मलेसियामा ५८ प्रतिशतले एआई प्रयोग गर्छन् किनमेलमा
काठमाडौं । मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धि मत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित भइरहेका छन् । हालै सार्वजनिक भएको एक सर्वेक्षणअनुसार ५८ प्रतिशत मलेसियालीले किनमेल गर्दा कृत्रिम बुद्धि मत्ताको सहारा लिने गरेका छन्, जुन संख्या विश्वको औसत ३७ प्रतिशतभन्दा धेरै हो । आद्येन खुद्रा प्रतिवेदन २०२५ अनुसार, मलेसियाली उपभोक्ताहरू किनमेल गर्दा नयाँ वस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन तथा राम्रो निर्णय गर्न कृत्रिम बुद्धि मत्ताको प्रयोग गर्दै आएका छन् । सर्वेक्षणले मलेसियामा ७१ प्रतिशत व्यक्तिहरूले भोजन, लुगा तथा अन्य सामानको विचार लिन कृत्रिम बुद्धि मत्ताले सहयोग गरेको देखाएको छ । यस्तै, ६९ प्रतिशतले आफूले नचिनेका नयाँ सामग्री र ब्रान्ड चिन्न यसले मद्दत गरेको बताएका छन् । त्यस्तै, १८ प्रतिशतले आफूले कल्पना गरेको उत्कृष्ट वस्तुको विचार कृत्रिम बुद्धि मत्ताबाट पाएको बताएका छन्। साथै, ६० प्रतिशतले भविष्यमा यस्ता उपकरणमार्फत सिधै सामान खरिद गर्न इच्छुक रहेको बताएका छन् । प्रतिवेदनमा भनिएको छ,“हामी अहिले सहज प्रविधिबाट बुद्धिमान प्रविधितर्फ जाँदैछौ । अबको समयमा कृत्रिम बुद्धिमत्ता व्यक्तिगत किनमेल सहायकका रूपमा कार्य गर्नेछ- जसले लुगा मिलाउने, नयाँ सामग्री देखाउने र व्यक्तिगत रूपमा सुझाव दिने कार्य गर्नेछ ।’
रसुवाको चन्दनबारीमा नेपाल टेलिकमको टुजी सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले दुर्गम भेगसम्म दूरसञ्चार सेवा विस्तार गर्ने अभियानअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने चन्दनबारीमा टुजी बीटीएस सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा रहेको उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले विशेष महत्त्व बोकेको छ। धार्मिक तीर्थस्थल गोसाइँकुण्ड जाने तिर्थालु र पदयात्रीलाई लक्षित गर्दै टेलिकमले धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गमा पर्ने चन्दनबारीमा सेवा सञ्चालन गरेको हो । नयाँ टुजी सेवा सञ्चालनसँगै धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक हुँदै ४ हजार २०० मिटर उचाइमा रहेको गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको कम्पनीले जनाएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लाग्ने मेलामा हजारौं श्रद्धालु पुग्ने गर्दछन्। नयाँ सेवा सञ्चालनले तीर्थालु, पर्यटकसहित स्थानीय बासिन्दालाई सञ्चारमा सहजता पुग्ने विश्वास गरिएको छ । नेपाल टेलिकमले हिमाली तथा विकट क्षेत्रमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुरूप कम प्रतिफल र उच्च लागतका बाबजुद पनि यस्तो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ । आगामी दिनमा उच्च हिमाली क्षेत्रतर्फ फोरजी नेटवर्क सेवा विस्तार गर्ने योजना समेत रहेको टेलिकमले जानकारी दिएको छ।
प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सुरु : फुटबल खेल्ने रोबोटलगायतका ५० परियोजना
काठमाडौं । टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा सुरु भएको छ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रदर्शनी साउन २५ गतेसम्म चल्नेछ । कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशालाहरू, बिजनेस स्टल, क्लबका गतिविधि र रमाइला खेलहरू यसका आकर्षण रहनेछन् । यो कार्यक्रम प्लस टू उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आइटिमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ । प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क छ । विद्यार्थीद्वारा निर्मित परियोजनाको प्रदर्शनी, अमेरिकासँग सम्बद्ध प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलले बीएससी आइटी, एमएससी आइटी, बीबीए, एमबीए, डाटा एनालिटिक्स र आइटीमा एमबीएजस्ता कार्यक्रम सञ्चालन गर्छ । यो इभेन्टमा बीएससी आइटीका अन्तिम वर्षका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन् । करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्पवृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने) लगायत छन्। उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सेवामा उपयोगी हुनेगरी विकास गर्ने विद्यार्थीहरूको भनाइ छ । साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने कसीले बताए । स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली) र टुरिजम प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन् । प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ । स्कुलको स्टार्टअप इन्कुबेसन सेन्टरले यी परियोजनालाई व्यावसायिक बनाउन सहयोग गर्छ । आइटी र बिजनेस विद्यार्थीहरूको सहकार्यले यी परियोजनालाई बजार र लगानीका लागि तयार पारिन्छ । हाल १ हजार २०० विद्यार्थी अध्ययनरत यो स्कुलमा ८० भन्दा बढी प्राध्यापक र २० भन्दा बढी व्यवस्थापन कर्मचारी छन् । प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङले वेस्टक्लिफ युनिभर्सिटीको सहकार्यमा क्रेडिट ट्रान्सफर सुविधाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनको थप अवसर दिने जानकारी दिइन् ।