आन्तरिक पर्यटकको गन्तव्यमा टोखाको वौडेश्वर झरना
काठमाडौं । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको हो । शनिबार बिहानैदेखि लागेको वौडेश्वर मेलामा हजारौँ भक्तजनले मेला अवलोकन गरेको वडा नं १ का वडाध्यक्ष रमेश लामिछानेले जानकारी दिए । पछिल्लो समय टोखा नगरपालिका–१ वौडेश्वर झरना तथा मन्दिरमा आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । वौडेश्वर मन्दिर क्षेत्रको विकासका लागि टोखा नगरपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको छ । वौडेश्वर संरक्षण समितिले वौडेश्वर मन्दिर तथा झरनामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि मन्दिरसम्म जाने सिँढी निर्माण गर्ने, भक्तजनलाई सहज दर्शनको व्यवस्थाको वातावरण बनाउनेलगायतको काम गरिरहेको छ । टोखामा वौडेश्वरसहित सपनतीर्थ, चण्डेश्वरीलगायतका महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक महत्त्वका मठमन्दिर रहेका छन् भने टोखा बजारमा नेवार समुदायले विभिन्न जात्रा मनाउँदै आएका छन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको सांस्कृतिक संरक्षणका लागि हरेक आर्थिक वर्षमा बजेटसमेत विनियोजन गर्दै आइरहेको जानकारी दिए ।
अन्नपूर्ण पदमार्गमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, ६ महिनामा भित्रिए दोब्बर
काठमाडौं । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे ६ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् । कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो पदमार्गमा सन् २०२३ को जुलाई १८ (साउन २ गते) सम्म १९ हजार पाँच सय ६२ पर्यटक पदयात्राका लागि आएका हुन् । सोमध्ये एक हजार चार सय २१ जना सार्क राष्ट्रका रहेका छन् भने अन्य पर्यटक जापान, चीन, युरोप, अमेरिका र कोरियका रहेका छन् । यो सङ्ख्या सन् २०२२ को तुलनामा झन्डै दोब्बर हो । सन् २०२२ को पहिलो छ महिनामा झन्डै ११ हजार जनाले पदयात्रा गरेका थिए । सन् २०२२ को वर्षमा कूल २४ हजार पाँच सय ४२ जना पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप विरेठाँटी चेकपोष्ट इञ्चार्ज याम गुरुङले जानकारी दिए । गुरुङले अगस्टपछि सुरु हुने अर्को याममा पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान रहेको बताउनुभयो । यस वर्ष ४० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि सुरु हुने यो पदमार्ग विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्दछ । कोभिड सङ्क्रमणपछि यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या उल्लेख्यमात्रामा वृद्धि भएको गुरुङले बताए । “सन् २०२० र २०२१ मा नगण्यमात्रामा पर्यटक आए पनि सन् २०२२ को सेप्टेम्बरदेखि पर्यटक आवागमनमा सुधार हुँदै आएको थियो”, गुरुङले भने, “सन् २०२१ मा पर्यटकको सङ्ख्या ह्वात्तै बढेर आएको छ ।” उनका अनुसार अहिले भने ‘अफसिजन’ भएका कारण दैनिक १० देखि २० जनासम्म ‘इन्ट्री’ भइरहेका छन् । असार महिनाअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान जस्तै बनेको उनले बताए । यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घोरेपानी–मस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण राउन्ड पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । वीरेठाँटीमा दर्ता भएर पदयात्रा सुरु गर्ने सबै पर्यटक थोराङ भञ्ज्याङ पास भने गर्दैनन् । मुस्ताङको मुक्तिनाथभन्दा माथि पुग्दा लेक लाग्ने, बिरामी पर्ने जस्ता समस्याले अधिकांश पर्यटक अन्नपूर्ण बेसक्याम्पबाटै फर्किने गरेका छन् । यो क्षेत्रमा पर्यटकले सातदेखि नौ दिनसम्म बिताउने गरेको गुरुङले बताए । अहिले भने बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका इञ्चार्ज गुरुङले जानकारी दिए । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटकहरू आउने गर्दछन् । रासस
‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’लाई गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन थालिएको छ । पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आकर्षक संरचना निर्माण गरिँदै छ । ऐनापहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गामा हात्तीको मूर्ति कुँद्ने काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए । प्राकृतिकरुपमा रहेका सो क्षेत्रका ढुङ्गा तथा पहरालाई कुँदेर विभिन्न देवीदेवताका आकर्षक मूर्ति निर्माण गर्ने योजना छ । उद्यान निर्माणको जिम्मा श्री शुभ साहिल कन्ट्रक्सन आँबुखैरेनीले पाएको छ । उक्त क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड १३ लाख बजेट विनियोजन गरी काम अघि बढाएको मगरले बताए । ‘दसैँदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्यानको ६० प्रतिशतभन्दा बढी संरचना निर्माण गरिएको छ’, उनले भने । त्यसैगरी ढुङ्गा तथा पहरामा खोपेर मूर्ति बनाउन थालिएको छ । उद्यान निर्माण उपभोक्ता समितिमार्फत ७९ लाख रुपैयाँको लागतमा काम अघि बढाइएको इन्जिनियर मगरले बताए । उद्यानको प्रवेशद्वारमा विभिन्न मूर्ति बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी उक्त उद्यानसम्म बाटो, प्रवेशद्वार, शौचालय, उद्यानलगायत संरचना निर्माण भइरहेका छन् । ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ आकर्षक उद्यान निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकाले तयार पारेको गुरुयोजनाअनुसार उक्त झरनालाई व्यवस्थित बनाउन रु दश करोड खर्च लाग्ने अनुमान गरिएको छ । उक्त स्थानमा सिसाको भ्युप्वाइन्ट निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । रासस