपालको अध्यक्षमा विनायक शाह निर्वाचित भएका छन् । संघको ४८औं वार्षिक साधारण सभाले शाहलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । उनी यसअघि नै सर्वसम्मत अध्यक्ष बनेको भएपनि शुक्रबार पत्रकार सम्मेलन गरेर अध्यक्ष बनेको घोषणा गरेको हो । शाह यसअघि कार्य समितिका प्रथम उपाध्यक्ष थिए । संघमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ ।
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल एयरलाइन्स
काठमाडाैं । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)को जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष बिष्टका अनुसार अबको एक हप्तामा निगमको जहाजले नियमित उडान गर्नेछ । यसअघि तारा एयरले परीक्षण उडान गरे पनि भाडादर महँगो भएपछि सम्झौता तोडिएको थियो । उक्त एयरले प्रतियात्रु आठदेखि नौ हजार भाडादर कायम गरेको थियो । निगमको जहाजले प्रतियात्रु छ हजारमै उडाउने भएपछि रेसुङ्गा नगरपालिकाले निगमसँग सम्झौता गरेको थियो । परीक्षण उडानमा निगम र नागरिक उड्ययन प्राधिकरण क्यानका प्राविधिक आउनुभएको थियो । ‘विमानस्थलको अवस्था पूर्ण रुपमा ठीक छ, बिहानी समयमा उडान राम्रो हुन्छ’, क्याप्टेन बिष्टले भने, ‘रिपोर्ट तयार गरी क्यानलाई बुझाएर एक हप्तामै नियमित उडान हुन्छ ।’ जहाजमा ४० देखि ४५ मिनेटसम्म मात्र आवतजावतको समय रहनेछ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौंमै गई लामो समयसम्मको प्रयास गरी नेपाल एयरलाइन्सले परीक्षण गरेको बताए । ‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका छौँ’, उनले भने, ‘अब नियमित उडानपछि गुल्मेलीको सपना साकार हुन्छ ।’ निगम र रेसुङ्गा नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भइसकेको छ । रासस
रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सफल
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो । निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड रुपैयाँ लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ । आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउँछन् । ‘रेसुङ्गा– काठमाडौं उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर छ हजार पाँच सय रुपैयाँ हुने भनिए पनि अन्तिममा छ हजार रुपैयाँसम्म कायम हुनसक्छ’, उनले भने । निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो । लामो समयपछि जहाज चढेर काठमाडौं जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । रासस