एनआरएनएको टिमले खरिद गर्याे टाइगर प्यालेस, सरकारलाई कर तिर्ने घोषणा
काठमाडौं । भैरहव स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट गैरआवासीय नेपाली (एनआरएनए)हरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतको समुहले उक्त रिसोर्ट खरिद गरेको हो । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । सुवेदीसहितको एनआरएनए समूहले सिल्भर हेरिटेजको सेयर विदेशमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको छ । एनआरएनए सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि सरकारलाई कर नतिरेको आरोप लागेको थियो । बुधवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष अध्यक्ष बुद्धिसागर सुवेदीले विदेशमा सेयर खरिद बिक्री गरिएपनि सरकारलाई लाग्ने सम्पुर्ण कर तिर्न तयार रहेको बताए । टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्व बहन गर्न तयार रहेको बताए । साथै, उक्त जानकारी कर कार्यालयलाई समेत दिइसकेको उनको भनाइ छ । ‘हामी नेपालमा नाफा कमाउन मात्रै आएका होइनौं, देशप्रतिको दायित्व पुरा गर्न र देशको मायाका कारण आएका हौं,’ अध्यक्ष सुवेदीले भने । अष्ट्रेलियन कम्पनीले रिसोर्ट तथा क्यासिनो व्यवसाय गर्दा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । कोरोना महामारीका कारण बन्द भएपछि आन्तरिक विवाद बढ्दै गएको थियो । करोडौं घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा सँयौले रोजगारी गुमाएका थिए भने राजस्व पनि गुमेको थियो । रिसोर्टले बैंकहरुलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । उक्त रिसोर्ट सञ्चालनका लागि बैंकबाट साढे २ अर्ब रुपैयाँ ऋण लिएको थियो । वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने देखिएकाले एनआरएनएहरुले सो होटल खरिद गरेको सञ्चालक दिपक गौतम बताउँछन् । सिल्भर हेरिटेजलेसहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरिरहेको छ । एनआरएनएले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत् सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन सेयर खरिद गरेको गौतमको भनाइ छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन्। नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताएका हुन् । ‘पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छौँ’, आचार्यले भने, ‘नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ ।’ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि केन्द्र सरकारलाई केही समय कुरौँ र आग्रह गरौँ, यदि केन्द्रले वास्ता नगरे प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने आश्वाशन दिएको जानकारी पनि प्रमुख आचार्यले दिए । पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न भारतीय सरकार र नेपालका एयरलाइन्स कम्पनीसँग छलफल गरी अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिनतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन व्यवसायी लाग्नुपर्नेमा उनको जोड छ । पर्यटकीय राजधानी घोषणासँगै यहाँका होटेलको स्तरोन्नति गर्नुपर्नेमा आचार्यको जोड छ । पर्यटकलाई चाहिने पाँच तारेदेखि साना होटल घरजस्तो नभइ होटलजस्तो बनाउनुपर्नेमा उनले आग्रह गरे । पर्यटकको बसाईं लम्ब्याउन पनि यहाँका पर्यटन व्यवसायीले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी भएको भनाइ उनको छ । पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटक एक्लै नभइ ‘गाइड’को सहायतामा पर्वतारोहण र ट्रेकिङ गर्न अनिवार्य बनाइनुपर्नेमा उनको जोड छ । संस्थाका सल्लाहकार टीकाराम सापकोटाले पर्वतारोहण गर्ने पर्यटकलाई त्यस क्षेत्रका बारेमा बुझाउन नसक्दा उनीहरु गाइड बिना नै पदयात्रा गर्दा हिमाली क्षेत्रमा पर्यटक हराउनुका साथै मृत्यु समेत हुने गरेको बताए । नेपाल पर्वतारोहण सङ्घका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पर्यटकलाई सहज रुपमा घुम्ने वातावरण बनाए उनीहरुले आफ्नो बसाईं थप लम्ब्याउनुका साथै अर्को पटकसमेत घुम्न आउन सक्ने बताए । सङ्घका प्रदेश अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्वतारोहणको क्षेत्रमा कलम चलाउने पोखराका पत्रकार दीपक परियारलाई सम्मान गरिएको हो । साथै अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ । रासस
फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध
जाजरकोट । अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ । पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन् । पालिकाको वडा नं ८ स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुवाउँदा पदमार्ग अवरुद्ध भएको हो । यही बाटो भएर सुलिगाड हुँदै फोक्सुण्डोसम्म जाने गरिन्छ । नदीमा पानीको बहाब बढेसँगै कहाँ क्षति भएको छ जाँचबुझ गरेर व्यवस्थापनतिर लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । नदी तथा बाढीपहिरोले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पु¥याएको छ उक्त स्थानमा तत्काल वैकल्पिकमार्गका लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले बताए । रासस