रेसुङ्गा विमानस्थलमा हप्ताको ४ पटक उडान हुँदै

तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो । अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए । रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् । रासस

निगमको ‘वाइडवडी’ जहाज ‘ग्राउण्डेड’, दोहा उड्ने यात्रु अलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडवडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए । ‘हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए । यात्रुहरुलाई आज साँझ ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ’, प्रवक्ता पौडेलले भने । निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौंबाट दोहा उडानको तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको थियो । रासस

विदेश भ्रमणमा नेपालीको २८ अर्ब बढी खर्च, अर्काको पैसामा घुम्छन् सरकारी कर्मचारी

काठमाडौं । नेपालीहरू विदेश घुम्ने अभ्यास बढ्दै गएको छ । विभिन्न सरकारी तथ्यांक अनुसार नेपालीहरूले विदेश भ्रमण गरेर अर्बौं रुपैयाँ खर्च गरिरहेका छन् । विश्व महामारीकारूपमा फैलिएको कोरोना भाइरसको समयमा केही सुस्ताएको विदेश भ्रमण अहिले पुनः बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्ष (आव)को ५ महिनामा विदेश भ्रमणमा २८ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरूले वैदेशिक भ्रमणमा गर्ने खर्च वार्षिक बढ्दै गएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालीहरूले विदेश भ्रमणमा १८ अर्ब ६७ करोड रुपैयाँ मात्रै खर्च गरेका थिए । यस्तो छ ५ वर्षको तथ्यांक नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आव ०७९/८० मा नेपालीहरूले विश्वका विभिन्न मुलुकहरूमा भ्रमणको लागि ४४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेका छन् । आव ०७८/७९ मा नेपालीहरुले विदेश भ्रमणमा २९ अर्ब ६२ करोड, आव ०७७/७८ मा ७ अर्ब ८४ करोड, आव ०७६/७७ मा २७ अर्ब ३३ करोड र आव ०७५/७६ मा ४३ अर्ब २६ करोड खर्च गरेका छन् । तथ्यांकअनुसार विश्वभर कोभिड-१९ महामारी छाएको बेलामा नेपालीहरुको विदेश भ्रमणमा खुम्चिएको देखिन्छ । महामारी पछिका वर्षहरूमा भने संख्या र खर्च पनि बढ्दै गएको छ । स्पोन्सरमा घुम्छन् सरकारी कर्मचारी अघिल्ला वर्षहरूको तुलनामा चालु आवको हालसम्म संघीय सरकार मातहतका मन्त्रालयहरुबाट हजारौं कर्मचारीले विदेश भ्रमण गरेका छन् । विकासन्युजलाई प्राप्त केही मन्त्रालयको विवरणअनुसार संघीय मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरूले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूको कार्यक्रमको अवसरमा विदेश भ्रमण गरेका छन् । पछिल्लो ८ महिनामा स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयका ४४० जना कर्मचारीले विदेश भ्रमण गरेका छन् । १७८ वटा विदेश भ्रमणका कार्यक्रम मध्ये ११० वटा कार्यक्रम मात्रै विश्व स्वास्थ्य संगठन अन्तर्गतका विभिन्न निकायहरूले आयोजना गरेर खर्च व्यहोरेको छ । शहरी विकास मन्त्रालयको तर्फबाट ७ महिनाको अवधिमा ४५ जनाले विदेश भ्रमण गरेका छन् । जसमध्ये अधिकांश कार्यक्रमको खर्च आयोजक पक्षले व्यहोरेको छ भने केही खर्च नेपाल सरकार र केही संस्थाको तर्फबाट व्यहोरेको देखिन्छ । बैशाख महिनादेखि मंसिर महिनासम्म १२३ जना पदाधिकारी तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट विदेश भ्रमण गरेका छन् । जसमध्ये अधिकांश भ्रमणको खर्च आयोजकले नै व्यहोरेको छ । उद्योग वाणिज्य मन्त्रालयको तर्फबाट पछिल्लो ६ महिनामा ६० जना कर्मचारीले विभिन्न विदेशी निकायहरूले आयोजना गरेका कार्यक्रममा भ्रमण गरेका छन् । ती भ्रमणहरूमध्ये केही कार्यक्रमको खर्च विदेशी निकायले गरेका छन् भने केही नेपाल सरकारको तर्फबाट व्यहोरेको देखिन्छ । परराष्ट्र मन्त्रालय भने कुटनीतिक क्षेत्रमा सहभागिता जनाउनुपर्ने निकाय हो । वैशाखदेखि मंसिर मसान्तसम्म सो मन्त्रालयको तर्फबाट २७ जना पदाधिकारी र कर्मचारीले भ्रमण गर्दा नेपाल सरकारको तर्फबाट ३७ लाख २० हजार रुपैयाँ खर्च भएको देखिन्छ ।