ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली
बागलुङ । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ । सिकार खेल्न भने नेपालीको आर्थिक पहुँच नपुग्ने गरेको पाइन्छ । विश्वका धनाढ्य सिकारी हेलिकप्टरमार्फत ढोरपाटन पुगेर लाखौँ राजस्व तिरेर सिकार खेल्ने गरेका छन् । सिकारका लागि विदेशी पर्यटक मात्रै आउने ढोरपाटन क्षेत्रमा घुम्नका लागि भने नेपाली पर्यटक आउने गरेका छन् । एक वर्षमा सात हजार छ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । त्यसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक रहेको र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । उक्त तथ्याङ्कका आधारमा समेत ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नकै लागि मात्र विदेशी पर्यटक आउने गरेका छन् भने नेपाली पर्यटक भने ढोरपाटन अवलोकनका लागि आउने गरेको पाइन्छ । पछिल्लो चार वर्षयता पर्यटकको सङ्ख्यासँगै राजस्वमा समेत वृद्धि भएको पाइन्छ । अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा भने ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा केही कमी आएको तथ्याङ्कले देखाउँछ । नेपालकै एकमात्र सिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको सन्दर्भमा आर्थिक वर्ष २०७९/८० मा भने स्वदेशी र विदेशी पर्यटक गरी जम्मा सात हजार छ सय ४५ पर्यटक त्यहाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । उक्त पर्यटकको सङ्ख्या आव २०७८/७९ को तुलनामा दुई हजार दुई सय २४ जनाले कमी आएको ढोरपाटन सिकार आरक्ष कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७८/७९ मा नौ हजार नौ सय १९ पर्यटक ढोरपाटन पुगेका थिए । ढोरपाटन घुम्न आउने पर्यटकमा कमी नभए पनि गत वर्षको जनैपूर्णिमा मेलामा ढोरबराह दर्शनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी आएका कारण तथ्याङ्कमा घटेको देखिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । ‘ढोरबराह मन्दिरमा ठूलो जनैपूर्णिमा मेला लाग्ने गर्दछ, गतवर्ष मौसमी प्रतिकुलताका कारण त्यहाँ आउने धार्मिक पर्यटक घटेका थिए, त्यसैले तथ्याङ्कमा घटेको देखिन्छ, तर ढोरपाटन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि नै भएको पाइन्छ’, थापा मगरले भने, ‘चालु आर्थिक वर्षमा १० हजार पर्यटक आउने अनुमान गरिएको छ, यस वर्षको जनैपूर्णिमा मेला भर्नका लागि आउने धार्मिक पर्यटकको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।’ उनका अनुसार ढोरपाटन उपत्यकामा आन्तरिक पर्यटक घुम्न आउने र विदेशी पर्यटक सिकार खेल्नका लागि आउने गरेका छन् । उनका अनुसार सोझै हेलिकोप्टरमार्फत विदेशी सिकारी पर्यटकमात्रै ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचार–प्रसारसँगै आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोपाटनमा सिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । नाउर र झारलको वैधानिक सिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटक लाखौँ खर्च गरेर सिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकले सिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । मनोरम ढोरपाटन उपत्यकालाई चिरेर बगेको उत्तरगङ्गा, हरियाली र फुलैफूलको फाँटले त्यहाँ पुगेका पर्यटकलाई आकर्षण गरेको पाइन्छ । ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् । पुस–माघको बाक्लो हिमपात र साउन–भदौमा भारी वर्षा हुँदाबाहेक अघिपछि पर्यटकको आगमन भइरहने गरेको स्थानीय पर्यटन व्यवसायी श्यामलाल घिमिरेले बताए । ढोरपाट सिकार आरक्ष क्षेत्रमा आव २०७७/७८ देखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकको समेत रेकर्ड राख्न थालिएको छ । उक्त तथ्याङ्कमा ढोरपाटन पुग्ने स्थानीयको भने रेकर्ड हुँदैन । ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले मात्रै शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७/७८ देखि आन्तरिक पर्यटकले समेत रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ । आन्तरिक पर्यटकले प्रवेश शुल्क तिर्न थालेपछि आरक्षको आम्दानीमा समेत वृद्धि भएको छ । आव २०७९/८० मा मात्रै आन्तरिक र बाह्य पर्यटकबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व सङ्कलन गरिएको छ । ढोरपाटन प्रवेश गर्न सार्क राष्ट्रका पर्यटकले रु एक हजार पाँच सय र अन्य विदेशी पर्यटकले रु तीन हजार शुल्क तिर्नुपर्ने प्रावधान आरक्षले बनाएको छ । सिकार आरक्षले आव २०७९/८० मा पर्यटक प्रवेश शुल्क, वन पैदावर, हेलिकप्टर अवतरण शुल्क र दण्ड जरिवानासहित १९ लाख ६२ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । सिकार आरक्षमा २०४४ सालबाटै विदेशी पर्यटक आउन थालेका थिए तर आन्तरिक पर्यटक भने सञ्चार र सडकको पहुँचपछि मात्रै पुग्न थालेका हुन् । ढोरपाटनमा होटल सुविधामा समेत वृद्धि हुँदै आएको छ । विशेषगरी ढोरपाटनमा असोज, कात्तिक, मङ्सिर, चैत, वैशाख र जेठमा बढी पर्यटक आउने गर्दछन् । बागलुङ, म्याग्दी र पूर्वीरुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ साना–ठूला होटल तथा घरबास सञ्चालनमा आएका छन् । ढोरपाटनमा पहिलो याम असोजदेखि मङ्सिर र दोस्रो याम फागुनदेखि वैशाखमा सिकार खेल्न अनुमति दिइन्छ । रासस
नेपाल वायुसेवा निगम चार अर्ब ऋण तिर्न सफल भएको छ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल युरोपेली संघ (ईयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री किराँतीले ईयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे ‘अडिट’ गरेर गएकाले सुरक्षा सूचीबाट हट्नेमा विश्वास व्यक्त गरे । ‘नेपालको हवाई क्षेत्र ईयूको सुरक्षा सूचीबाट चाँडै हट्नेछ । सेप्टेम्बर ११ देखि १५ सम्म ईयूको टोलीले अडिट गरेर गएको छ । प्राधिकरण विभाजनसम्बन्धी विधेयक पनि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमतिसहित मन्त्रिपरिषदमा गएको छ,’ पर्यटनमन्त्रीले भने । ईयूको प्राविधिक टोलीले ‘अनसाइड अडिट’ गरेर गएको प्राधिकरणले जनाएको छ । ईयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो । नेपालले हवाई सुरक्षा दरमा वृद्धि गरेकाले ईयूको कालोसूचीबाट हट्ने मन्त्री किराँतीको विश्वास छ । पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सञ्चालन नाफामा रहेकाले चार अर्ब ऋण तिर्न सफल भएको उल्लेख गरे । उनले निगमको ग्राउन्डेड वाई-१२ जहाज चलाउन पनि नसकिने र भाडामा लगाउन पनि समस्या रहेको तथा जहाज पार्किङ शुल्क र बीमाको रकम तिर्नुपर्ने समस्या रहेको भन्दै यो व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गरे । समितिका सभापति राजकिशोर यादवले निगमको विद्यमान कमजोर अवस्थालाई सुधार गर्न समितिले ताकेता गर्नुपर्ने खाँचो औंल्याए । उनले समितिले उपसमिति बनाएर निगमलाई कमजोर अवस्थामा पुर्याउनेको पहिचान गरी निगमको दीर्घकालीन हितका लागि उपयुक्त काम गर्नुपर्ने बताए । उक्त विषयमा समितिले आवश्यक परेमा छानबिन र अध्ययन गर्नुपर्ने उनको भनाइ छ । बैठकमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।
म्याग्दीको जङ्गलमा भेटियो ‘रेडपाण्डा’
म्याग्दी । म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा भेटिएको जानकारी दिए । उनले भने, ‘हामीलाई लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डाको वासस्थान थियो भन्ने पहिला पनि जानकारी आएको थियो, भौतिक रुपमा देखिएपछि पुष्टि भयो, रेडपाण्डा संरक्षणको कार्यक्रम , चोरी शिकारी नियन्त्रण , जनचेतनाको वृद्धिले रेडपाण्डा देखिएको हो ।’ म्याग्दीमा यसअघि दुर्लभ वन्यजन्तुु रेडपाण्डाको देखिएको थिएन । रेडपाण्डाको वासस्थानसम्बन्धी अनुसन्धान गर्दै आएका बद्री बरालले म्याग्दीको भूगोलमा पहिलो पटक रेडपाण्डा भेटिएको जानकारी दिए । ‘हामीले सात वर्षअघि सर्वेक्षण र अनुसन्धानको क्रममा जलजला नजिकैको मरेनी क्षेत्रमा रेडपाण्डाको दिसा भेटाएको आधारमा म्याग्दीमा यसको वासस्थान रहेको पुष्टि भएको थियो’, उनले भने, ‘सुवास थापाले जललला क्षेत्रको जङ्गलमा खिचेको दृष्यले यस क्षेत्रमा रेडपाण्डाको बसोबास रहेको हाम्रो अनुसन्धानको प्रतिवेदनलाई थप पुष्ट्याइ गरेको गरेको छ ।’ लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब दुई मिनेट नौ सेकेण्डको भिडियोमा देखिन्छ । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । अनुसन्धानकर्ता बद्री बरालले लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखेका थिएनन् । रेडपाण्डाका वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयवासीसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि चोरी निकासी कम भए पनि देखिएका थिएनन् । गुर्जा र लुलाङको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताए । ‘रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौँ’, उनले भने, ‘रेडपाण्डाको अनुसन्धानका लागि गन्तव्य बनाउने अवसर पनि हो ।’ रेडपाण्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई पाँचलाखदेखि दशलाख जरीवाना , पाँचदेखि पन्ध्रवर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र रेडपाण्डाको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा रहेको छ । नेपालको २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ । रासस