नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रूपमा सम्मानित

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रुपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको हो । नेपाल फ्रेट परवार्डर्स एसोसिएसनद्वार सोमबार काठमाडौंमा आयोजित ३०औं कार्गो दिवसका अवसरमा उक्त सम्मान प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको हो । सम्मानबाट कार्गो व्यापार बढाउन थप हौसला प्राप्त भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । उनले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यमा ‘डेन्जरस गुड्स’ लगायतका कार्गो ढुवानी गर्दै आइरहेको भन्दै यस कार्यमा सहयोग गर्ने सबै सरोकारवाल, कार्गो एजेन्ट कर्मचारीलगायतलाई धन्यवाद दिए ।

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेएको नेपाल पन्छीविद् संघले जनाएको छ । नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए । स्पोटेड फ्लाइक्याचर अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए । समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको सो चराको तस्विर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएका थिए । उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए । धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ । जाडो याममा यिनीहरु नियमित रुपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताए । ‘देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ’, वाइल्डलाइफ फोटोग्राफरसमेत रहेका श्रेष्ठले भने, ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।’ नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेका थिए । रासस

विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझावपत्र 

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवा सुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् । निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्यटनमन्त्री पाण्डेलाई उनको कार्यकक्ष सिंहदरबारमा भेटी मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् । निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गर्दै जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्न उनीहरुले माग गरेका छन् । एयरहोस्टेसको सुझावपत्र बुझ्दै पर्यटनमन्त्री पाण्डेले मागप्रति सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताएको भेटमा सहभागी ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान) का अध्यक्ष प्रभा कार्कीले जानकारी दिइन्। आफूहरु कर्मचारी सञ्चयकोषदेखि विभिन्न सेवासुविधाबाट वञ्चित रहेको र अन्यायमा परेकाले समस्या सम्बोधन गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको उनले बताइन् । नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् । नेपाल एयरलाइन्समा करिब एक सय ७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले जानकारी दिइन् । एसोसिएसनका अध्यक्ष कार्की नेतृत्वको करिब ३५ जनाको टोलीले मन्त्री पाण्डेसँग सामूहिक रुपमा भेट गरेको हो । नेपाल वायुसेवा निगम ऐन, २०१९ र निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी विनियमावली, २०५८ (संशोधन सहित) अन्तर्गत रही कार्यरत छन् । करार सेवामा नियुक्त गरिएका अन्य कर्मचारीहरुभन्दा एयरहोस्टेसलाई भेदभावको व्यवहार गरिएको एसोसिएसनका अध्यक्ष कार्कीले बताइन् । एयरहोस्टेस नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी (संशोधन) विनियमावली, २०५८ को विनियमबमोजिम ‘क्याबिन क्रू’ का रुपमा परिभाषित छन्भने विमान चालक (पाइलट) हरु ‘ककपिट क्रू’ का रुपमा छुट्टै परिभाषाअन्तर्गत राखिएको छ । संसारका धेरै मुलुकहरुमा पाइलट र एयरहोस्टेसलाई  ‘फ्लाइड क्रू’ का रुपमा परिभाषा गरी एउटै वर्गको सेवामा राखिएको भन्दै समान व्यवहार गर्न माग गरिएको छ । ‘निगमका पदाधिकारी, कर्मचारी, इन्जिनियर, पाइलट तथा अन्य विभागमा कार्यरत कर्मचारीको सेवा आकर्षक छ, बढुवाको र निवृत्तिभरणको व्यवस्था छभने दुर्घटनामा अशक्त वृत्तिको राम्रो प्रबन्ध छ । सेवाको प्रकृति अनुकूल हामीले विमानको व्यवस्थापनको महत्वपूर्ण सेवा गरेकाले हामीहरुलाई फरक व्यवहार गरिनु र सेवा सर्तका रुपमा ठूलो विभेदको सिकार हुनुले हामीलाई गम्भीर पीडा दिँदै आएको छ’, सुझावपत्रमा उल्लेख छ । ‘एयरहोस्टेसलाई कुनै सेवा र सुविधाको सुनिश्चितता नुहनु, दुर्घटनामा पर्दासमेत विमान परिचारक र परिचारिकाले कुनै खालको अशक्त वृत्तिको व्यवस्था नहुने, सेवामा रहँदा समेत बढुवाको व्यवस्था नहुनु, जिन्दगीभर एउटै पदमा उही रुपमा काम गर्नु, र निस्केको दिन खाली हात निस्कनुपर्ने’ विनियमावलीको व्यवस्थाले पीडा दिएको उहाँहरुको गुनासो छ । एयरहोस्टेस विगत १७ वर्षदेखि एउटै पदमा  कार्यरत रहेका छन् ।