कोरोनापछि होटेल व्यवसायमा उछाल : ८ अर्ब पुँजी, एक वर्षमै डेढ अर्ब नाफा

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले थला परेको होटेलक्षेत्र अहिले भने आक्रामक रुपमा अगाडि बढेको छ । लामो समय कोरोनाको सकस भोगेको यो क्षेत्रको नाफमा गत वर्ष २०७९/८० मा भने उछाल देखिएको हो । गत वर्ष होटेल क्षेत्रको नाफा झण्डै २ सय प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को सुरुमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा होटल व्यवसाय खस्किएको थियो । तर, वर्षको अन्त्यतिर आउँदा होटेल क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । गत वैशाख, जेठ र असारमा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा सुधार आई पर्यटकीय गतिविधि बढेकाले होटेल क्षेत्रको व्यावसाय उल्लेख्य बढेको होटेल व्यवसायीहरुले बताएका छन् । पूँजी बजारमा विभिन्न ६ वटा होटलहरु सूचीकृत छन् । जसमध्ये अधिकांश होटेलको व्यवसायमा उल्लेख्य बढेको देखिन्छ । गत असारसम्म होटेलहरुले झण्डै डेढ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार गत वर्ष होटेल कम्पनीहरुले १९२.६८ प्रतिशत नाफा बढाएर १ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेका हुन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा गरेका थिए । हालै आईपीओ जारी गरेको सिटी होटेलबाहेक अन्य सबै होटेलले नाफा गरेका छन् । गत असारसम्म सिटी होटेल २७ करोड ३६ लाख ३६ हजार रुपैयाँ नोक्सानीमा छ । सो होटेल अघिल्लो वर्ष पनि ४ करोड ४६ लाख ८२ हजार रुपैयाँ ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष झनै नोक्सानी बढेको देखिन्छ । तर, अघिल्लो वर्ष नोक्सानीमा रहेको ओरियन्टेल होटलले गत वर्ष भने १७ करोड ८४ लाख ३० हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष ओरियन्टेल होटल २ करोड ४६ लाख १ हजार रुपैयाँ नोक्सानीमा थियो । पर्यटकहरुको आवागमनमा उच्च वृद्धि भएसँग होटेलले पनि नाफा गर्न सफल भएको हो । गत वैशाख, जेठ र असार तीन महिनाको अवधिमा होटेल तथा पर्यटन क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार आएकाले पर्यटकीय गतिविधिमा अभिवृद्धि भएकोले होटेलको व्यावसायिक गतिविधि तथा क्रियाकलापहरुमा उल्लेख्य वृद्धि भएको देखिन्छ । गत वर्ष सबैभन्दा बढी नाफा बढाउने होटेलको सूचीमा कालिन्चोक दर्शन छ । कालिन्चोक दर्शनले अघिल्लो वर्षको तुलनामा गत वर्ष २१३६ प्रतिशत खुद नाफा बढाएको छ । गत असारसम्म कालिन्चोक दर्शनले ३३ करोड १९ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष १ करोड ४८ लाख ४० हजार रुपैयाँ मात्रै गरेको थियो । यस्तै, चन्द्रागिरी हिल्सको खुद नाफा ७९६.४१ प्रतिशत बढेर १५ करोड ११ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो । यस्तै, तारागाउँ रिजेन्सीको १ सय प्रतिशत बढेर ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ५ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो । यस्तै, सोल्टी होटेलको ८३ प्रतिशत बढेर ५४ करोड ५१ लाख ५४ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ७२ लाख ४३ हजार रुपैयाँ नाफा गरेको थियो । गत असारसम्म कूल ८ लाख ५६ हजार ३६० पर्यटक नेपाल आएको तथ्याङ्क छ । जसकारण नेपालको पर्यटन तथा होटल क्षेत्रको कारोबार फस्टाएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष होटल क्षेत्रमा ब्यापक चलायमान भएको देखिन्छ । गत वर्ष सूचीकृत ६ वटै होटलहरुको सञ्चालनमा आम्दानी ७४.४९ प्रतिशत बढेर ६ अर्ब १८ करोड ८९ लाख रुपैयाँ गरेका छन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको मात्रै आम्दानी गरेका थिए । गत वर्ष सोल्टी होटेलको सञ्चालन आम्दानी ६४.२७ प्रतिशत बढेर २ अर्ब २४ करोड रुपैयाँ, तारागाउँको ९९.७० प्रतिशत बढेर १ अर्ब ३८ करोड रुपैयाँ र ओरियण्टेलको ९१.८५ प्रतिशत बढेर १ अर्ब ९ करोड रुपैयाँ गरेका छन् । यस्तै, चन्द्रागिरीको ३६.५३ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ, सिटी होटलको १५०.१२ प्रतिशत बढेर ४७ करोड ३१ लाख रुपैयाँ र कालिन्चोकको ३३.८२ प्रतिशत बढेर ७ करोड ५९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । सूचीकृत होटेल कम्पनीहरुको चुक्ता पूँजी पौने ८ अर्ब मात्रै छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ४.४६ प्रतिशत बढेर ७ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । अघिल्लो वर्ष होटल कम्पनीहरुको चुक्ता पूँजी ७ अर्ब ३७ करोड रुपैयाँ थियो । चुक्ता पूँजीका आधारमा सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको छ । गत असारसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यस्तै, सिटी होटलको ११.११ प्रतिशत बढेर १ अर्ब ६७ करोड रुपैयाँ, चन्द्रागिरी हिल्सको १ अर्ब ५३ करोड रुपैयाँ र ओरियण्टेल होटल्सको १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस्तै, सोल्टी होटलको ८८ करोड ४७ लाख रुपैयाँ र कालिन्चोक दर्शनको ६० करोड रुपैयाँ पूँजी रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) होटेल कम्पनीहरुको नाफा बढेसँग प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेकाे छ । गत असारसम्म अधिकांश कम्पनीको ईपीएस नाफामा छ । जसमध्ये तारागाउँ रिजेन्सीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २०.२८ रुपैयाँ छ । यस्तै, अघिल्लो वर्ष २.१८ रुपैयाँ ऋणात्मक रहेको ओरियन्टलको गत असारसम्म १५.८२ रुपैयाँ नाफामा छ । त्यस्तै, चन्द्रागिरी हिल्सको ९.८५ रुपैयाँ, सोल्टी होटेलको ६.१६ रुपैयाँ र कालिन्चोक दर्शनको ५.९६ रुपैयाँ ईपीएस पुगेको छ । सिटी होटेलको ईपीएस भने १६.३५ रुपैयाँ नोक्सानीमा छ ।

हवाई सुरक्षा सुरक्षित र भरपर्दो बनाइनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौं । मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको ४ दिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गरिने छ । कार्यक्रमको सोमबार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हवाई उडानलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्थापन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन सबै संयन्त्र सक्रिय रहेको बताए । हवाई उडान मुलुकको अर्थतन्त्रसँग मात्रै नभई ‘कनेक्टिभिटी’ को उपयुक्त माध्यम भएकाले यसको अल्पकालीन र दीर्घकालीन सुधारको काममा यस्ता अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गरे । सहसचिव लामिछानेले हवाई सेवा प्रदायकको क्षमता अभिवृद्धि, सहकार्यलाई थप सुदृढ बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका चाहिने उल्लेख गरे । उनले हवाई दुर्घटनाको सम्भावित जोखिम न्यूनीकरणका लागि प्राविधिक पक्ष मात्र नभई व्यवस्थापकीय पाटो, दक्ष जनशक्ति र संस्थाभित्र स्वस्थ वातावरणको आवश्यकता अपरिहार्य भएको खाँचो औँल्याए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक प्रेमनाथ ठाकुरले हवाई उडानलाई सुरक्षित र गुणस्तरीय बनाउन प्राधिकरणले नीतिगत र संरचनागत सुधारका प्रयास गरिरहेको उल्लेख गरे । उपमहानिर्देशक ठाकुरका अनुसार हवाई सुरक्षा प्रणालीको सुधार र सुरक्षित उडानलाई लक्षित गर्दै प्राधिकरणले मौसम पूर्वानुमान महाशाखासँग सहकार्य गरेर मौसम पूर्वानुमानसम्बन्धी छुुट्टै ‘अब्जरभेसन’ गरिरहेको छ । पर्यटकीय सिजनलाई मध्यनजर गर्दै छिट्टै लुक्ला विमानस्थलको मौसमी गतिविधिको जानकारी लिन ‘इन रुटमा’ क्यामेराजडानलगायत उपकरणको व्यवस्था गरेर उडानलाई सुरक्षित बनाउन लागिएको उनले जानकारी दिए । उनले भने, “इन रुट वेदरको वास्तविक अवस्था के छ र आगामी २/३ दिनको अवस्था कस्तो रहनेछ भनेर सम्पूर्ण इन रुट वेदरको मौसमी जानकारी लिनेगरी काम अगाडि बढाइएको छ । मुख्य पर्यटकीय गन्तव्यमा उडान हुने विमानस्थलमा यो प्रणाली विस्तार गर्दै लगिने योजना रहेको छ ।” यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले हवाई सेवा सुरक्षा अभिवृद्धिका लागि नियामक र अपरेटरबीचको समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । कार्यक्रममा दुई दिन ‘ह्युमन फ्याक्टर’ र दुई दिन ‘एभिएसन सेफ्टी म्यानेजमेन्ट सिस्टम’ को बारेमा प्रशिक्षण दिइने सङ्घका महासचिव मनोज कार्कीले जानकारी दिए । स्वदेशी तथा विदेशी हवाई विज्ञहरूको प्रशिक्षण रहने कार्यक्रममा विभिन्न एयरलाइन्सका उडानसँग सम्बन्धित कर्मचारीको सहभागिता रहेको छ ।

मकवानपुरगढीमा अन्तरिक पर्यटकको घुइँचो

बागमती । वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै गढीको ऐतिहासिकता अवलोकन गर्नेको सङ्ख्या मध्यबर्खामा पनि दैनिक पाँच सयदेखि हजारकै हाराहारीमा रहेको छ । गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकहरुका कारण पनि गढीमा चहलपहल रहिरहेको गढीमा चटपटे पसल चलाइरहेकी मकवानपुरगढी–२ की सीता तिमल्सिना बताउँछिन् । आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न सङ्घसस्था, वित्तीय संस्थाहरु, सहकारी, विभिन्न स्थानीय तहलगायत सङ्घसंस्थाहरुबाट सामूहिक भ्रमणमा आउने आगन्तुकहरुको सङ्ख्या उल्लेख्य पाइएको बताएको छ । विसं १००० तिरै तुला सेन नाम गरेका पहिलो सेन वंशी राजाले निर्माण गरेको मानिने मकवानपुर गढी  ११ औँ शताब्दीको भव्य संरचनामध्येको एक मानिन्छ । तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ । सेनहरु मकवानपुरबाट पश्चिततर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ्ग सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे । पृथ्वीनाराण शाहले कब्जा गर्नु अघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकारहरु बताउँछन् । लोहाङ्ग सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्रहरु, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ । विशाल मकवानपुर राज्यको दुई सय नौ वर्षसम्म राजधानी रहेको मकवानपुरगढीको दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चललपहल निकै नै हुने गरेको छ । विगतमा हिउँदयाममा प्रशस्त पर्यटकहरु आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन् । गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको मकवानपुरगढी–२ का स्थानीयबासी बाबुलाल तितुङ बताउँछन् । उनका अनुसार ललितपुर, काठमाडौं, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटकहरु आउने गरेका छन् । पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरुको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरे बताउँछन् । हेटौंडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराज पथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सिधा आउन चाहनेहरुले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्दछ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गग कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटकहरु पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुरासले ढपक्कै हुने ढुङ्गे गढीसमेत पर्यटकले भरिन थालेका छन् । प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुङ्गेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउँछन् । मुसलमानी आक्रमणबाट बँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ठ प्रमाण पुग्दैन । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शीलालेखहरुमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावली अनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ । रासस