उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण
काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्रणालीको योजना ल्याएको हो । निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको उपस्थितिमा प्राधिकरणकै उड्डायन तथा हवाई सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यलगायत विभागीय प्रमुखहरुको बैठकले उडान सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निष्कर्ष निकालेको छ । नागरिक उड्डयन नियमावली २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयमार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरियो गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय भएको छ । त्यस्तै आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका, २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेशन आवरको’ समय भन्दा अघिपछि विशेष गरी जुलाई, अगष्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरिएको छ । आन्तरिक विमानस्थलले ‘अपरेशन आवर’भित्र बसी अपरेशनसम्बन्धी कार्य मौसम चुस्त रुपमा गरेरनगरेको अनुगमन गर्ने कार्य आन्तरिक विमानस्थलले गर्ने जनाइएको छ । उल्लेखित निर्णय प्राधिकरणका महानिर्देशकबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइने प्राधिकरणको भनाइ छ । रासस
लुम्बिनी केबुलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल ५ अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन् । केबुलकारको अवलोकन भ्रमणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबुलकारले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । केबुलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई मात्र नभई भारतको उत्तर प्रदेशका पर्यटकलाई पनि आकर्षित गर्ने मुख्यमन्त्री चौधरीले बताए । उत्तर प्रदेशका पर्यटकलाई लुम्बिनी र केबुलकारसम्म भ्रमणका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग प्रदेश सरकारले नै वार्ता गरिरहेको उनले बताए । ‘लुम्बिनी आइसकेपछि पर्यटकलाई कहाँ जाने भन्ने ठूलो समस्या थियो, केबुलकार बनेपछि उहाँहरुलाई घुम्न र बस्न उत्कृष्ट गन्तव्य भएको छ,’ मुख्यमन्त्री चौधरीले भने । निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको लगानीबाट प्रतिफल प्राप्त गर्न पर्यटकीय पूर्वाधारको प्रवद्र्धन र बजारीकरणमा प्रदेश सरकार निजी क्षेत्रका साथमा रहेको उनको भनाइ छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममै बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने घोषणा गरिसकेको उल्लेख गर्दै उनले लुम्बिनीमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा छिट्टै अन्तर्राष्ट्रियस्तरको ‘लोरेट एन्ड लिडर’ कार्यक्रम गर्न लागेको बताए । सो अवसरमा लुम्बिनी केबुलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयसँगै भारत उत्तर प्रदेशका नागरिकलाई लक्षित गरेर १५० कोठा, क्यासिनो र १ हजार जना क्षमताको बैंक्वेट हलसहित पाँचतारे होटेलसमेत गरी ५ अर्ब रुपैयाँ केबुलकार परियोजनामा लगानी गरेको बताए । केबुलकारको टप स्टेसन पाल्पा वसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर नेपालीसँगै भारतीय हिन्दू धर्मावलम्बीहरुको आस्थाको ठूलो धरोहर र शक्तिपीठ भएकाले सञ्चालनको २ महिना नपुग्दै ४० प्रतिशत पर्यटकको हिस्सा भारतीयको भएको उनले बताए । केबुलकारको प्रत्येक टिकट शुल्कको दुई प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई छुट्याइएको अध्यक्ष ढकालले बताए ।
‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित, दैनिक १ हजार पर्यटक
चितवन । बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म पर्यटक रहेको अनुमान छ । तीमध्ये आधा विदेशी छन् । विदेशीमा पनि चिनियाँको सङ्ख्या बढ्दो छ । सौराहामा एक सय २५ होटल छन् । ती होटलको क्षमता ६ हजार दुई सय जनाको रहेको छ । क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो सङ्ख्याले व्यवसायीलाई उत्साहित बनाएको उहाँको भनाइ छ । यस बेला चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल वाकबाहेकका गतिविधि रोक्ने गरिन्छ । सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्दछन् । अहिले दैनिक एक सय जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए । यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन् । कोभिडपछि पहिलोपटक चिनियाँ आएकाले हात्ती सफारीमा उनीहरुको ध्यान बढी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो सङ्ख्यालाई राम्रो मान्छन् । कतिपय होटलमा कार्यक्रम चलिरहेका छन् । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढिरहेका छन्, ‘उनले भने, ‘विगतको बर्सातको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्या राम्रो छ ।’ चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमश: पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्कनेमा उनी विश्वस्त छन् । होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताए । ‘संकेत राम्रो छ । अबका दिनमा पक्कै पनि पर्यटकको माहोल राम्रो बन्छ,’ उनले भने । विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उनको बुझाइ रहेको छ । यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्दछन् । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन भित्रने अधिकांश पर्यटकको रोजाइ सौराहा हुने गर्दछ । पछिल्ला वर्षहरुमा खर्चिला पर्यटक पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा जान रुचाउने गरेका छन् । भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीको छ । रासस