सिजन सुरु नहुँदै बुकिङको चटारोले पर्यटन व्यवसायी उत्साहित, ८० प्रतिशत अकुपेन्सीको अपेक्षा

काठमाडौं । पर्यटन व्यवसायी राममणि रिजाललाई अहिले ट्रेकिङको लागि विदेशीले गरेका बुकिङ लिन भ्याइनभ्याइ छ । गत वर्ष सोचे अनुसारको बुकिङ नआएर चिन्तित भएका उनी अहिले भने उत्साहित छन् । ‘गत वर्ष सिजनमै न्यून संख्यामा मात्रै बुकिङ आएको थियो, कोभिड महामारीका कारण बुकिङ आएन भनेर चित्त बुझाएको थिएँ, तर अहिले सिजन सुरु नहुँदै धेरै बुकिङ आउँदा गत वर्षको तनाब भुलेको छु’, रिजालले भने । आउटडोर हिमालयन ट्रेकर्सका सञ्चालक रहेका रिजालकोसँग विशेषगरी पोल्याण्डका नागरिक ट्रेकिङका लागि सम्पर्कमा आउँछन् । ‘मेरो कम्पनीमा आउने ८० प्रतिशतभन्दा बढी नागरिक पोल्यान्डका हुन्छन्, बाँकी २० प्रतिशत अमेरिका, क्यानडा लगायतका हुन्छन्’, उनले भने, ‘पोल्यान्डसँगै हाल अमेरिका, अष्ट्रेलिया लगायत देशका नागरिकले समेत चासो देखाउन थालेका छन् ।’ उनको कम्पनी मार्फत गत वर्षको सिजनमा २ सयको हाराहारीमा विदेशीहरु नेपाल आएका थिए, तर हाल सिजन सुरु हुनु अगाडी नै ३ सयभन्दा बढीको बुकिङ भैसकेको छ । ‘गत वर्ष ट्राभल्स र ट्रेक्सका लागि थोरै संख्यामा विदेशीहरुले इच्छा देखाएका थिए, तर अहिले सिजन सुरु हुनु भन्दा अगाडि नै धेरै बुकिङ आइसकेको छ’, उनले भने । पर्यटन तथा होटल व्यवसायीहरु सेप्टेम्बर सुरु भएसँगै नेपालमा पर्यटकीय सिजन सुरु भएको बताउँछन् । उनीहरूले वर्षभरिमा हुने कारोबारभन्दा सेप्टेम्बर, अक्टुबर र नोभेम्बरका तीन महिनामा बढी कारोबार हुने बताउने गरेका छन् । ८० प्रतिशत अकुपेन्सीको अपेक्षा  नेपालमा पर्यटकीय सिजन सुरु हुन लागेसँगै होटलमा बुकिङहरु आउन थालेका छन् । ट्रेकिङ र ट्राभल्सको सिजन सुरु हुन लागेसँगै काठमाडौं लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा बुकिङ आउन थालेको हो । होटल एसोसिएसन अफ नेपाल (हान)ले होटलमा बुकिङ आउन सुरु भएको बताएको छ । हानका महासचिव साजन शाक्य होटलहरुमा बुकिङ बढ्न थालेको बताउँछन् । उनले वर्षभरीमा भन्दा सेप्टेम्बर दोस्रो सातादेखि डिसेम्बरसम्म सबैभन्दा धेरै पर्यटक आउने भन्दै होटलको अकुपेन्सी बढ्ने बताए । ‘सेप्टेम्बर मिडदेखि सिजन सुरू हुन्छ, विस्तारै बुकिङ आउन थालेको छ, अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिना वर्षकै धेरै पर्यटन आउने सिजन हो’, उनले भने । उनले काठमाडौं लगायत पर्यटकीय स्थलका होटलमा बुकिङ आउन थालेको भन्दै तीन महिनाको अबधिमा होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको बताए । ‘ट्राभल, ट्रेकको सिजन हो, अहिले ट्रेकिङ तथा ट्राभल्सका लागि नेपाल आउने पर्यटकहरुले होटलहरु बुक गर्न थाालिसके’, उनले भने, ‘विस्तारै सिजन सुरु हुन लागेको छ, तीन महिनाको अबधिमा ८० प्रतिशतसम्म होटल बुक हुने हाम्रो अनुमान हो ।’ उनले अहिले ३५ प्रतिशत हाराहारीमा होटल अकुपेन्सी रहेको बताए । कोभिडपछि पर्यटक आगमनमा सुधार आए पनि कोभिड अघिका वर्षमा जस्तो होटलको अकुपेन्सी छैन । उनले कोरोना संक्रमणभन्दा अघिसम्म सिजनमा होटल अकुपेन्सी फूल हुने गरेकोमा पछिल्लो समय बढ्न सकेको छैन् । ‘कोरोना अघिको तुलनामा अहिले झन्डै दोब्बरको संख्यामा होटल छन् । नयाँ होटलहरु थपिदा पूर्ण रुपमा सञ्चालनमा ल्याउनै सकिएको छैन’, उनले भने । विमानस्थल पूर्ण सञ्चालनमा नआउँदा विदेशी ल्याउन सकिएन ।’ हानका अध्यक्ष विनायक शाह होटल व्यवासायीहरु पूर्ण रुपमा तयार भएर पर्यटकको स्वागतका लागि तम्तयार रहेको बताउँछन् । व्यवसायीहरु तयारी अवस्थामा रहे पनि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्नु तथा बाटाघाटाहरु अवरुद्ध हुँदा पर्यटक आगमनमा कमी आउनसक्ने शंका व्यवसायीमा रहेको बताउँछन् । उनले सञ्चालनमा आएका नयाँ दुई विमानस्थल सञ्चालन गर्न नसक्दा नेपाल आउन खोज्ने विदेशीलाई समेत ल्याउन नसकिएको गुनासो गरे । ‘होटलमा बुकिङ आउन थालेको छ्, तर पर्यटकलाई कसरी ल्याउने, भएका एयरपोर्ट सञ्चालनमा आउन सकेको छैन, बाटोको समस्या झन बढ्दो छ’, शाहले भने । नेपालको पूर्वाधारकै कारण होटलहरु एक तिहाइ क्षमतामा पनि सञ्चालन हुन नसकेको भन्दै उनले नेपालमा पर्यटक भित्र्याउन कुनै सिजन नै आवश्यक नपर्ने उनले बताए । ‘नेपाल फर अल सिजन, होटलमा कुनै सिजन आवश्यक पर्दैन, हाम्रो पूर्वाधारकै कारण हामीलाई समस्या भैरहेको छ’, उनले भने । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा डिलक्ससहितका पाँचतारे होटलको संख्या १७३ पुगेको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष प्रदीप पण्डित ट्राभल्स र ट्रेक्सका विदेशीहरु नेपाल आउने योजनामा रहेको बताए । ‘अहिले धेरै देशका पर्यटकले नेपाल आउनका लागि बुकिङ गरिसकेका छन्, गत वर्षको तुलनामा सिजन सुरु हुनु अगाडि नै बुकिङ आउन थालिसक्यो’, उनले भने । उनले डिसेम्बरसम्म १० लाख पर्यटक नेपाल भित्रने अनुमान गरिएको भन्दै नेपालको पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्कन थालेको बताए । विदेशीको गुनासो : एयर फेयर महङ्गो टानका उपाध्यक्ष पण्डित विदेशी पर्यटकले नेपालको एयर फेयर मँहगो भएको गुनासो गर्न थालेको बताउँछन् । ‘सरकारले बजेट मार्फत आन्तरिक हवाई टिकमा १३ प्रतिशत भ्याट लागू गरेको छ, टिकटमा भ्याट लागू भएपछि विदेशीहरुले उडान महँगो भयो भनेर गुनासो गर्न थालेका छन्’, उनले भने । यस्तै, उनले नेपाल नागरिक उडड्यन प्राधिकरणले लुक्का उडान रामेछाप सारेपछि विदेशी पर्यटकलाई असहज हुने गरेको गुनासो गरे । ‘सिजनको समयमा क्यानले लुक्लाको उडान रामेछापको मन्थली विमानस्थलबाट गर्न अनुमति दिन्छ, रामेछापमा पर्यटकका लागि सुविधा नभएपछि काठमाडौंबाट रातारात लैजानुपर्ने बाध्यता छ’ उनले भने । उनले रामेछापमा पर्यटक लक्षित पूर्वाधार तयार नहुँदा काठमाडौंमा बसेका विदेशीलाई रातको १ बजे नै उठाएर विमानस्थल लैजानुपर्ने बाध्यता रहेको बताए ।

प्राधिकरणले ल्यायो ३६ अर्ब ६६ करोड बराबरको बजेट

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार बसेको क्यान बोर्ड सञ्चालकको बैठकले चालू आर्थिक वर्षको बजेट पास गरेको हो । बोर्ड सञ्चालक समितिले पास गरेको बजेट गत आर्थिक वर्षभन्दा कम हो । प्राधिकरणले गत आर्थिक वर्ष ४१ अर्ब ६५ करोड बराबरको बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस वर्षको बजेट ५ अर्ब १९ करोडले घटेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हाल निर्माण सम्पन्न भएकाले बजेट घटेको बताए । ‘अघिल्लो वर्ष भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणधिन अवस्थामा थिए, अहिले दुई विमानस्थल निर्माण सम्पन्न भएकाले बजेट घटेको हो’, उनले भने । प्राधिकरणले चालु आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड रुपैयाँ आफ्नै आम्दानी र ६ अर्ब ६४ करोड रुपैयाँ ऋण वा सेयरबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख गरेको छ । यस्तै, प्राधिकरणसँग बैंकमा मौज्दात रहेको ६ अर्ब ६४ करोड, सरकारबाट पाउनु पर्ने मूल्य अभिबृद्धि करवापत् २ अर्ब ३४ करोड र साउन १ को पेश्कीबापतको मौज्दात ४ अर्ब ८५ करोड रुपैयाँ गरी ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ चालु वर्षको स्रोत भनेको छ । यस्तै, प्राधिकरणले पुँजीगत खर्च तर्फ १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी सम्बन्धी खर्चमा २ अर्ब ११ करोड ७१ लाख, कर्मचारी अवकाश भुक्तानीमा ५३ करोड ३० लाख र अन्य कार्य सञ्चालन खर्च तर्फ ४ अर्ब ३४ करोड ७१ लाख गरी २६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खर्च गर्ने उल्लेख गरेको छ । मुअक कर भुक्तानीमा ८२ करोड १८ लाख, कर्मचारी अवकाश कोष तथा अन्य भुक्तानीका लागि २० करोड ३० लाख, नेपाल सरकारलाई लाभाशं भुक्तानीमा २९ करोड ९२ लाख, नेपाल सरकारको ऋणको साँवा २ अर्ब ९३ करोड ६७ लाख, सरकारको ऋणकोे व्याज भुक्तानीमा १ अर्ब ७१ करोड, कर्मचारीलाई बोनसवापत ५ करोड ८९ लाख वितरण गर्ने उल्लेख छ । वायुयान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड, आयकर व्यवस्थामा २ अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा १ अर्ब ६३ करोड गरी ३६ अर्ब ६६ करोड २ लाख उपयोग (व्यय) तर्फ विनियोजन गरेको छ । प्रवक्ता निरौलाले बजेटका उद्देश्यहरु नागरिक उडड्यनको विकास तथा विस्थार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान, हवाई सञ्चार प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने रहेको जानकारी दिए । यस्तै, अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुमा थप पूर्वाधारको विकास, विस्तार तथा स्तरोन्तति गर्ने, आय वृद्धि तथा वित्तीय अनुशासन कायम गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको सहयोग, समन्वय तथा सहकार्यलाई निरन्तरता दिने तथा मानव संशाधनको विकास गर्ने मुख्य उद्देश्य रहेको जनाईएको छ । प्राधिकरणले उडड्यन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास तथा विमानस्थल सञ्चालन, अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य, यात्रु सेवा सुविधामा अभिवृद्धि, आयवृद्धि तथा आर्थिक अनुशासन र मानव संशाधन विकास मुख्य लाई बजेटमा प्राथमिकतामा राखिएको जनाएको छ ।

आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोंचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडीसम्म व्यवस्थित थिएन ।  तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्धेश्य राखिएको छ । गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस ठाउँमा सबैको ध्यान खिचेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम सुरु गरेको थियो । ढुङ्गामा आकृति देखिन थालेपछि अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटकहरु सवारी साधन रोकेर पुग्ने गरेका छन् । गाउँपालिकाले ढुङ्गामा खोपेको आकृतिले धेरैको ध्यान खिचेको स्थानीय मनोजकुमार श्रेष्ठले बताए । स्थानीय विजय गुरुङले राजमार्ग नजिकै भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताए । सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । उनले भने, ‘गत माघदेखि यहाँका ढुङ्गामा आकृति बनाउने काम भइरहेको छ । आकृति लगभग अन्तिम चरणमा पुगेको छ । यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्यो ।’ ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्धेश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडी बढाइएको हो । पृथ्वीराजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रबद्र्धनमा जुटेको हो । यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडी बढाइएको चुमानको भनाइ छ । ऐनापहरामा पार्क निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । ‘ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौ,’ चुमानले भने, ‘सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।’ पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐना पहरा झरना विकास भइरहेको छ । काठमाडौ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारणहरु सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् । गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडी सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । तनहुँकै अग्लो महाभारत पर्वत श्रृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार दश करोड रूपैयाँ  बजेट आवश्यक पर्छ । डिपीआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ । रासस