एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ । यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो । नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका रुपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता अर्यालले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोसेढुङ्गाका रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताका लागि शुभकामना पनि व्यक्त गरिन् । सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।
एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक र क्यानको संयुक्त पहलमा यो प्रायोजन सम्झौता सम्पन्न भएको हो । ब्राण्ड लजिकले यसअघि एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकिएको छ । प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान मा सञ्चालन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रशारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग प्रशारण सम्झौता गरिएको छ ।
नेपाल टेलिकममा रोबोट सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए । उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । ‘अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ’, उनले भने, ‘सामान्य सोधपुछदेखि एनटिसी सेवाका छसय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।’ रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए । रोबोटले सेवाग्राहीका एनटिसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ । साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।