लुम्बिनीमा गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको सधैको लागि दर्शनलाई खुल्ला
काठमाडौं । लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्मोदयसभा परिसरमा रहेको नवमैत्री महावीर बिहारको प्राङ्गणमा सर्वज्ञ धातु स्तूपा निर्माण गरी अस्थिधातु राखिएको छ । सर्वज्ञ धातु स्तूपा जेडरल रिम्पोछेको पूण्य स्मृतिमा राप्तेन साङ्गे लामाले निर्माण गरेका हुन् । सो स्तूपामा रहेको अस्थिधातु सर्वसाधारणले बिहानको ८ बजेदेखि साँझ ५ बजेसम्म दर्शन गर्न सकिने अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए । ‘नेपालमा आनन्दकुटिमा मात्र यसरी अस्थिधातु राखिएको मलाई जानकारी छ, त्यहाँ बुद्धपूर्णिमाको दिन दर्शनको लागि खुल्ला गरिन्छ’, उनले भने ‘हामीले लुम्बिनीमा पनि बुद्धजयन्तीकै अवसर पारेर मायादेवी प्राङ्गणमा दर्शन गर्न खोलेका थियौँ, अहिले सधैँका लागि खोलेका हौँ ।’ बुद्ध धर्ममा अस्थिधातुको निकै महत्व रहेको छ । भिक्षु मैत्रीका अनुसार भगवान बुद्धको महापरिनिर्वाणपछि अङ्ग, मगध, शाक्य, कोलिय, कोशल, बैशाली, पावा, कुशीनगर गरी तत्कालीन आठ राज्यबीच अस्थि बाँडफाँडबारे ठूलो विवाद भएको थियो । त्यति समयका द्रोण भन्ने ब्राम्हणले विवाद मिलाउँदै आठ राज्यलाई र अन्य दुई गरी १० स्थानमा धातु चैत्य स्थापना गरी अस्थि राखिएको थियो । अस्थि विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थवीरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगधमा ल्याइएको महावंशमा उल्लेख भएको मैत्री भिक्षुले बताए । पछि ८४ हजार स्तूपा बनाउने अभियानका क्रममा सम्राट अशोक भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातु रामग्राम र कपिलवस्तु बाहेक सङ्कलन गरी सुरक्षित स्थानमा राखेका थिए । हाल श्रीलङ्कामा रहेको उक्त स्थानबाट विभिन्न समयमा नेपाललाई प्रदान गरिएकामध्ये दुई थान र धम्मकाय फाउण्डेशनबाटसमेत गरी करिब आठ थान अस्थिधातु दर्शनका लागि खुल्ला गरिएको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए । यी धातुलाई विशेष सुरक्षासहित सुनको फूल बनाइ दर्शनको लागि राखिएको छ । भगवान गौतमबुद्धसँग प्रत्यक्ष सम्बन्ध राख्ने अस्थिधातु दर्शन गर्न पहिलो दिन नै पर्यटक आइपुगेका छन् । लुम्बिनी भ्रमणमै रहेका भारत महाराष्ट्रका बौद्धगुरु बुद्धरत्नले बुद्ध रुप रहेको अस्थिधातु दर्शनले आफु कृतज्ञ भएको बताए । अस्थिधातु हुनु भनेको बुद्ध जन्मेको प्रमाण भएको उनको भनाइ छ । ‘अस्थिधातुकै लागि बौद्ध अनुयायी अन्य देशमा जानुपरेको हुन्छ’, उनले भने ‘लुम्बिनी आएको समयमा अस्थिधातुको दर्शन गर्न पाइयो, यो मेरो अहोभाग्य हो ।’ यही वैशाख २२ गते २५६७ औँ बुद्धजयन्ती परेको छ । लुम्बिनीमा यसको तयारी तीव्र पारिएको छ । बुद्धजयन्तीको दिन दर्शनार्थीलाई दर्शन गर्न सहज होस भन्ने उद्देश्यसहित पाँच दिन अगावै बुद्ध अस्थिधातु दर्शनको लागि खुल्ला गरिएको हो । रासस
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार सात सय आठ नेपाली, ३९ हजार चार सय पाँच विदेशी, २२ हजार तीन सय ९० सार्क राष्ट्रका पर्यटक छन् । चालु आवमा १९ करोड आठ लाख ४३ हजार आठ सय ४४ रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका छन् । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको छ । यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार दुई सय ९८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज छिरेका थिए । जसले दुई लाख एक हजार चार सय २१ रुपैयाँ राजस्व बुझाएका थिए । पर्यटकको सङ्ख्याका हिसाबले हालसम्मकै यो वर्ष बढी हो । आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० रुपैयाँ अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले एक सय ५० रुपैयाँ, सार्क देशकाले एक हजार रुपैयाँ र अन्य देशकाले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन् । तिवारीले भने, ‘पहिले–पहिले विदेशी पर्यटक निकै धेरै हुँदा राजस्व बढी हुन्थ्यो, अहिले नेपाली पर्यटक बढी हुने भएकाले राजस्व कम पर्यटकको सङ्ख्या बढेको छ ।’ सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रमा भएका भौतिक पूर्वाधारका कारण पनि पर्यटकको आगमन बढाउन सहयोग पुगेको बताए । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भन्दै उनले निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्दै गर्दा यहाँको आर्थिक गतिविधि बढ्ने बताए । मेघौलीलाई बागमती प्रदेशको र पटिहानीलाई सङ्घको पर्यटकीय गन्तव्य घोषणा गरेर पर्यटकीय पूर्वाधार निर्माणमा महानगरको ध्यान गएको उनको भनाइ छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले पर्यटन क्षेत्रमा विविधिकरण गरेर पर्यटकको बसाइ लम्ब्याउनुपर्ने बताए । अहिलेसम्मकै बढी पर्यटक निकुञ्ज प्रवेश हुनु सुखद् भएको भन्दै उनले थप पर्यटक भित्र्याउन व्यवसायीले समेत योजना ल्याउनुपर्ने बताए । उनले भने, ‘पर्यटक भित्र्याउन गरिने कार्यक्रममा नगरपालिका सधैँ सहकार्य गर्न तयार छ ।’ चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो । हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकालि केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् । रासस
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
काठमाडौं । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ । सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गरेका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताए । इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । दोस्रो शिविदेखि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाका अनुसार अहिले सगरमाथाको चौँथो शिविरसम्म बाटो बनिसकेको छ । पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् । मौसम अनुकुल हुने वित्तिकै चुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ । रासस