आठ महिनामा भित्रिए ६ लाख पर्यटक
काठमाडौं । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन् । पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताउनुभयो । उनले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पु¥याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार छ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
पृथ्वीबाट गिद्ध लोप भइसकेको भन्दै संरक्षणमा लाग्न सरोकारवालाको जोड
नवलपुर । मानवीय गतिविधिका कारण प्रकृतिबाट गिद्ध लोप हुँदै गएको विषयप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जथाभावी विषादी प्रयोग गर्दा पृथ्वीबाट करिब ९१ प्रतिशत गिद्ध लोप भइसकेको भन्दै यिनीहरुको संरक्षण गर्नुपर्नेमा बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीले बताए । ‘नब्बे प्रतिशत गिद्ध हामीबाट लोप भइसकेको भन्ने तथ्याङ्क सार्वजनिक भइरहेको छ’, गिरीले भने, ‘हामीले गिद्धलाई बचाउनुपर्छ, हामीलाई आवश्यकता छ, गिद्धका कारण प्रकृति स्वच्छ भएको हुन्छ ।’ मानवीय दृष्टिकोणबाट गिद्धलाई नराम्रो प्रजातिको रुपमा हेर्ने गरिएको भन्दै गिरीले गिद्धले मानवीय जीवनमा धेरै विषय सहज बनाइदिएको बताए । ‘गिद्ध कुल्चिकार र फोहरमैला सफा गर्ने मात्रै भन्दा पनि प्राकृतिमा हुने दूषित कुरालाई गिद्धले नियन्त्रण गरिरहेको हुन्छ’, उनले भने, ‘वातावरणबाट गिद्धमात्रै नभएर अन्य जीव पनि मानवीय गतिविधिका कारण विस्तारै लोप हुने अवस्थामा पुगेका छन्, अब हामी सचेत हुनुपर्छ ।’ चार दशक अगाडिसम्म गिद्धलाई सहजै देख्न पाइने गरेको भन्दै गिरीले अहिले गिद्ध सीमित ठाउँमा मात्रै देखा पर्ने बताए । ‘मानिसले जथाभावी प्रयोग गर्ने विषादीका कारण गिद्धहरु लोप हुँदै गइरहेका छन्’, उनले भने, ‘डाइक्लोफिन्याक औषधि मानव र घरपालुवा जन्तुलाई प्रयोग गरिने कारण यसको असरले गिद्ध लोप भइरहेका हुन् ।’ गिद्ध प्रजनन केन्द्र तथा गिद्ध संरक्षणका लागि खोलिएका रेष्टुराँका कारण अहिले गिद्ध संरक्षित भइरहेका भन्दै गिरीले गिद्ध सबै ठाउँमा पाउने गरी संरक्षणको काम हुनुपर्ने बताए । अहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पिठौलीमा जटायु रेष्टुराँ खोलेर गिद्ध संरक्षणको काम भइरहेको छ । जटायु रेष्टुराँ वरिपरी गिद्धको उपस्थिति राम्रो तथा प्रकृतिमा गुँड लगाएर प्रजनन गर्ने गरेको देखिएको संरक्षणकर्मी डीबी चौधरीले बताए । केही समयअघि पिठौलीनजिकै कावासोतीमा सिनो खाएर मरेको स्याल खाएका कारण गिद्ध मरेका थिए । समुदायलाई वातावरण स्वच्छ र सफा राख्न प्रेरित गर्दै डाइक्लोफिन्याकजस्ता औषधिको हानिबारे बुझाउन सकेमा गिद्ध संरक्षण गर्न सकिने चौधरीले बताए । गिद्धसँग अन्य पन्क्षी संरक्षण गर्नका लागि हानिकारक विषादीको प्रतिबन्ध लगाउनुपर्ने संरक्षणकर्मी चौधरीको भनाइ छ । लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले संरक्षणकर्मीको पहलमा गिद्ध संरक्षणलाई सप्ताहव्यापी कार्यक्रम गर्दै थालिएको हो । आजदेखि सुरु भएको गिद्ध संरक्षण सप्ताहको कार्यक्रम उद्घाटन गर्दै चितवन निकुञ्ज पूर्वी सेक्टरका प्रमुख शान्तबहादुर मगरले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुस्किल रहे पनि जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त राना मगरले वातावरण संरक्षणको हिसाबले गिद्ध अति आवश्यक पन्क्षी भएकाले संरक्षणमा एकजुट हुनुपर्ने बताए । गिद्ध अन्य वन्यजन्तु र चराचुरुङ्गीसरह नै महत्वपूर्ण पक्षी रहेकाले संरक्षण सरकारी तथा गैरसरकारी संस्था र समुदाय गम्भीर हुनुपर्ने अवस्था आएको मगरले बताए । गिद्ध संरक्षण सप्ताहको उद्घाटनको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहासागैको राप्ती ड्याकमा सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रमा संरक्षणकर्मी, नेचर गाइड, नेपाल प्रहरी, नेपाली सेना तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । रासस
पाहुनाको पर्खाइमा बाँकेका होमस्टे
बाँके । वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् । वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका-८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आएकी शोभी थारूले बताइन् । ‘अरु बेला त राम्रै भीडभाड हुन्छ तर वर्षायामको दुई महिना जति पाहुना नआउँदा सुनसान हुने गरेको छ,’ उनले भनिन्, ‘अहिले त पाहुना नआएका कारण सुनसानजस्तै छ, पाहुनाको पर्खाइमा बसेका छौं ।’ नेपालगन्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको हो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रबाट सिजनमा पाहुनाको राम्रो चहलपहल हुने गर्छ । होमस्टेनजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार रहे पनि अहिले आन्तरिक पर्यटकको चहलपहल ठप्प रहेको नयाँगाउँ होमस्टेका अध्यक्ष मंगल थारूले बताए । बैजनाथ गाउँपालिकामा रहेको जिल्लाकै चर्चित गाभर भ्याली होमस्टेमा पनि यतिबेला पाहुनाको चहलपहल छैन । वर्षातका कारण अहिले व्यवसाय ठप्पजस्तै रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । होमस्टे व्यवसायले थारू महिलाको चेतना धेरै माथि उठेको छ । आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउने, गाउँबाट अन्यत्र नजाने उनीहरू अहिले होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसलाई चिन्ने मौका पाएको चौधरीको भनाइ छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । समुदायमा स्वरोजगार तथा रोजगारको सिर्जना गर्दै आएको सामुदायिक होमस्टेमा पाहुनाको चहलपहल कम भएपछि सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । जिल्लाभरिका होमस्टेमा वार्षिक एक करोड बढी आम्दानी हुने गरेको चौधरीले जानकारी दिए । ‘अहिले त होमस्टे सुनसान छ, आएका पाहुनालाई खाने बसाउने गरेका छौं,’ बैजनाथको च्यामास्थित घरबास सञ्चालक गणेश चौधरीले भने, ‘हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, खर्च धान्न पनि मुस्किल भएको छ ।’ विसं २०७० मा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए । रासस