निगम जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिए । ’दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ’, उनले भने । निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मन्त्रालयको नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताए । बैठकमा समिति सभापति राजकिशोर यादवले मन्त्रालयको नीतिगत सुधार र सामूहिक पहलकदमीका लागि मन्त्रलाईलाई समितिले भरपुर सहयोग गर्ने विश्वास दिलाए ।  समितिको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ब्रिफिङ लिएको हो । मन्त्रालयका सचिव भरतमणि सुवेदीले मन्त्रालयको कार्य प्रगतिबारे प्रस्तुति दिएका थिए । विमानस्थल सञ्चालन किन नगरेको ? : सांसद आजको बैठकमा सांसदहरुले मुलुकमा विमानस्थलको प्रभावकारी सञ्चालन गर्न मन्त्रालय र मातहत निकायको ध्यानाकर्षण गराएका छन् । बैठकमा समिति सदस्यले दबाबका भरमा विमानस्थल निर्माण गर्ने प्रवृत्ति बन्द गर्न र भएका विमानस्थलको व्यावसायिक प्रयोजनमा ल्याउन सुझाव दिए । अर्बौं खर्चेर बनाइएका हवाई पूर्वाधारको प्रभावकारी सञ्चालन नहुँदा मुलुकलाई आर्थिकरुपमा भार बढिरहेको उनीहरुको भनाइ थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाउन पनि सांसदहरुले माग गरेका छन् । सांसद डा धवलशम्शेर जङ्गबहादुर राणाले विमानस्थल बने पनि प्रभावकारी सञ्चालन हुन नसकेको बताए । उनले हवाई पूर्वाधारमा गरिएको लगानीको प्रतिफल कहिले प्राप्त गर्ने भनी प्रश्न गरे । सांसद राणाले नेपाललाई हवाई रुट दिनेबारे भारतसँग भइरहेको पछिल्लो प्रगतिबारे जानकारी गराउन पनि माग गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मुलुकभर हाल ५५ वटा विमानस्थल छन् । तीमध्ये ३४ वटा सञ्चालनमा छन् भने २१ वटा विमानस्थल बन्द छन् । त्यसैगरी दुई वटा विमानस्थल निर्माणाधीन छन् । सांसद उदयशम्शेर जङ्गबहादुर राणाले आन्तरिक विमानस्थलको क्षमता अभिवृद्धिका लागि टर्मिनल भवनलगायतका पूर्वाधार निर्माणमा अर्बौं रकम खर्च भएको भन्दै ती विमानस्थलको दिगो व्यवस्थापनको योजना अभाव रहेको उल्लेख गरे । उनले विराटनगर, भरतपुर, नेपालगञ्जलगायत विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि ठूलो रकम खर्च भएको भन्दै अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आवश्यकता र औचित्यताका आधारमामात्रै विमानस्थलको स्तरोन्नत्ति गर्न आग्रह गरे । सांसद एकनाथ ढकालले नेपालमा विदेशी पर्यटक आगमन बढाउन मन्त्रालयले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने खाँचो औँल्याए । उनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सुधार गरी निगमको सेवालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराए । सांसद शिशिर खनालले भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर विभिन्न गन्तव्यको उडान असुरक्षित र आर्थिकरुपमा महँगो भएको बताए । उनले नेपालको हवाईमार्गबारे भारतसँग भएको प्रगतिबारे जानकारी गराउन पर्यटन मन्त्रीलाई आग्रह गरे । सांसद सुनिता बरालले दुर्गम क्षेत्रको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराए । सांसद प्रभु साहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रगतिबारे समितिलाई अवगत गराउन माग गरे । बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै पर्यटनमन्त्री सुदन किरातीले विमानस्थल निर्माण भए पनि सबै विमानस्थल प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको स्वीकार गरे । उनले दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा आन्तरिक विमानस्थलको भरपूर सदुपयोगका लागि पहल भइरहेको उल्लेख गरे । ’कतिपय विषय निकै गम्भीर छन् । हवाई संरचना (विमानस्थल) बनाउने अनि हवाई जहाज नउडाउने’, पर्यटनमन्त्री किरातीले भने, ’अहिले पनि २२ वटा विमानस्थलमा उडान भएको छैन त्यहाँ खर्बौ बजेट लगानी भएको छ । बनिसकेका विमानस्थलको प्रभावकारी सञ्चालनका लागि मन्त्रालय योजनाबद्धरुपमा अघि बढेको छ ।’ उनले विसं २०३५ को ऐनलाई संशोधन र परिमार्जन गरी समयसापेक्ष नयाँ ऐन ल्याउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए । पर्यटनमन्त्री किरातीले पर्यटनलाई अर्थतन्त्रको आधार मानिए पनि यो राज्यको प्राथमिकतामा नपरेको गुनासो गरे ।

अवरुद्ध ताप्लेजुङ–काठमाडौं उडान सुचारु

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी र्दिए । लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ । यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि नौ हजार छ सय ५३ थियो भने हाल घटाएर आठ हजार छ सय रुपैयाँ कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर आठ हजार चार सय रुपैयाँमा झारिएको छ । मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ । रासस

४५ वर्षमा ४० जना पर्यटन मन्त्री फेरिए, निजी स्वार्थले वायुसेवा निगम धरासायी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व छिटोछिटो परिवर्तन हुँदा नेपाल वायुसेवा निगम धरासायी भएको प्रारम्भिक निश्कर्ष अध्ययन कार्यदलले निकालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले केही समयअघि योजना आयोगका पूर्व अध्यक्ष एवं पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा नेपाल वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी सुझाव पेस गर्न पाँच सदस्यीय अध्ययन समिति गठन गरेका थिए । उक्त समितिमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने सदस्य रहेका छन् । क्षेत्री नेतृत्वको कार्यदलले तालुक निकायको नेतृत्व परिवर्तनको असर वायुसेवा निगममा परेको प्रारम्भिक निश्कर्ष निकालेको हो । ४५ वर्षको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व ४० पटक फेरिएको तथ्यांक अध्ययन समितिले तयार पारेको छ । ‘वि.स. २०३४ सालपछि २०७९ सालसम्म ४५ वर्षको अवधिमा ४० जना पर्यटन मन्त्री बन्नुभएछ । मन्त्री परिवर्तन भएसँगै उसको पहिलो नजर नेपाल वायुसेवा निगममा पर्ने र मन्त्रीको दबाब र प्रभावका कारण नियमले कामै गर्न नसक्ने अवस्था हुने रहेछ’, अध्ययन समितिका एक सदस्यले भने । मन्त्रीले निगममा आफु अनुकुलको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक नियुक्ति गर्ने र त्यसैबाट फाइदा लिने उद्देश्य राख्दा नियम थिलथिलो बन्ने गरेको अध्ययनको क्रममा पाइएको ती सदस्यले बताए । बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयपछि यसअघिका मन्त्रीहरूले वायु सेवा निगम बिगारेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । मन्त्रीले कार्यकारी अध्यक्ष र महाप्रबन्धक नियुक्ति गर्दा ठूलो रकम बुझ्ने र ती जिम्मेवारीमा लगिएका व्यक्तिले पनि त्यसरी बुझाएको रकम असुल्न लाग्ने हुँदा निगम दिनदिनै धरासायी बनेको आफुले पाएको मन्त्री किरातीले बताएका थिए । सरकार अथवा पर्यटन मन्त्रालयको नेतृत्व परिवर्तन हुनासाथ उनीहरु निकट व्यक्तिहरु वायुसेवा निगमको नेतृत्वमा नियुक्ति लिनका लागि ब्रिफकेस नै लिएर धाउने गरेको चर्चा बेलाबखत हुने गरेको छ । कतिपय अवस्थामा राजनीतिक र आर्थिक प्रभावका कारण वायुसेवा सम्बन्धी सामान्य ज्ञानसमेत नभएको व्यक्तिलाई नेतृत्वमा थोपरी दिँदा निगमको प्राकृतिक प्रगतिमा समेत अवरोध सिर्जना भएको तथ्य अध्ययन समितिले प्रतिवेदनमा समावेश गर्न लागेको ती सदस्यले बताएका छन् । ४५ वर्षको अवधिमा दुई जना मन्त्रीको कार्यकाल १५ देखि १९ दिनको रहेको पाइएको उनले बताए । यस्तैगरी, १० प्रतिशत मन्त्रीहरुले ६ महिना र अधिकांश मन्त्रीहरूले एक वर्षको अवधि पर्यटन मन्त्रालयमा विताएको पाइएको उनले बताए । निगमले पर्याप्त अभिभावकत्व नपाएको कारण उल्लेख्य प्रगति गर्न नसकेको तथ्य प्रतिवेदनमा उल्लेख गर्न लागिएको छ । ‘निगम पूर्णरूपमा सरकारी स्वामित्वमा सञ्चालित संस्था हो, तर निगमले आवश्यक पर्दा अभिभावकत्व नपाएको पाइयो’, ती सदस्यले भने । २१ वर्षमा ८ वटा कार्यदल गठन वायुसेवा निगमको सुधारका लागि भनेर २१ वर्षमा आठ वटा कार्यदल बनेको छ । पूर्व गभर्नर क्षेत्रीको संयोजकत्वमा गठन भएको आठौं कार्यदल हो । २०५८ माघ २२ गते सरकारले पहिलो पटक पूर्व सचिव दामोदरप्रसाद गौतमको अध्यक्षतामा वायुसेवा निगमको अध्ययन कार्यदल गठन गरेको थियो । त्यसपछि सरकारले निगम सुधारका लागि आएका सुझाव समेत समेटेर कार्ययोजना बनाउन २०५९ सालमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. शंकर शर्माको संयोजकत्वमा उच्चस्तरीय कार्ययोजना समिति गठन गरेको थियो । डा. शर्मा नेतृत्वको समितिले २४ भदौ २०५९ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझायो । तेस्रो कार्यदलका रूपमा २०६२ सालको भदौ २६ गते केदारलाल जोशी, २०६६ सालमा तत्कालीन पर्यटन मन्त्रालयका सहसचिव मुरारीबहादुर कार्कीको अध्यक्षतामा कार्यदल गठन गरिएको थियो । उक्त समितिले २०६७ को जेठ १२ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराइले २०७६ साउनमा निगम सुधारका लागि अध्ययन समिति गठन गरे । उनले पूर्वसचिव सुशील घिमिरेको अध्यक्षतामा त्यस्तो अध्ययन समिति बनाएका थिए । मन्त्रालयको नेतृत्वमा आउनसाथ निगम सुधारका ठूला कुरा गर्ने, कार्यदल बनाउने तर, त्यसको उपलब्धी भने नहुने हुँदै आएको छ । अध्ययन समिति र कार्यदलले बनाएका सबै प्रतिवेदन मन्त्रालयमा थन्किएका छन् । ती प्रतिवेदनमा थुप्रिएको धुलो टकटक्याएर सुझाव कार्यन्वयन गर्ने आँट र पहल कुनै पनि मन्त्रीले गरेका छैनन् । बरु, आफु निकटमा व्यक्तिहरुलाई खुसी पार्न कार्यदल गठन गर्दै जागिर दिने प्रवृत्ति यथावत छ । ‘पर्यटन मन्त्रीक नियुक्त भएसँगै निगम सुधारका प्रचारवाजी हुन्छन् । कार्यदल बन्छन् तर, उपलब्धी हुँदैन’, अहिलेको अध्ययन समितिका एक अधिकारीले भने, ‘पहिला गठन भएका कार्यदलले दिएका सुझाव अनुसार काम भएको भए २०५८ सालमै गठन भएको कार्यदल पर्याप्त थियो ।’ क्षेत्रीको संयोजकत्वमा अध्ययन समितिलाई तीन महिनाको समय दिइएको थियो । समितिले पाएको समय सकिइसकेको छ । तर, काम भने नसकिएको उनीहरुले बताएका छन् । ‘हामीलाई ३ महिनाको समय दिइएको थियो, तोकिएको समय सकियो, म्याद थप नगरी काम सक्ने तयारीमा छौँ’, उनले भने, ‘समय थप्दा सरकारी दायित्व बढ्छ, दायित्व बढ्न नदिने भनेर अबको १० दिनभित्र प्रतिवेदन तयार गरेर बुझाउने प्रयासमा छौं’, ती सदस्यले भने ।