पर्यटक भित्राउन नयाँ जुक्ति, म्यान्माले नेपालसहित ४ देशलाई बिना भिषा प्रवेश दिने
काठमाडौं । म्यान्माले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेको छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल, बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । यो कदमको उद्देश्य म्यान्मा र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु हो । म्यान्मा र यी देशहरूबीच पारस्परिक भिसा सम्झौताको एक भागको रूपमा यो निर्णय आएको छ, जसले कूटनीतिज्ञहरू र विशेष पासपोर्ट धारकहरूलाई ३० देखि ९० दिनसम्म देशमा बस्न अनुमति दिन्छ । नयाँ थपिएका चार मुलुकबाहेक बङ्गलादेश, ब्राजिल, चीन, कोलम्बिया, भारत, दक्षिण कोरिया, उत्तर कोरिया, मङ्गोलिया, रूस, सर्बिया, श्रीलङ्का र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (सार्क)का सदस्य राष्ट्रहरू म्यानमाबाट भिसा छुटका लागि योग्य छन् । होटल तथा पर्यटन मन्त्रालयका उपस्थायी सचिव यु ह्ला मिन्तले भिसारहित प्रवेश र आगमनमा भिसालगायतका कदमले देशमा पर्यटकको आगमन बढाउन मद्दत पुग्ने बताए । पर्यटन मन्त्रालयका अनुसार सन् २०२३ को पहिलो आठ महिनामा म्यान्मामा सात लाख ५१ हजार २१६ विदेशी पर्यटक भित्रिएका बताइएको छ ।
अब पशुपतिनाथको बसपार्कमा निःशुल्क पार्किङ गर्न पाइने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपतिनाथको बसपार्कमा अर्को निर्णय नहुने बेलासम्म निःशुल्क पार्किङ गर्न पाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री किराँतीले बसपार्कको व्यवस्थापन गरिरहेको पक्षले कानूनको गम्भीर उल्लंघन गरेकोले सम्झौता रद्द गरिएको भन्दै सो निर्णयको जानकारी गराएका हुन् । ‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानूनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ, अर्को प्रक्रिया पुरा नहुँदा सम्म पार्किङ्ग निःशुल्क गरिएको जानकारी गराइन्छ’, मन्त्री किराँतीले लेखेका छन् ।
पोखराका लागि यतीको रात्रि उडान शुरु
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यती एअरलाईन्सले आज बाट लागुहुनेगरी रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ । पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनी यती ले आज बाट लागू हुने गरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नँ एनवाईटि ६८३ र पोखरा बाट साँझ ६:२० बजे उडान नँ एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारि दिए । ‘हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार हालको समय भन्दा पछाडी उडान संख्या थप हुँदै जानेछ’, उनले भने । आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।