पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका
सुर्खेत । काठमाडौंबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरु देखिन थालेपछि उनीहरुको प्रतिक्रिया थियो, आहा, कस्तो राम्रो ठाउँ । यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गरी अझै आनन्दको वातावरण बनाउन सकिन्छ होला । यस्तो अनुभूति गुराँस क्षेत्रमा पुग्ने जो कोहीलाई पनि हुने गर्दछ । अर्कोपटक घुम्न अवश्य पनि आउने सबैले भनने गर्दछन् । यो क्षेत्रलाई साविकको कर्णाली अञ्चलको प्रवेशद्वारका रुपमा लिने गरिन्छ । यहाँ लालीगुराँस फुल्ने समयदेखि हिउँद्को समयमा हिउँ पर्नेसम्मको आनन्द लिन सकिन्छ । गुराँसेमा रहेको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बाट चारैतिरका रमणीय दृश्यसँगै भारतको लखनउ र तिब्बतका केही भागहरुको समेत अवलोकन गर्न सकिन्छ । बाह्रै महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ । यहाँ जाने स्वदेशी वा विदेशी पर्यटकले प्राकृतिक सौन्दर्यदेखि धार्मिक, सांस्कृतिक र स्थानीय रहनसहनको अलग्गै स्वाद लिन सक्नेछन् । वडा नं १ मा रहेको देउराली गुफाले धेरैलाई अनौठो अनुभूति गराउँछ । यो गुफा हेर्न आउनेको संख्या दिनानु दिन बढ्ने गरेको छ भने अहिले यस ठाउँमा मगर संस्कृतिका परिकार र नाचहरु देखाउने गरिन्छ । यहाँँ पाहुनाका लागि मगर होमस्टे पनि सञ्चालन गरिएको छ । होम स्टेमा कोदोको रोटी, ढिडो, आँटो, सिस्नोलगायतका अर्गानिक खानाको व्यवस्था गरिएको वडाध्यक्ष धर्मबहादुर रावल बताउँछन् । ‘’हाम्रो संस्कृति जोगाउन र पर्यटन प्रवद्र्धन गर्न यहाँका रमणीय ठाउँहरुको अवलोकन गराउने गरेका छौँ’ उनले भने । यस वडामा रहेका अन्य रमणीय ठाउँ र झरनाहरु हेर्न लायक छन् । अहिले बेडुगाउँमा भ्यु टावर समेत बनेको छ । वडा नं २ मा रहेको डुङ्गेल मन्दिरमा पुजा गर्दा सन्तान नहुनेको सन्तान हुने धार्मिक विश्वास छ । यस मन्दिरमा शुक्रबार र शनिबार भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरको दर्शन गरेमा सवारी दुर्घटना हुँदैन भन्ने धार्मिक मान्यताका कारण कर्णाली राजमार्ग हुँदै जुम्ला कालीकोट जाने यात्रुहरुले यहाँ दर्शन र पूजापाठ गर्दछन् । सामाजिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण वडाको प्रचारप्रसारमा ध्यान दिइएको वडाध्यक्ष शेरबहादुर रावल बताउँछन् । कर्णाली नदीको कलकल आवाजले धेरैलाई लोभ्याउने गर्दछ । त्यहाँ पाइने माछाको स्वादसँगै कर्णालीमा जलयात्रा गर्दाको मज्जा बयान गरेर साध्य छैन् । यस वडामा रहेको झरना पनि हेर्नलायक छ । पाँच भाइ पाण्डपहरुले निर्माण गरेका पञ्चदेवल, मुग्राहरु र ढुङ्गे धाराहरु वडा नं ३ मा रहेका छन् । विभिन्न चित्रहरु अंकित यी पञ्चदेवलहरुको अवलोकन गर्दा पुरानो सभ्यताको याद आउने गर्दछ । त्यसैगरी यहाँबाट कर्णाली र डुङ्गेश्वरको फाँटलाई अवलोकन गर्न सकिन्छ भने विभिन्न रमणीय ठाउँहरु यस क्षेत्रमा रहेका छन् । वडाध्यक्ष काशी शर्माका अनुसार यस क्षेत्रमा तामा खानी रहेको विश्वास गरिन्छ । गाउँपालिकाको मुटुमा रहेको वडा नं ४ को रतिखोलामा परापूर्वकालमा रातो गाई खोलाले बगाएको किम्बदन्ती छ । त्यो गाईको अवशेष अहिले पनि देख्न पाइने बुढापाकाहरु बताउँछन् । यस वडाको गुराँसे लेकबाट धेरै हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ भने बसन्त ऋतुमा लालीगुराँसको फुलेको देख्दा मन आनन्दित हुने गर्दछ । गर्मीयाममा शीतलताको आनन्द लिन र लालीगुराँसको सुगन्धमा रमाउन सुर्खेत, नेपालगञ्जबाट धेरै मानिस यस क्षेत्रमा आउने गर्दछन् । वडाध्यक्ष खड्गबहादुर शाहीले यो ठाउँ भएर नै रारालगायतका उच्च स्थानमा जाने भएकाले पर्यटकहरुलाई आकर्षित गर्न प्रदेश सरकार र गाउँपालिकाको पहलमा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) निर्माण गरिएको बताए । भ्यु टावरबाट विभिन्न हिमालहरुका दृश्यसँगै सँगै तिब्बतका केही भाग र भारतको लखनउसम्म अवलोकन गर्न सकिन्छ । पर्यटकीय क्षेत्रमात्र नभएर तरकारीको लागि पनि यो क्षेत्र उपयुक्त छ । यहाँ खाना बस्नको लागि होटेल र लजहरुको राम्रो व्यवस्था छ । गाउँपालिकाको सबैभन्दा धेरै जनसंख्या रहेको वडा नं ५ पनि पर्यटकीय हिसाबले धेरै अगाडि रहेको छ । यो वडाको जन्ती बस्ने गुफालाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा लिन सकिन्छ । यहाँ परापूर्व कालमा बिबाहमा गएको एक हुल जन्ती बसेको र सबैको त्यही स्थानमा मृत्यु भएको त्यहाँका बुढापाकाहरुको कथन छ । अहिले पनि अवशेषको रुपमा त्यहाँ जन्ती, बेहुलाबेहुली र उनीहरुले बोकेका सामानहरुको चित्रहरु प्रष्ट देख्न सकिन्छ । यससँगै मालिकादेबीको मन्दिरलाई पनि पर्यटकीय क्षेत्रको रुपमा लिने गरिएको वडाध्यक्ष भूपेन्द्र चन्द बताउँछन् । जनै पूर्णिमाको दिनमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । यस मन्दिरमा पूजा गर्दा सबै रोग निको हुने धार्मिक विश्वास छ । वडा नं ६ कुन्तडा, लामातडाका फाँटहरु निकै आकर्षक देखिन्छन् । यस वडाको सबैभन्दा हेर्न लायक ठाउँ भनेको भिउचुला नै हो । भिउचुलाको माथी लिलेकोट डाँडाबाट धेरै रमणीय ठाउँहरु देख्न सकिन्छ । धाउखानी गुफाको संरक्षण भइरहेको छ । यो गुफाभित्र ७० मिटरसम्म बाटो छ । वडा नं ७ को लात्तेको छहरा पनि पर्यटकको आकर्षण बन्न सक्दछ । समुन्द्री सतहदेखि करिब २७ सय मिटर उचाइमा रहेको यस छहरा दुई सय मिटर लामो रहेको छ । बैशाखसम्म हिउँ पर्ने बुँरास लेक र तलतिर टोटनाउला पाटनहरुमा विभिन्न जडीबुटी पाइन्छ । यहाँ अहिलेसम्म छ वटा गुफा फेला परेको छन् । ती गुफाहरु पनि संरक्षणका लागि प्रदेश र स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने वडाध्यक्ष नन्दबहादुर विसी बताउँछन् । वडा नं ८ का पोखराचौर, घ्युपोखरी, लगायतका ठाउँहरु रमणीय हुन् । पाखापानी नजिकै पर्यटन पार्क निर्माण भएको छ भने धरमपोखरामा रहेको शिव मन्दिरको दर्शन गर्दा पापहरु नष्ट हुने विश्वासले गर्दा धेरै मानिसहरु यहाँ आउने गर्दछन् । के छ गाउँपालिकाको योजना ? गाउँपालिकाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनको लागि गाउँपालिकबाट विभिन्न योजनाहरु बनाइको उपाध्यक्ष शिवाकुमारी खड्का बताउँछिन् । उनी भन्छिन्, ‘पर्यटकीय क्षेत्रहरुको संरक्षण र प्रचारप्रसार गरी पर्यटक आगमन बढाउन पर्यटन सुचना केन्द्र, पर्यटन सङ्ग्रहालय, रैथाने बालीहरुको संरक्षण गर्ने गरी नीति लिएका छौँ ।’ यो पालिकाले राउटेलाई परिचय पत्र दिएर आफ्ना नागरिक बनाएको छ । राउटे लगायतका जातिहरुको संस्कृतिलाई संरक्षण गरेर पर्यटन आकर्षण गरिने उनको भनाइ छ । रासस
देशभरका १६ वटा पाँचतारे होटेलले गरे नवीकरण, डिलक्स पाँचतारे एउटा मात्रै
काठमाडौं । नेपालमा देशभरी सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटलले नवीकरण गरेका छन् । पर्यटन विभागका अनुसार पुस २६ गतेसम्म एउटा पाँचतारे डिलक्स र १६ वटा पाँचतारे होटेलले विवरण अद्यावधिक गरेका छन् । पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका डिलक्स पाँचतारे होटेलहरुमा काठमाडौंका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बारामा १/१ वटा पाँचतारे होटेल रहेका छन् । जसमध्ये झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँचतारा डिलक्स होटेलको स्तरमा सञ्चालनमा रहेको विभागले जनाएको छ । नवीकरण भएका डिलक्स सहित १६ वटा पाँचतारे होटेलहरुमा दुई हजार तीन सय ४६ वटा कोठाहरु रहेका छन् । नेपालमा पछिल्लो समयमा पर्यटक आउने संख्यामा वृद्धि हुँदै गएको छ । सन् २०२३ मा विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा १० लाख भन्दा धेरै पर्यटक आएका थिए । पर्यटन क्षेत्रको सम्भावनालाई हेरेर दर्जनौ नयाँ पाँचतारे होटेलहरुको निर्माणमा पनि लगानीकर्ताहरुले लगानी गरिरहेका छन् । [pdf id=459205]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति जहाज राख्न नपाउने नियम कडा बनाइँदै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो । उक्त निर्णयअनुरूप वायुसेवा कम्पनीले जहाज काठमाडौं बाहिरका विमानस्थलमा राखेर काठमाडौंका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौंमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौं ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी काठमाडौं बाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो । कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौंमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको बताए । ‘पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न थालेपछि भीडभाड बढेकाले थप कडाइ गर्न लागिएको हो,’ विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, ‘एयरलाइन्सहरुलाई विभिन्न ‘बेस’ तोकिएको छ, सोही अनुसार उनीहरूले जहाज रात्रि बिसान गर्नुपर्छ ।’ काठमाडौं बाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ । ती जहाजले काठमाडौंका लागि सम्बन्धित गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन् । महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौं बाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो । यसबाट काठमाडौं बाहिरबाट आउने यात्रुलाई पनि यसले सहज हुनेछ । प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको ६, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाज मात्रै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो ।