हवाई उडान प्रभावित : एयर इण्डियाको विमान बनारस डाइभर्ट, एयर चाइना र सिचुआन एयर फर्किए

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए। उनकाअनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए । विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ ।

खराब मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

काठमाडौं । तीनवटा विमानस्थलको उडान वर्षाका कारण मौसम खराब हुँदा प्रभावित भएको छ । आइतबार बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलमा विमान उड्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यस्तै, तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।

प्राधिकरणले भन्यो, ‘उद्धार उडानमा बन्देज गरिएको छैन’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको स्पष्ट पारेको छ । प्राधिकरणले हालै दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’ भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो । मनसुनमा सम्भावित हवाई दुर्घटनालाई मध्यनजर गर्दै उडान सुरक्षार्थ प्राधिकरणले उडानमा कडाइ गरेको थियो । प्राधिकरणको उक्त निर्णयको आलोचना भएको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्रै उडान गर्नेगरी गरिएको निर्णय भएको र मौसम अनुकूल उद्धार उडानमा कुनै बन्देज नगरिएको स्पष्ट पारे । “दुर्गम क्षेत्रको व्यावसायिक उडानमा मात्रै अपरेसन आवर लागू गरिएको हो । उद्धार उडानका लागि बन्दैज छैन, मौसमअनुकूल इनरुटवेदर हेरेर एयरलाइन्सले यस्तो उडान गर्न सक्नेछन्”, प्राधिकरणका प्रवक्ता निरौलाले भने । मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको र यस्तो समयमा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै अपरेसन आवरमा मात्रै उडान गर्न प्राधिकरणले आन्तरिक उडानका एयरलाइन्सलाई सर्कुलर गरेको थियो । प्राधिकरणका अनुसार सामान्यतः दुर्गम क्षेत्रका विमानस्थलमा बिहान ६ः३० देखि मध्याह्न १२ः३० को समयावधिलाई अपरेसन आवर मानिन्छ ।