कैलाशले ५ वटा हेलिकप्टर उडाउने, पुँजी वृद्धि गर्न सर्वसाधारणमा सेयर निष्काशन गर्ने

काठमाडौं । कैलाश हेलिकप्टरले थप हेलिकप्टर किन्न पुँजी वृद्धि गर्ने भएको छ । हाल ३ वटा हेलिकप्टर उडान गर्दै आएको यस कम्पनीले थप २ वटा हेलिकप्टर किन्ने योजनासहित पुँजी वृद्धि गर्न लागेको छ । हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले १० प्रतिशत पुँजी वृद्धि गर्न लागेको छ । १० प्रतिशत सेयर सर्वसाधारणलाई बेचेर पुँजी वृद्धि गर्न लागेको कम्पनीले जनाएको छ । विगतमा प्राइभेट कम्पनीको रुपमा सेवा सञ्चालन गर्दै आएको यो कम्पनीलाई कम्पनी रजिष्ट्रार कार्यालयले असोज ८ गते पब्लिक लिमिटेडमा रुपान्तरित हुन स्वीकृति दिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । पुँजी वृद्धिसँगै कम्पनीले हेलिकप्टर पनि थप्ने तयारी गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रताव जंग पाण्डेले बताए । हाल कम्पनीसँग ३ वटा हेलिकप्टर रहेको छ । दुई वर्षभित्र थप २ हेलिकप्टर किन्ने योजनासहित कम्पनी अगाडि बढेको उनले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ वर्षमा ५ वटा हेलिकप्टर हुनु पर्ने नियम बनाएकोले त्यसको परिपालना गर्दै कम्पनीले पुँजी वृद्धि र हेलिकप्टर थप्ने योजना अगाडि सारेको समेत उनले बताए ।

दशैंको मुखमै बढ्यो हवाइ भाडा, आजदेखि १३% बढी तिर्नु पर्ने

काठमाडौं । दशैं नजिकिएसँगै हवाई भाडा पनि बढेको छ । सरकारले बजेट मार्फत् टिकटमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्थाले आज (मंगलबार) देखि हवाई भाडा बढेको हो ।  मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको छ । हाल अन्तर्राष्ट्रिय उडानको भाडा एक लाख रुपैयाँ छ भने अब १ लाख १३ हजार रुपैयाँ लाग्ने भएको छ । आन्तरिक हवाईमा भने १३ प्रतिशतको भ्याट लागू भइसकेको छ । यसअघि १३ प्रतिशतको भ्याटको विरुद्द पर्यटन व्यवसायी अदालत समेत पुगेका थिए । अन्तर्राष्ट्रिय उडानमा भ्याट लगाउने निर्णय अव्यवहारिक भन्दै नेपाल एसोसिएसन अफ एन्ड टुर ट्राभल एजेन्ट्सका (नाट्टा) ले साउन १४ गते सर्वाेच्च अदालतमा मुद्धा दर्ता गरेकाे थियाे । नाट्टाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्नेलगायत कारण देखाउँदै हवाई टिकटमा भ्याट व्यवसायमैत्री नभएको, आन्तरिक राजस्व विभागद्वारा जारी सूचना अस्पष्ट भएको, अध्ययन नगरी हचुवाका भरमा भ्याट लागू गरिएकोलगायत कारण देखाउँदै रिट दायर गरेको थियो । सर्वाेच्चले उक्त रिटमाथि भदौ १५ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वाेच्चले भ्याट लगाउने बाटो खुला गरेको २४ दिनपछि भ्याट कार्यान्वयनमा आएको हो । नेपाल एसोसिएसन अफ एन्ड टुर ट्राभल एजेन्ट्सका (नाट्टा) अध्यक्ष रमेश थापा सर्वाेच्चले मुद्धा खारेज गरेसँगै भ्याट लागूको बाटो खुलेको बताउँछन् । ‘सर्वाेच्चको निर्णय अनुसार सबै वायुसेवा कम्पनीहरु भ्याट तिर्न तयारी अवस्थामा छन्, अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) बाट कोड तयार भएर आएपछि थप सहज हुन्छ’, उनले भने । अहिले वायुसेवा कम्पनीहरु भ्याट लागू गर्न दोधार देखिएको भन्दै आयटाबाट कोर्ड आएपछि सहज हुने उनको भनाइ छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली बजेट लागू भएसँगै हवाई टिकटमा भ्याट लागू भएपनि वायुसेवा कम्पनीको ढिलाइका कारण मंगलबारदेखि लागू भएको बताउँछन् । ‘यो लागू बजेट लागू भएसँगै लागु भएकोे हो, हवाई उडानमा पहिलो पटक भ्याट लागु हुँदा र केही ट्राभल्स व्यवसायीहरु अदालत जादा कार्यान्वयनमा ढिलाई भएको हो, हामीलाई आजदेखि लागू भयो भनेर आधिकारीक रुपमा जानकारी आइसकेको छैन’, उनले भने । ‘ हवाइ क्षेत्रकाे भ्याटको नेतृत्व नेपाल एयरलाइन्सले नेतृत्व गर्ने भनिएको छ, कार्यान्वयन जहिलेदेखि आएपनि भ्याट रकम साउन १ गतेदेखिकै भुक्तानी हुनुपर्छ, भुक्तानी भए नभएको सम्बन्धित राजश्व कार्यालयले निगरानी गर्छ’, उनले भने । नेपाल वायुसेवा निगमले मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा भ्याट लागू भैसकेको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेल मंगलबारदेखि १३ प्रतिशत भ्याट लागू भैसकेको बताउँछन् । ‘आजदेखि भ्याट लागू भैसक्यो, भ्याट कार्यान्वयनमा आएसँगै हवाई भाडादर बढ्यो, यसअघि १ लाख रुपैयाँ बराबरको हवाई भाडादर थियो भने १३ हजार थपिएर १ लाख १३ हजार भयो’, उनले भने ।

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’

बागलुङ । गलकोट नगरपालिका–५ को उच्च पहाडको शिरमा छ टेउवा । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिएको टेउवामा मानवनिर्मित संरचना र विभिन्न किसिमका मूर्तिले गलकोटको नयाँ पहिचान बनाउन थालेको छ । चार वर्ष अगाडिसम्म सुनसान देखिने टेउवा विसं २०७६ मा स्थापना भएसँगै आन्तरिक पर्यटकको आवागमन हुन थालेको स्थानीय बताउँछन् । टेउवामा मूर्तिकला निर्माण भएसँगै अहिलेसम्म हजारौँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि यहाँ आउने गरेका स्थानीयको भनाइ थियो । मूर्तिकला गलकोटको पहिचान बन्दै गएको उनीहरु बताउँछन् । टेउवाको प्रचारप्रसार र भौतिक संरचना निर्माणका लागि सरकारले पनि बर्सेनि लगानी गर्दै आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । उनका अनुसार यहाँ बनेका मूर्तिकला अवलोकन गर्न आउने आगन्तुकलाई लक्षित गरी नगरपालिका र केन्द्र सरकारले दुई वर्ष अगाडिदेखि सडक स्तरोन्नति र पार्क निर्माण थालेका छन् । हरिचौर बजारदेखि करिब छ किलोमिटर सडक स्तरोन्नति गर्न र पार्क निर्माणका लागि नगरपालिका र केन्द्र सरकारले बहुवर्षे योजनाअन्तर्गत रू ६ करोड विनियोजन गरेको भण्डारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ को योजनाअन्तर्गत अहिले टेउवामा संरचना निर्माण भइरहेका छन् । ‘समुद्री सतहदेखि १९८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारले शीलामा कुँदेर मूर्ति बनाएका छन्’, प्रवक्ता भण्डारीले भन्नुभयो, “मूर्तिको संरक्षणसँगै बाह्य पर्यटकलाई आकर्षण गर्न यहाँ पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको छ ।’ मूर्ति निर्माण भएको क्षेत्रको प्रवद्र्धन गर्न नगरपालिकाले प्रचारप्रसार र भौतिक संरचना निर्माणमा जोड दिएको उहाँको भनाइ थियो । अन्य पर्यटकीय क्षेत्रभन्दा टेउवामा पर्यटकले अवलोकन गर्ने पृथक वस्तु र मनमोहक प्रकृति रहेकाले आकर्षण बढेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार यस क्षेत्रको विकासका लागि नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरी आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको छ । ‘गलकोटलाई थप चर्चित बनाउन टेउवामा निर्मित मूर्तिकलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस क्षेत्रको प्रचारप्रचार भयो भने यहाँ घुम्न आउनेको कमी हुदैन । पहिले सडकको अवस्था खराब थियो, अहिले स्तरोन्नति भइसकेको छ,’ प्रवक्ता भण्डारीले भने, ‘यहाँबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ, मूर्तिकलाको सेरोफेरोमै पार्क पनि बन्दै छ, सडकको स्तरोन्नति र पार्क निर्माणपछि यहाँ अझै धेरै पर्यटक आउने हामीले अपेक्षा गरेका छौँ, पर्यटकका लागि शौचालय, खानेपानी र विश्रामस्थल पनि बन्दैछन्, त्यसले आगन्तुकलाई थप सहज हुनेछ ।’ मूर्तिकलासम्म पुग्ने सडक र पार्क निर्माणका लागि विसं २०७८ को भदौमा रू चार करोडमा सम्झौता गरी काम थालिएको निर्माण कम्पनीका प्रमुख योगेश भण्डारीले बताए ।२०७९ साल फागुनसम्म सक्ने गरी जिम्मा लिएकामा विविध कारणले ढिलाइ भएको बताउँदै उनले हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । सडकको सबै काम सकिएको भन्दै भण्डारीले पार्क र घेराबारको केही काम बाँकी रहेको बताए । काम गरेको भुक्तानी नहुँदा बाँकी काम गर्न समस्या भएको उनको भनाइ थियो । ‘योजना नगरपालिका र केन्द्र सरकारको लगानीमा भएकाले नगरपालिकाले भुक्तानी दिए पनि केन्द्रबाट भुक्तानी आएको छैन । काम सकिन लाग्दासम्म रकम पाउन बाँकी छ’, भण्डारीले भने, ‘सडकको सबै काम सकिएको छ, मूर्तिको संरक्षणका लागि घेराबार र र्पाक निर्माणको केही काम बाँकी छ । यसका लागि धेरै समय लाग्दैन ।’ ऐतिहासिक गलकोट दरबारको शिरमा रहेको मूर्तिकला अवलोकन गर्न आउने पर्यटकले अन्य पर्यटकीय क्षेत्रको सहज रुपमा अवलोकन गर्न सक्छन् । छेउमै गाईघाट झरना र बाटैमा गलकोट दरबार रहेको हुँदा यहाँ पनि पर्यटक घुम्न आउने गरेका छन् । हरिचौरदेखि मूर्तिकलासम्मको सडक स्तरोन्नति भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या दैनिक बढिरहेको वडा नं ५ का वडाध्यक्ष पवन हमालले बताए । बर्खाको समयमा पनि टेउवामा आउने पर्यटकको कमी नभएको उनको भनाइ थियो । टेउवा पुग्ने पर्यटकले हटियार बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना ‘प्याकेज’ मै घुम्न सक्ने हुँदा आगन्तुको सङ्ख्या बढेको उनले बताए । ‘पहिला टेउवाको डाँडा खुल्ला र खाली थियो, अहिले मूर्ति र विभिन्न संरचनाले भरिएको छ, ठाउँ सुन्दर भए नि ओझेलमा परेको थियो । अहिले पर्यटक घुम्न आउने ठाउँ बन्यो,’ अध्यक्ष हमालले भने, ‘यहाँ पर्यटक घुम्न आउने दिन खाली हुँदैन, चाडवाड सुरु भयो, अब झन् धेरै पर्यटक यहाँ आउँछन्, अहिले मूर्तिकला वरपर घाँस पलाएको छ, त्यसलाई सरसफाइ गरेर व्यवस्थित बनाउँछौँ ।’ उनका अनुसार टेउवामा २०७६ साल फागुन ५ देखि २१ सम्म अन्तर्राष्ट्रियस्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा मूर्ति तयार गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका ती मूर्ति खुल्ला सङ्ग्रहालयमा राखिएका छन् । मूर्तिकारले ढङ्गामा जल, जङ्गल, जमिन, पहाड, लगायतका आकृति तयार गरेका छन् । रासस