भोजपुरमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै
भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, साँस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, सम्वर्द्धन एवम् प्रवर्द्धन गरेर हतुवागढीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । ‘हतुवागढी आफैँमा एक ऐतिहासिक गाउँ हो’, उनले भने, ‘यहाँ धेरै ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदा छन् । यी क्षेत्रको विकास गरेर पर्यटक भित्राउने आधार र सम्भवनाको खोजी गरिरहेका छौँ ।’ उनका अनुसार किरात राजाहरुले राज्य गरेको गढीमा रहेका भग्नावशेष दरबारको मर्मत गर्ने पालिकाको पहिलो योजना रहेको छ । गढीको नामबाट गाउँपालिकाको नाम राखिएकाले यसको संरक्षण तथा विकास गरेर इतिहासको खोजी गरी गढी र दरबारलाई अध्ययनयोग्य विषयको रुपमा विकास गर्न सकिने अध्यक्ष राईको भनाइ थियो । नेपाली सेनाले ऐतिहासिक गढीको संरक्षण र प्रवर्द्धनको लागि एक गढीबाट अर्को गढी जोड्ने पदमार्ग निर्माणको योजना अगाडि बढाएको भन्दै उनले यसले हतुवागढीको पर्यटन विकासमा टेवा पुग्ने बताए । यहाँको ऐतिहासिक तथा पुरातात्विक गढी र दरबार क्षेत्रको पुनःनिर्माण गरी यसको प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार भइसकेको गाउँपालिकाले जनाएको छ । हतुवागढीबाट धरान, ईटहरी, विराटनगरका साथै तराईका विभिन्न जिल्लामा सहजै पुग्न सकिने भएकाले पर्यटकको आवगमन बढ्ने अध्यक्ष राईले बताए । हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमालका साथै तराईका फाँटको अवलोकन गर्न सकिने उनको भनाइ थियो । ‘हाम्रो पालिका तराईका ठूला शहरबाट नजिकै रहेको छ’ उनले भने, ‘त्यसैले यहाँ पर्यटनको धेरै राम्रो सम्भवना छ ।’ पालिकाको दक्षिण पूर्वीभागमा अरुण र दूधकोशी नदीमा बोटिङ भइरहेकाले यसबाट पनि पर्यटक भित्र्याउन सकिने अध्यक्ष राईले बताए । ‘सप्तकोशीमा चतराघाटदेखी हतुवागढीको हलेदेसम्म आएको पानीबोटलाई अरुण नदीतर्फ तुम्लिङटार र दूधकोशी हुँदै दोलालघाटसम्म पुर्याउँदै जलयात्रा गर्न सकिन्छ’, उनले भने । गाउँपालिकाको केन्द्रमा रहेको ऐतिहासिक हतुवागढी दरबार, भविष्यवक्ता पोखरी, महादेवथान गुफा, चमेरे गुफाका साथै हतुवागढी–१ मा रहेको दिमालुङ्ग स्मारक पार्क, शिवालय थान, हतुवागढी–२ मा सय वृक्ष, सङ्खाम चुली, जोर आहाल, भ्यु टावर, छोकमैन अवतारी, थुलुङ्ग संस्कृतिको सौरीनेम, तोसिखोम, अजम्बरी पानी, माक्साहुत (भालु बस्ने गुफा) हतुवागढी–३ मा सुनाहाङको शिर राखेको स्थल, फलामढुङ्गा, लुङ्गथुङ्ग ढुङ्गा, शिला सुत्केरी शिलालगायत पर्यटकीय स्थल रहेका राईले जानकारी दिए । पालिकामा रहेका ऐतिहासिक होम्ताङ्ग साकेला थान, बाहुतभुत बस्ने सुरुङ्ग, सिमसरादेबी थान, लुखिम ढुङ्गा, ईन्द्रेणी करना, ब्राहम टाकुरे डाँडा, विद्यापोखरी, पिचाखा मागलुङ्ग, गन्धेपानी, माईबेनी, किरात करना, समुदायको साकेलालगायत स्थानको स्तरोन्नति गरी विभिन्न अवलोकन तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान विन्दुको रुपमा विकास गरी समुद्र सतहबाट एकसय ५३ मीटर उचाईमा रहेको भोजपुर जिल्लाको सबैभन्दा होचो भू–भागदेखि सबैभन्दा अग्लो भू–भाग साल्पासिलिछोसम्मको पदमार्गको प्रस्थान बिन्दु बनाउने योजना रहेको उनले जानकारी दिए । पदमार्गमार्फत भोजपुर, धनकुटा तथा उदयपुरको सङ्गमस्थल तथा धार्मिकस्थल माइबेनी (त्रिवेणी), हतुवागढी दरबार हतुवागढी पैदलमार्गबाट पाक्माखाम भञ्ज्याङ् हुँदै चखेवामा जोड्ने निरौलाको भनाइ थियो । गाउँपालिकाको पर्यटन गुरुयोजनाअनुसारका कार्य सम्पन्न भएपश्चात् पालिकाले पर्यटनका क्षेत्रमा फड्को मार्ने उनले बताए । पालिकाले निर्माण गरेको गुरु योजनाअनुुसार पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राईले बताए । रासस
होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग
काठमाडौं । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) लगायतका उद्योगी व्यवसायीहरुले उद्योग मन्त्री रमेश रिजाललाई भेट गरी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको हो । ‘व्यवसायीले होटल क्षेत्रमा ठूलो पुँजी गानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुन्याएको छ,’ मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाउँदै समितिका सभापति बस्नेतले भने, ‘तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन आग्रह गरेको छ ।’ अर्थतन्त्र र गन्तव्य विकासमा होटल क्षेत्रको विशेष योगदान रहेको भन्दै यस क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण नगरी राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिन उक्त समितिको माग छ । साथै होल क्षेत्रले पर्यटकिय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा होलको विशेष योगदान हुने वस्नेतले जानकरी दिए । साथै सोका लागि होटल व्यवसायका लागि विद्युतको सहुलियत दर रेट करमा विशेष छुट सहित उद्योग सरहको सुविधा उपलब्ध गराउन उक्त समितिले आग्रह गरेको छ । समितिले होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ । ‘अहिले ऐनमा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ,’ समितिले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ,’ ‘अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’होटल व्यवसायमा विदेशी ब्राण्ड र लगानी बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन ऐनमा भएको उक्त प्रावधान तत्काल हटाउनुपर्ने बस्नेतले बताए । उद्योग मन्त्री रमेश रिजालले प्रतिनिधिमण्डलको ज्ञापन पत्रको अध्ययन गर्ने र समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने गरी प्रतिवेदन तयार गर्न सचिव र महानिर्देशकलाई अनुरोध पनि गरेका छन् । मन्त्री रिजालसँगको भेटमा पर्यटन तथा हवाई समितका सल्लाकार तथा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।
नेपालगञ्जका तारे होटल सुनसान
राँझा । नेपालगञ्जमा पर्यटनलाई लक्षित गरी ठूलो लगानीमा खुलेका तारे होटल सुनसान छन् । विगतमा यो याममा कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकले भीडभाड हुने नेपालगञ्जका होटल यस वर्ष भने सुनसान रहेको होटल व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले बताए । ‘विगतमा केरुङ नाका बन्द हुँदा कैलाश मानसरोवर जाने धार्मिक पर्यटकले नेपालगञ्जको बाटो प्रयोग गर्दा चहलपहल राम्रै थियो’, अध्यक्ष काफ्लेले भने, ‘यस वर्ष नेपालगञ्जको बाटो प्रयोग भएको छैन, ट्राभल एजेन्सीले काठमाडौंबाट केरुङ नाका हुँदै पर्यटकलाई मानसरोवर पठाउने गरेका छन् ।’ नेपालगञ्जका कतिपय होटलहरुले आन्तरिक रुपमा कैलाश मानसरोवरको प्याकेज बनाएर पर्यटक पठाउने गरे पनि विगतमा जस्तो यो वर्ष भीडभाड नरहेको काफ्लेले जानकारी दिए । नेपालगञ्जमा कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधासम्पन्न होटल खुलेका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवरको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाउन चीन सरकारसँग सैद्धान्तिक सहमति गरेको विषयले नेपालगञ्जलाई दीर्घकालीन रुपमा फाइदा पुग्ने भए पनि अहिले होटल व्यवसाय सुनसान जस्तै रहेको मेरो प्लानेटका प्रबन्धक ओम मिश्रले बताए। ‘सिमिकोट–हिल्सा सड़क नबनेसम्म हेलिकाप्टरको प्रयोगका कारणले नेपालगञ्जमार्फत मानसरोवर यात्रा छिटो, छोटो र सजिलो भए पनि सबैभन्दा महँगो थियो’, उनले भने, ‘हाल सिमिकोट–हिल्सा सडकको स्तरोउन्नतीको लागि प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग सम्झौता गरेकाले कार्यान्वयन भएमा नेपालगञ्ज रुट चल्ने छ ।’ नेपालगञ्जका ठूला सुविधासम्पन्न होटलको मुख्य स्रोत मानिएको कैलाश मानसरोवरका अधिकांश भारतीय तीर्थयात्री ट्राभल एजेन्सीमार्फत आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा अपेक्षित रुपमा लाभ लिन नसकेको अवस्था पनि यहाँका होटल व्यवसायीले भोग्दै आएका छन् । एक दशकयता नेपालगञ्जमा तारेसहित दर्जन बढी सुविधा–सम्पन्न होटल सञ्चालनमा छन् । सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले बताए । उनका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसायमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । रासस