काठमाडौं । सरकारले १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने महत्वांकाक्षी लक्ष्य राखेर सन् २०२३-२०३३ लाई ‘भ्रमण दशक’ घोषणा गरेको धेरै भएको छैन । लक्ष्यअनुसार नै भ्रमण दशक सुरुवात वर्ष २०२३ मा १० लाख पर्यटक भित्रिँदा सरकारको लक्ष्यको एक छेउ पूरा हुन पुगेको छ ।
अब गहन प्रश्न गर्ने बेला आएको छ- नेपालले संख्या (क्वान्टिटी) बढाउनमात्र ध्यान दिने हो कि बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक (क्वालिटी टुरिस्ट) मा पनि ध्यान दिने हो ? सरकारकै तथ्यांकले देखाउँछ- नेपाल घुम्न आउने प्रत्येक पर्यटकले दैनिक औसत ४० अमेरिकी डलर खर्च गर्छन् । यो पर्यटन बोर्डले सार्वजनिक गरेको सन् २०२२ को तथ्यांक हो ।
विदेशी पर्यटकले नेपालमा दैनिक खर्च गर्ने दर कसरी बढाउन सकिन्छ ? संख्यामा केन्द्रित हुँदा मुलुकको आम्दानी प्रभावित हुन सक्छ कि ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता हेमराज तामाङ क्वालिटी र क्वान्टिटी दुवैमा ध्यान दिनुपर्ने बताउँछन् । ‘यो क्वालिटी पर्यटक केलाई भन्ने त्यसलाई पनि परिभाषित गर्नुपर्ने होला, क्वालिटी टुरिस्ट भनेको महँगो होटलमा बसेर खर्च गर्ने मात्रैलाई मान्ने कि गाउँ-गाउँ घुमेर त्यहाँका मान्छेलाई रोजगारी दिएर होमस्टेमा बस्नेलाई भन्ने ? यो आफैंमा पनि प्रश्न छ,’ प्रवक्ता तामाङ भन्छन्, ‘समग्रमा भन्नुपर्दा हाम्रो मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्ने विषयलाई हामीले क्वालिटी मान्नुपर्छ ।’
नेपालको पर्यटन क्षेत्रको विकास गर्न लक्ष्यअनुसार संख्या र आर्थिक हिसाबले फाइदा पुग्ने गरी गुणस्तरीय पर्यटक ल्याउने रणनीति मन्त्रालयले बनाएको प्रवक्ता तामाङको भनाइ छ ।
‘सरकारले भ्रमण दशकका माध्यमबाट सकेसम्म नेपाललाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न प्रचारप्रसार गर्ने हो,’ उनी भन्छन्, ‘भर्खरै मन्त्रालयले पर्यटक प्रवर्द्धकसम्बन्धी कार्यविधि तयार पारेर प्रवर्द्धकहरूको नियुक्ति पनि गर्दैछ । विभिन्न ढंगले पर्यटन प्रवर्द्धन गर्ने कार्यमा मन्त्रालय लागिरहेको छ ।’
सरकारको पर्यटन प्रवर्द्धन नीति सफल पार्न निजी क्षेत्रले पनि सहयोग र सहकार्य गर्ने, व्यावसायिक निष्ठाका आधारमा काम गर्ने, पर्यटकलाई दिनुपर्ने हस्पिटालिटी (आतिथ्य सत्कार) कमजोर नबनाउने र ‘अतिथि देवो भव:’ सिद्धान्त शिरोपर गरी हातेमालो गर्दै पर्यटन दशकमा राखिएको लक्ष्यका उपलब्धि हासिल गर्ने गरी प्रयास गर्नुपर्ने उनी बताउँछन् ।
निजी क्षेत्र के भन्छ ?
पर्यटन व्यवसायी बसन्तराज मिश्र १० डलरमा बेच्ने कोठामा १० डलर नै तिरेर मान्छे बस्यो र ५ सय डलर पर्ने कोठामा त्यति नै पैसा तिरेर बस्यो भने त्यो पनि क्वालिटी टुरिस्ट भएको बताउँछन् ।
‘हाम्रो देशमा हरेक किसिमका होटल छन्, सरकारले प्रतिपर्यटक कति पैसा आम्दानी गर्ने योजना बनाएको छ त ? औसत आम्दानी कति छ ? सरकारले प्रतिपर्यटक कति पैसा लिने ?,’ मिश्र भन्छन्, ‘अब भुटानले प्रतिपर्यटक दैनिक २ सय २५ डलर चाहिन्छ भन्छ । त्यति नतिरी उसले भिसा नै दिँदैन, अब हामीले सोच्न ढिला गर्नै भएन ।’
क्वालिटी टुरिस्टलाई पहिला राम्रोसँग परिभाषित गर्नुपर्ने उनी बताउँछन् । ‘क्वालिटी टुरिस्ट भनेको के हो ?, दिनमा ५० डलर खर्च गर्ने कि ७० डलर खर्च गर्ने कि १ सय डलर खर्च गर्ने?,’ मिश्र प्रश्न गर्दै भन्छन्, ‘कति खर्च गर्ने टुरिस्टलाई हामीले क्वालिटीमा गन्ने हो, त्यो सरकारले निर्धारण गर्नुपर्छ ।’
उनका अनुसार नेपाल आएको पर्यटकले ‘इन्क्लाइमेन्ट क्रिएट’ गर्न सकोस्, जसबाट हामीले बनाएको पूर्वाधारको खर्च उठाउन सकियोस् । हामो कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि त्यसले योगदान गर्न सकोस् ।
‘यो सबै गर्न क्वालिटी टुरिस्ट नै चाहिन्छ, हामीलाई यहाँ आएर राम्रो पैसा खर्च गरेर हाम्रा स्थानीय उत्पादन पनि किन्न सकोस्,’ उनी भन्छन्, ‘स्थानीय बजारलाई सपोर्ट गर्न सकोस्, यसका लागि संख्या र स्तरीय पर्यटक उत्तिकै महत्वपूर्ण छ ।’
नेपालको पर्यटन मिश्रित बजार (मिक्स मार्केट) हेरेर विकास भएको मिश्रको भनाइ छ । ‘हामीसँग ननस्टार र स्टार होटल पनि छन्, अहिले होमस्टे पनि छ, त्यसैकारण हामी मिक्स मार्केटमा जानुपर्छ । तर, जुनसुकै मार्केट भए पनि क्वालिटी टुरिस्ट त चाहिन्छ ।’
क्वालिटी टुरिस्ट भित्र्याउन व्यापक मार्केटिङ गर्नुपर्ने मिश्र बताउँछन् । ‘हामीले आफ्ना उत्पादनलाई पनि गुणस्तरीय बनाउनुपर्यो, क्वालिटी सर्भिस दिन सक्नुपर्यो,’ उनी भन्छन्, ‘हाम्रा पूर्वाधार स्तरीय हुनुपर्छ, हामीले गर्ने भनेको बजार व्यवस्थापन नै हो, हामीले उच्च, मध्यम र सामान्य पर्यटक पनि खोज्नुपर्छ र मिक्स मार्केटमा जानुपर्छ ।’
सरकारले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रका काममा मध्यस्थताको भूमिका निर्वाह गरेको उनको भनाइ छ । यही कारण नै नेपालको पर्यटन क्षेत्र फस्टाएको उनी बताउँछन् । उनका अनुसार अहिले निजी क्षेत्रलाई पर्यटन जिम्मा दिनुपर्छ भनेर पर्यटन बोर्ड खडा भएको हो ।
‘निजी क्षेत्र आफैंमा मिलेर एकरूपता ल्याउन सकेनन्,’ मिश्र भन्छन्, ‘हामीलाई चाहिने महत्वपूर्ण कुरामा यो-यो चाहिन्छ भनेर बलियोरूपमा लविङ पनि गर्न सकेनौं, यही कारण पर्यटनमा अलिकति हामीलाई अप्ठ्यारो परेको हो ।’
टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का पूर्वअध्यक्ष हरेराम बराल सरकारको ध्यान पर्यटक संख्या बढोस् भन्नेमा मात्रै रहेको बताउँछन् । ‘पर्यटक बढाएर रेभिन्यू पनि त बढाउनुपर्यो नि,’ बराल भन्छन्, ‘हामीले क्वालिटी टुरिस्ट ल्याउनुपर्ने हो, टुरिस्टको संख्यामात्रै बढाउँदा हामीलाई के फाइदा हुन्छ ?’
गुणस्तरीय पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा पहिले पर्याप्त सुविधा दिनुपर्ने बराल बताउँछन् । ‘कम्तीमा पनि दुई लेनको बाटो हुनुपर्छ, त्यहाँ विद्युतको पहुँच हुनुपर्छ, बाटो र बिजुली भएपछि मान्छेले आफ्नो लोकल प्रोडक्सन तयार गर्छन्,’ बराल भन्छन्, ‘बिजुलीले गर्दा सिँचाइलाई काम हुन्छ । सिँचाइबाट हामीले कृषिमा काम गर्न सक्छौं । यस्ता विषयमा मात्रै ध्यान दिने हो भने ३५ लाखमात्रै होइन, १ करोड पर्यटक भित्र्याउन सक्ने हामीसँग क्षमता छ ।’
कछुवा गतिमा विकास गरेर पर्यटनबाट समृद्धि हासिल गर्न नसकिने बरालको भनाइ छ । ‘पर्यटक घुम्न, रमाउन जान चाहने ठाउँमा हाम्रो बाटो राम्रो छैन । पर्यटनमा धेरै लगानी निजी क्षेत्रले गरेको छ,’ उनी थप्छन्, ‘सरकारले सुविधा दिनुपर्ने ठाउँमा अवरोध खडा गरिदिन्छ । अब ३५ लाख पर्यटकको लक्ष्य राखेर भीडमात्रै निम्त्याउनुको कुन तुक छैन । गुणस्तरीय पर्यटकका लागि सुविधा पनि गुणस्तरीय हुनुपर्यो ।’
नेपालमा ट्रेकिङ (पदयात्रा) का लागि आउने पर्यटकले दैनिक ५० देखि ६० डलरमात्रै खर्च गर्ने बराल बताउँछन् । ‘भुटानकै कुरा गर्ने हो भने त्यहाँ जाने पर्यटकले दैनिक १ सय ५० डलर खर्च गर्नैपर्छ,’ उनी भन्छन्, ‘अब हामीकहाँ जम्मा ६० डलरमात्रै खर्च गर्छन् । यसैबाट बुझ्न सकिन्छ, हामीसँग क्वालिटी पर्यटक छैनन् ।’
पछिल्ला केही वर्षदेखि पर्यटन क्षेत्रमा क्वालिटी टुरिस्टबारे बहस चलिरहेको छ । यसबारे बरालको सुझाव यस्तो छ– ‘धनाढ्य व्यक्ति जो घुम्नका लागि चार्टर फ्लाइट गरेर नेपाल आउँछन्, तिनीहरूलाई एयरपोर्टमा ल्यान्ड पर्मिट दिनुपर्यो । उनीहरूले खोजेका सुविधा उपलब्ध गराइदिनुपर्यो । हामीले सबै सुविधा उपलब्ध गराएपछि ऊ आफ्नो देश फर्केर गएर आफूजस्ता १० धनी नेपाल ल्याउँछ । त्यसलाई नै त क्वालिटी टुरिस्ट मानिन्छ ।’
‘क्वालिटी र क्वान्टिटी दुवै प्राथमिकता हो’
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पर्यटनबाटै समृद्धि हासिल गर्न पर्यटक संख्या र गुणस्तर दुवैमा ध्यान दिनुपर्ने बताउँछन् ।
‘नेपालको सन्दर्भमा हामी सधैं संख्याको पछि कुदिरहेका छौं, हाम्रो चार-पाँच ठाउँभन्दा बाहेक अन्त पर्यटक गएकै छैनन्,’ उनी भन्छन्, ‘हाम्रो सन् १९९८ को फोकस पनि संख्या नै थियो, त्यतिबेला अढाइ/तीन लाख पर्यटक थिए, फेरि ५ लाख चाहियो भनियो, त्यो लक्ष्य पूरा भएपछि १० लाख भनियो र अहिले आएर ३५ लाख पर्यटक भित्र्याउनुपर्छ भनेका छौं, हामी संख्याकै पछि कुदिरहँदा पनि गुणस्तरीय पर्यटक चाहिँदैन भनेका भने होइनौं, अझ धेरै चाहियो भनेका हौं ।’
लामिछानेका अनुसार ठाउँ-ठाउँमा गुणस्तरीय होटल खुल्ने क्रम जारी छ । सबै पर्यटक गुणस्तरीय मात्रै आए भने के गर्ने ? यो पनि अहम् प्रश्न हो ।
‘नेपालमा पाँचतारे होटल जम्मा १८ वटा मात्रै छन् । त्यसपछि तीनतारे, दुईतारे, एकतारे, गेस्टहाउस र होमस्टेमा गएर बस्ने को ?,’ उनी तर्क गर्छन्, ‘यसैकारण पर्यटक हामीलाई सबै किसिमका चाहिए । तर, अहिले देशले नम्बरमै फोकस गरिरहेको हुनाले संख्या बढ्दै जाँदा बिस्तारै भाउ बढाउँदै लगिएला र गुणस्तर छाँटिएला भन्ने हो ।’
निर्देशक लामिछानेका अनुसार देशमा क्वालिटी टुरिस्टकाे संख्या बढाउन गरिने प्रचारप्रसार र प्रवर्द्धनमा लक्जरी मार्केट सेग्मेन्ट हुन्छ । अमेरिका, बेलायत भनेका धनीमानी बस्ने ठाउँ हो । पहिलेदेखि नै धेरै धनी मान्छे त्यही देशमा छन् । चीनको पनि बेइजिङलगायत ठूला सहरमा धनीको बस्ती छ ।
‘त्यतातिर भएका लक्जरी ट्राभल मार्केट हन्टिङ गर्दै त्यसमा हाम्रो सशक्त उपस्थिति रहन्छ । अहिले भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश बनेको छ,’ उनी भन्छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी फेरि प्रधानमन्त्रीमा दोहोरिए तेस्रो मुलुक बनाउँछु भनेर कुदिरहेका छन् । भारतीय बजार ट्याप गर्नतिर पनि हामी लाग्नुपर्छ ।’
उनका अनुसार अहिले नेपालमा पनि पाँचतारे होटल बनेका छन् । तीनका पनि लक्जरी ब्रान्च छन् । यी सबैलाई लिएर गए नेपालले लक्जरी मार्केटमा हिट गर्न सक्छ ।
कति आए पर्यटक ?
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७६ पर्यटक नेपाल आएका छन् । यो संख्यामा भारतीय र अमेरिकी पर्यटकको हिस्सा उल्लेख्य छ । २०२२ को दाँजोमा यो संख्या ४ लाखभन्दा बढी हो । सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ पर्यटक आएका थिए ।
बोर्डका अनुसार २०२३ मा ३ लाख १९ हजार ९ सय ३६ भारतीय पर्यटक आएका छन् । २०१९ मा २ लाख ५४ हजार १ सय ५० आएका थिए । नेपालले हवाईमार्गबाट आउने भारतीयलाई मात्र पर्यटक मान्दै आएको छ ।
त्यस्तै गत वर्ष अमेरिकाबाट १ लाख ३ सय ५७ पर्यटक नेपाल आए । २०१९ मा ९३ हजार २ सय ४१ आएका थिए । उत्तरी छिमेकी चीनबाट ६० हजार ८ सय ७८ पर्यटक आए । २०१९ मा १ लाख ६९ हजार ५ सय ४३ आएका थिए ।