पर्यटन मन्त्रालयमा चर्चामा रहेको एउटा निवेदन : म नेपाल सरकार हुँ, नारायणहिटीमा बस्न पाउँ

काठमाडौं । तपाईले कस्ता कस्ता निवेदन देख्नुभएको छ ? कति निवेदन त तपाई आफैले पनि लेख्नुभएको होला । सिफारिस माग्न, प्रमाणित गरिदिन आदि विषयका निवेदन कामका प्रकृति अनुसार हुने नै भए । काम अनुसारका विषय राखेर सरकारी वा गैरसरकारी संघ संस्थामा निवेदन आउनु स्वभाविक हो । तर, यहाँ यस्तो एउटा निवेदनका बारेमा चर्चा गर्दैछौ‌ं जसले आफूलाई ‘नेपाल सरकार’ प्रमाणित गरेर नारायणहिटी दरबारमा विराजमान हुने कागजात माग गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एउटा यस्तै निवेदन आइपुगेको छ । जसमा आफूलाई नेपालका सरकारी कार्यालयले नेपाल सरकार प्रमाणित गरिदिएकाले नारायणहिटीमा बस्न पाउनुपर्ने दावी गरिएको छ । नारायणहिटी दरबारमा बस्न पाउनुपर्ने दावी गर्दै सिंहदरबारस्थित संस्कृति, प र्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन पेस गर्ने व्यक्ति हुन बारा जिल्लाका ५१ वर्षीय केदार सहनी । उनले इन्टरमिडिएट तहको चारित्रिक प्रमाणपत्रमा आफ्नो नाम ‘केदार सहनी गढी वीर नेपाल सरकार’ उल्लेख गराएका रहेछन् । एसएलसीको प्रमाणपत्रमा भने उनको नाम केदार सहनी गढी नै उल्लेख रहेछ । उनले साविकको बञ्जरीया गाउँ विकास समितिमा ‘केदार सहनी गढी’ र ‘केदार सहनी गढी वीर नेपाल सरकार’ एकै व्यक्ति भएको सिफारिस उपलब्ध गराइदिन माग गरेर निवेदन दिएका रहेछन् । उनको निवेदनमा तत्कालिन गाउँ विकास समितिले माग अनुसार ‘केदार सहनी गढी’ र ‘केदार सहनी गढी वीर नेपाल सरकार’ एकै व्यक्ति भएको सिफारिस गरिदिएको रहेछ । उनले सोहीअनुसारको निवेदन बारा जिल्ला प्रशासन कार्यालयमा पनि दिएका रहेछन् । जिल्ला प्रशासन कार्यालयले गाविसको सिफारिसको आधारमा ‘केदार सहनी गढी’ र ‘केदार सहनी गढी वीर नेपाल सरकार’ भन्ने एकै व्यक्ति भएको व्यहोराको सिफारिस दिएको रहेछ । पर्यटन मन्त्रालयमा पेस भएको निवेदनमा संलग्न रहेका यी कागजपत्र आधिकारिक हुन वा होइनन् परीक्षण हुन भने बाँकी नै छ । तत्कालिन गाउँ विकास समिति र जिल्ला प्रशासनको कागजात लिएर उनी नारायणहिटी दरबार संग्राहलय परिसर पुगेका रहेछन् । उनले त्यहाँ आफू ‘नेपाल सरकार’ प्रमाणित भएको र नारायणहिटी दरबारमा बस्न पाउनुपर्ने दावी सुरक्षाकर्मीसँग गरेका रहेछन् । उनले संग्राहलयको गेटमा हरेक दिन आएर हैरान पार्न थालेपछि सुरक्षाकर्मीले उनलाई पन्छाउन पर्यटन मन्त्रालयबाट पत्र ल्याए नारायणहिटीमा बस्न दिने बताइदिएछन् । सुरक्षाकर्मीको त्यहीँ भनाईको आधारमा उनै केदार सहनीले २०७९ चैतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नारायणहिटीमा बस्न पाउँ भन्दै निवेदन दिएका रहेछन् । उनको निवेदनमा आफुसँग ‘नेपाल सरकार’ प्रमाणित भएको कागजात रहेकाले नारायणहिटीमा बस्नका लागि सिफारिस उपलब्ध गराइदिन भनिएको छ । निवेदन मन्त्रालयमा छाडेर गए यता उनले हरेक दिन मन्त्रालयमा फोन गरेर नारायणहिटीमा बस्ने सिफारिस कहिले पाउँछु भन्दै सोध्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् । ‘उहाँ मन्त्रालयमा निवेदन बुझाउन आउँदा हामी नै अल्मलिएका थियौँ, उहाँको मानसिक अवस्था अनुसार हामीले सम्झाउने प्रयास गर्‍याै‌ं’, ती कर्मचारीले भने, ‘जति प्रयास गर्दा पनि उहाँलाई फिर्ता पठाउन नसकेपछि निवेदन मागेर अल्मल्याएका हौं ।’ चार महिना यता हरेक दिन जसो उनले मन्त्रालयमा फोन गरेर आफुले छाडेर गएको निवेदनको प्रक्रिया कहाँ पुग्यो भनेर सोध्ने गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयका कर्मचारीले बताए ।

मन्त्री किरातीको निर्णय : विवादित कार्यकर्तालाई नियुक्ती, १५ वर्षदेखि सेवा गरेका कर्मचारी आउट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले गत शनिबार आफ्नो फेसबुक एकाउन्टमार्फत् नियुक्ती तथा सुरुवा बढुवाका लागि शक्ति केन्द्रको सोर्स नलगाउन आग्रह गरे । ‘पुनः स्मरण गराउँदछु; सरुवा, बढुवा, नियुक्ति,पुनर्नियुक्ति गर्न गराउन मेरो परिवार नाता गोता र कुनै शक्ति केन्द्र बाट सोर्स लगाउने दुःख कष्ट कसैले नगर्नु होला, यदि गर्नु गराउनु भयो भने फेरि पनि एकपटक भन्छु त्यो काम हामी बाट हुनेछैन ’, उनले शनिबार फेसबुकमा स्टाटस राख्दै भनेका थिए । उनले आफू आफ्नो परिवार नातागोता तथा कुनै शक्ति केन्द्रबाट सोर्स नलगाउन भन्दै स्टाट्स राखे । तर, उनले स्टाटस राखेकोे एक दिन नबित्दै आइतबार उनै किरातीले लुम्बिनी विकास कोषमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका विवादास्पद व्यक्ति ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिए । उनले मन्त्रिपरिषद्बाटै निर्णय गराएर विवादास्पद छवि बनाएका लामालाई विश्वका शान्तिप्रेमीहरुको पवित्र केन्द्र मानिने लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनको नियुक्तीले अहिले सबैतिर चर्चासँगै किरातीको आलोचना समेत भएको छ । नेकपा माओवादी केन्द्रकै उच्च तहका नेता तथा जिम्मेवार कार्यकर्ताबाटै उनको नियुक्तीमा आलोचना भइरहेको छ । विवादास्पद व्यक्तिलाई क्याबिनेटको निर्णय गराएर जिम्मेवारी दिएका मन्त्री किरातीले नेपाल वायुसेवा निगममा १५ वर्षभन्दा बढी समय कार्यरत ५औं तहका करारका कर्मचारीको भने नवीकरण रोकेका छन् । उनले नेपालगन्जमा कार्यरत निगमका पूराना कर्मचारी रोहित यादवको करार नवीकरण नगरेको पाइएको छ । यादवले निगमको नेपालगञ्जमा रहेको पुरानो भवनलाई आवासका रुपमा उपभोग गर्दै आएका थिए । उनलाई सो भवनको उपयोग गर्न निगमकै जिम्मेवार व्यक्तिले लिखित रुपमै अनुमति दिएका थिए । तर, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उनले भवनको उपयोग गरेको चाल पाएपछि भवन छोड्ने शर्तमा करार नवीकरणको आश्वासन दिएका थिए । तर रोहित यादवले आफूलाई लिखित रुपमै अनुमति दिएको बताउँदै भवन छोड्न आनाकानी गर्दै आएका थिए । करारका कर्मचारीले भवन छोड्न आनाकानी गरेपछि अधिकारीले पर्यटनमन्त्री किरातीलाई उक्त कुराको जानकारी गराएका थिए । किरातीले स्टन्ड देखाउँदै उनको करार नै नवीकरण नगर्ने धम्की दिएका थिए । १५ वर्षभन्दा बढी समय काम गरेको स्थानमा मन्त्री किरातीले नवीकरण नगरेपछि यादवले आफूले सक्ने सोर्स फोर्स लगाए । उनले मन्त्री किरातीले आफूलाई अन्याय गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य मन्त्रीहरुलाई समेत गुनासो गरेका थिए । एउटा सामान्य कर्मचारीलाई अन्याय भएको अनुभूति भएपछि हामीले पनि मन्त्रीज्यूलाई नवीकरण गरिदिनुस भनेर आग्रह गरेका थियौं, तर उहाँले हुँदै हुँदैन भन्नुभयो’, मन्त्री किरातीको सचिवालयमा कार्यरत एक कर्मचारीले भने, ‘उहाँ केही समयअघिसम्म दिनहुँ मन्त्रालय आउनुहुन्थ्यो, गुनासो गर्नुहुन्थ्यो, उहाँलाई देख्दा माया लाग्छ ।’ के हो ल्यारक्याल लामाको विवाद ? लामा दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी तथा अकुत सम्पत्ति आर्जन र बैंकको लकरमा गोली राखेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री लामाको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा गोलि भेटिएको थियो । एक जना व्यक्तिले लकरमा पेस्तोलको गोलि राखेको सूचनाका आधारमा अख्तियारले गरेको अनुसन्धानले २०७२ को फागुनमा उनले लकरमा गोलि भेटाएको थियो । सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा रहेका लामा (धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ) लाई सरकारले ५ वर्षका लागि लुम्बिनी विकास कोषले उपाध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

तोक्पेगोलामा २ करोड लागतमा गुम्बा निर्माण

ताप्लेजुङ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन् । गुम्बा निर्माण लागत दुई करोड रुपैयाँ बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ रहेको छ । तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग सङ्कलन गरेर ४५ लाख पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनका अनुसार गुम्बा निर्माण गर्नका लागि एक जर्मनी नागरिक समेतले आठ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मिक्वाखोला गाउँपालिकाबाट २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ । गुम्बा निर्माणका लागि अनुमानित दुई करोड लागत भए पनि अहिले २५ लाख ऋण रहेको निर्माण शेर्पाले जानकारी दिए । निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च २५ लाख ऋण रहेको उनले बताए । गुम्बामा राखिने गौतमबुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ । आठ लाखका तीन वटा प्रतिमा, आठ लाख ५० हजार र पाँच लाख ५० हजारका एक एक गौतमबुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन् । अन्य आवश्यक पुस्तक र सामग्रीसमेत दाताबाट उपलब्ध भएको छ । समितिका अनुसार यसै आउँदो आर्थिक वर्षको साउनमा गुम्बाको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ । गुम्बा नियमित पूजापाठ, मन्त्र जब गर्नका लागि लामा व्यवस्थापन गर्नका लागि छुट्टै कोष स्थापना गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनले भने, ‘गुम्बामा लामा व्यवस्थापन गर्नका लागि देश विदेशमा बसोबास गर्ने दातासँग समन्वय भइरहेको छ । गाउँपालिकाले पनि सहयोग गर्दछ भन्नेमा विश्वास लिएका छौँ ।’ तोक्पेगोला क्षेत्रका स्थानीय गुम्बा निर्माण निकै महत्वपूर्णरुपमा लिएका छन् । तोक्पेगोला बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शितलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो । ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये तोक्पेगोला क्षेत्रको पनि ठूलो स्थान रहेको छ । तोक्पेगोला बस्ती नजिकै सोदु पोखरी रहेको छ । सोदु पोखरी एक धार्मिक महत्व बोकेको एक पोखरी हो । प्रत्येक वर्ष सोदु पोखरीमा पूजापाठ गर्न जाने धार्मिक पर्यटकको पनि सङ्ख्या बढ्दै गएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए । तोक्पेगाला बस्तीमा गुम्बा निर्माण हुनुलाई धार्मिक प्रतिष्ठाको रुपमा हेरिएको मिक्वाखोला –५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । गुम्बा निर्माण सम्पन्न गर्नका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ । गम्बामा धर्मग्रन्थ र विशिष्ट धर्म गुरुको भनाइअनुसार गुरु पध्मसम्भवलाई सझिने वा उनको मन्त्र उच्चारणमात्र गर्नाले पनि विघ्नबाधा हट्नुका साथै असिम पुण्य सञ्चय गर्न सकिने जनविश्वास छ । अझ उनको थाङ्का वा प्रतिमा नै स्थापना गर्न सकियो भने त्यसको प्रभवले समस्त प्राणिको उद्धार, पूर्वजन्मको कुकर्मको प्रायश्चित, मानव जीवन सुन्दर, विघ्न बाधारहित शान्तिमय हुने, विश्वमा शान्ति फैलिने र मोक्ष प्राप्त गर्न सकिने जनविश्वास रहिआएको छ । भौगोलिक/तिक दृष्टिकोणबाट पनि यस स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित गराउने उद्देश्यले गुम्बा स्थापना गरी निरन्तर रुपमा धर्मीक कार्य सञ्चालन गर्नुका साथै आवश्यक संरचना निर्माण गर्दै आइरहेको छ । रासस