तेस्रो मुलुकका लागि पूर्वीनाका खुला गरेसँगै पर्यटक आवागमन बढ्याे
झापा । पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २ सय २५ पर्यटकको आवागमन भएको छ । सोही अवधिमा १ सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन् । कार्यालयका प्रमुख मोहन पनेरुले बंगलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताए । उनले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताए । ‘धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्,’ उनले भने, ‘आन्दोलनका कारण उहाँहरूलाई नेपाल प्रवेशमा नाकामा कडाइ गरिएको छ, त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ ।’ कोरोना महामारी समाप्तिपछि मुलुकका अरू सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो । यो अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बंगलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिंगापुरलगायत विभिन्न देशका पर्यटकको आगमन भएको उनले बताए ।
भैरहवा र पोखरा विमानस्थलका लागि टिकट, ग्राउण्ड ह्याण्डलिङ र इन्धनमा छुट, २ वर्षसम्म सहुलियत
काठमाडौं । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामाा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको बताए । मन्त्री पाण्डेले कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिनु सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने योजना बनाएको बताए । ‘सरकारले उक्त समयभर दुई विमानस्थलको हकमा नलिने र सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि तोकिएको समयका लागि नलिने सहुलियत लिएका छौं,’ उनले भने । उनले सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको बताए । सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको उनले बताए । इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनेको उनको भनाइ छ । उनले अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको जानकारी दिए । विमानस्थलमा क्वारेन्टाइन चेकजाँचका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले गर्नुपर्ने गरी कार्ययोजना मन्त्रिपरिषद्मा पेस भएको उनले बताए । सरकारले विमानस्थलमा दिने सहुलियतले विमानस्थल पूर्णरूपमा सञ्चालन हुने विश्वास उनको छ । उनले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएको भन्दै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्ने प्रयास गरिरहेको बताए । उनले पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना भएकाले परियोजना निर्माणमा राज्यको क्षतमा भन्दा ठूलो लगानी भए पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा परियोजना बनाउनको लागि लिएको ऋणको साँवा ब्याज समेत भुक्तानीमा समस्या रहेको बताए ।
कालिञ्चोक दर्शनको नाफासँगै बढ्यो ईपीएस, यस्ता छन् अन्य सूचक
काठमाडौं । कालिञ्चोक दर्शनको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ७.७५ प्रतिशत बढेर २ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको आम्दानी २३.२२ प्रतिशत बढेर ८ करोड ५४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेर ८ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेर ४ करोड २५ लाख रुपैयाँ र वित्तीय खर्च २१.७३ प्रतिशत बढेर १ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५९ करोड ६३ लाख रुपैयाँ र जगेडा कोष ३२.७४ प्रतिशत बढेर ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा बढेर ४.४७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ रहेको छ ।