आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो । अरुण डाँडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यसले गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । “हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”, उनले भने, ‘अरुण डाँडालाई बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा यसको विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागि परेका छौँ ।” अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमशृङ्खलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पूजाआजा गर्नका लागि पर्यटक आउने उनको भनाइ छ । “अरुण डाँडाको छुटै धार्मिक महत्व छ, यो स्थान घुम्न आउने मानिसको लागि आनन्ददायक छ । मानिस आफ्नो भाकल पूरा गर्नको लागि पूजाआजा तथा दर्शनको लागि पनि आउने गरेका छन्,” उनले भने । अरुण डाँडाको विकासको लागि योजनाबद्ध रुपमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । यो ठाउँको थप प्रचारप्रसारको लागि विभिन्न समयमा गाउँपालिकाले मेला महोत्सवसमेत लगाउँदै आएको उनको भनाइ छ । “अरुण डाँडाको विकाससँगै यसको प्रचार÷प्रसारमा जुटेका छौँ, हामीले यहाँको आवश्यक विकासका लागि काम गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइरहेको छ । यसलाई देश विदेशमा चिनाउन विभिन्न समयमा मेला महोत्सव पनि सञ्चालन गरिरहेका छौँ,” उनले भने । पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको समेत विस्तार भइरहेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । मानिस प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि पनि अरुण डाँडा क्षेत्रमा आउने गरेको स्थानीयवासी लालबहादुर तामाङले बताए । सदरमुकामबाट नजिकको दूरीमा पर्ने भएको अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । त्यस्तै भोजपुर–लेगुवा मध्य पहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता रहेको उनको भनाइ छ । “गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेपछि पर्यटकको सङ्ख्या बढेको छ, यो ठाउँमा बिदाको समयमा पर्यटक धेरै आउँछन् । यो स्थान धेरै पर्यटकको रोजाइमा पर्ने स्थल बनेको छ,” उनले भने । वडा नं १ श्यामशिलामा पर्ने यो स्थानमा पर्यटकलाई लक्षित गरेर किवी खेतीकोसमेत विस्तार भइरहेको उहाँको भनाइ छ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा लिइने गरिन्छ ।रासस

सगरमाथाको ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८ हजार ९४८.८६ मिटर)बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताएका हुन् । विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताए । उनले भने, “हामीले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्छौँ तर, यसका लागि कस्तो नीति बनाएका छौँ भन्ने कुरातिर ध्यान दिन सकेका छैनौँ । त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि विभिन्न योजना बनाइरहेका छौँ । जसअन्तर्गत सगरमाथाको आठ हजार मिटरमाथिको उचाइबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागू हुन्छ ।” पर्यटनमन्त्री किरातीले नेपालको ऐन कानून र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरूले चुनौती सिर्जना गरेको बताए । उनले भने, “सरकार जादुको छडी त होइन, तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्छ । लयबद्धरूपमा काम गर्दै जाने हो, उसमा सोच र सही दृष्टिकोण छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।” सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको उनले बताए । उनले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति भने नभएको बताए । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन्दर मुलुकलाई पर्यटन प्रवर्द्धकका रूपमा लिन सक्यौँ भने ठूलो योेगदान गर्न सकिने बताए । उनले छिमेकी मुलुक भारत र चीनबाट मात्रै पर्यटक ल्याउन सकिए पर्यटन विकासलाई सार्थक बनाउन सकिने धारणा राखे । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले ‘मुलुकको समृद्धिका लागि पर्यटनः हिमाल, पर्यटन, जलवायु परिवर्तन र महिला’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हिमालमा जोखिम बढेकाले समयमै पूर्वतयारी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले जोखिमको अवस्थामा रहेका हिमतालको पानी निकास गरेर जलविद्युत् उत्पादन गरी जोखिम कम गर्न सकिने बताए । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पर्यटन विशेषज्ञ डा अनुकुमारी लामाले ‘हिन्दूकुश हिमालय क्षेत्रमा पर्यटनः यस क्षेत्रको समृद्धिका लागि विशिष्ट अवसर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन क्षेत्रबाट समृद्धि लागि रणनीतिक योजनाहरू आवश्यक भएको बताए । साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताए । उनले भने, “एकातिर पर्यटन क्षेत्रमा निकै पूर्वाधार निर्माण गर्नुछ भने अर्कोतिर भएका पूर्वाधार जोगाउने चुनौती छ । साथै अबका पूर्वाधार जलवायु परिवर्तनमैत्री बनाउनु छ ।”

जहाज खरिद पारदर्शी हुने पर्यटनमन्त्रीको दाबी

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । आज ४४औं विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताए । मन्त्री किरातीले भने, ‘जहाज खरिदका विषयमा नकारात्मक टिप्पणी भइरहे पनि हामी पारदर्शीपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइन्छ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।’ निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै तीन थान ट्विनअटर जहाज खरिद गर्न लागेको छ । निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन् । पर्यटनमा नीतिगत सुधार अपरिहार्य पर्यटनमन्त्री सुदन किरातीले विकाससम्बन्धी नीतिलाई संशोधन गरी संस्कृति र प्रकृतिमैत्री बनाउन जरुरी रहेको बताए । उनले नेपालको प्राकृतिक, भौगोलिक विविधता, हिमशृङ्खला, संस्कृति र सभ्यता विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै यसबाट लाभ लिनसक्ने गरी ऐन तथा कानून संशोधन आवश्यक भएको बताए । पर्यटनमन्त्री किरातीले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रले गति लिने चरणमा रहेको भन्दै आगामी वर्ष लक्ष्ययअनुसार पर्यटक आगमन हुनेमा विश्वास व्यक्त गरे । ‘पर्यटन क्षेत्रबाट मुलुकले ठूलो आर्थिक लाभ लिन सक्छ, तर पनि कतिपय विषय हाम्रा प्राथमिकतामा छैनन्’, उनले भने, ‘हामीले पर्यटक ल्याउने मात्रै नभइ उनीहरुको बसाइ लम्ब्याउनमा पनि ध्यान दिनुपर्छ ।’ उनले यसका लागि संस्कृति, प्रकृति र साहसिक क्षेत्रलाई आधार बनाएर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे । सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुलुकको पर्यटन विकासका लागि नेपालको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटनसँग जोडर लैजानुपर्ने धारणा राखिन् । राष्ट्रिय एकतालाई बलियो बनाउन पनि विविध संस्कृति र सम्पदाको जगेर्ना गर्न जरुरी रहेको उनको भनाइ छ । ‘पर्यावरणमैत्री पर्यटन विकासमार्फत मुलुकको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्छ । दिगो पर्यटन विकासका लागि नेपालको प्रकृति, संस्कृति, सम्पदा, पर्यावरण, परम्परा, भाषा, जातजातिको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने आवश्यकता छ’, उनले भनिन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बोर्डले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने, नयाँ गन्तव्यको अध्ययन र खोज गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिरहेको बताए । उनले पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा पर्यटन क्षेत्रमार्फत सबैभन्दा धेरै विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो । सोही अवसरमा पर्यटनमन्त्री किरातीले ललितपुर महानगरपालिकाले महानगरपभित्रको पर्यटकीय क्षेत्रलाई समेटेर तयार गरेको नक्शा सार्वजनिक गरे । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले ‘पर्यटन र हरित लगानी’ नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका छन् । दिवसका अवसरमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गरेका थिए । यस्तै ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि आयोजना गरिएको छ । संस्था र व्यक्ति सम्मानित सरकारले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने सेभेन समिट ट्रेक्स प्रालि, सिता वल्र्ड ट्राभल प्रालि, एभरेष्ट हस्पिटालिटी एन्ड होटल तथा रिसोर्ट, पोखरा अष्ट्रालाई प्रालि छन् । साथै, नेपाल वायुसेवा निगम, कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट, नवलपरासीको अमलटारी होमस्टे पनि सम्मानित भएका छन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पालाई पन सो अवसरमा सम्मान गरिएको छ । रासस