इलाम आउने पर्यटक संख्यामा वृद्धि, एक वर्षमा डेढ लाखले घुमे
फिक्कल । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०र८१ मा इलाम आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्यांकअनुसार आव २०८०/८१ मा १ लाख ४१ हजार ५ सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म १ लाख १७ हजार ७ सय ४० आन्तरिक र २३ हजार ७ सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए । सबैभन्दा कम भदौमा ९ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार १ सय २३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । पर्यटन सूचना केन्द्रको तथ्यांकअनुसार अघिल्लो आव २०७९र८० मा १ लाख ३३ हजार ४ सय ४५ पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८/७९ मा १ लाख २९ हजार ५ सय ८१ पर्यटक इलाम घुम्न आएका थिए । कोरोना संक्रमणका बेला आव २०७८/७९ मा २९ हजार ८ सय ११ जनामात्र इलाम घुम्न आएका थिए । ‘जोरकलश प्रवेशद्वारबाट भित्रिएका पर्यटकको तथ्यांकमात्र हामीसँग छ, अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट हजारौँ पर्यटक भित्रिने गरेका छन्,’ सूचना अधिकारी घिमिरेले भने, ‘कोरोनाकालपछिका पछिल्लो वर्षहरूमा जिल्ला भित्रिने पर्यटकको संख्या बढ्दो छ ।’ कोरोनाकालपछिका वर्षहरूमा जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको पाइएको हो । इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।
हिमालय एयरलाइन्सले कुवेतमा पुनः उडान सुरु गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान पुनः सुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्यधिक मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सीधा उडान पुनः सुरु गर्न लागेको हो । यो सिधा उडानले दुई राष्ट्रका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने कम्पनीको विश्वास छ । ग्राहक अनुभवलाई सुदृढ बनाउन कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ । सुरुमा सातामा एक उडान मात्र गर्ने कम्पनीले माग भएसँगै थप्दै लैजाने योजना छ । पहिलो उडान काठमाडौंबाट मध्यरात १२ बजेर ४० मिनेटमा उड्ने जहाज स्थानीय समयअनुसार कुवेत बिहान ३ बजेर १५ मिनेटमा पुग्नेछ । त्यसैगरी कुवेतबाट स्थानीय समय बिहान ४ बजेर १५ मिनेटमा उडान भर्ने र स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा काठमाडौं अवतरण हुने कम्पनीले जनाएको छ ।
नेपाल र भियतनामबीच दुई चार्टर उडान हुँदै
काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुने भएको छ । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले भियतनामसँग पर्यटक आदनप्रदान गर्न थप दुईवटा चार्टर उडान हुने भएको बताएको हो । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि पटकपटक चार्टर उडान हुँदै आएको कम्पनीले जनाएको छ । अब दसैँलगत्तै थप दुई चार्टर उडान हुन लागेको रुप्से होलिडेजले जनाएको छ । आउँदो असोज ३० गते (अक्टोबर १६ बाट ५) का दिन नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान हुने कम्पनीले बताएको छ । भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तय भएको छ । त्यसैगरी, नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार गरिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ । नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको कम्पनीले जनाएको छ । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको कम्पनीको भनाइ छ । भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर एक लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज रहेको छ । यो भ्रमण शुल्क मासिक पाँच हजारको किस्ताबन्दीमा समेत रहेको कम्पनीले जनाएको छ । जसमा १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दी सुविधा छ । उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको रुप्से होलिडेजले जनाएको छ । भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यमा घुमाइने बताइएको छ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ । दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराउने कम्पनीको भनाइ छ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बेुमा क्रुज सफारी हुने छ । भ्रमणको चौथो दिन ट्रेनस्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइने कम्पनीले जनाएको छ ।