डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गर्यो
काठमाडौं । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो कार्डमार्फत सक्रिय डिशहोम ग्राहकहरूले देशभरका विभिन्न सेवा प्रदायकहरूबाट विशेष छुट र सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ‘माइ डिशहोम एप’ मा उपलब्ध यो डिजिटल कार्डले ग्राहकहरूलाई प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । सुरुवाती चरणमा १० प्रतिष्ठित ब्रान्डका ३५ आउटलेटहरू यो कार्डको नेटवर्कमा समावेश गरिएको छ । साझेदार ब्रान्डहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप (जसअन्तर्गत देशका विभिन्न स्थानमा होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफेहरू छन्), होटल ले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स (हरकपुर, मौलाकाली, बागलुङ), मेलुङ ठकाली, साकी एण्ड फेङ रेस्टुरेन्ट (काठमाडौं), लुम्बिनी केबलकार, मौलाकाली केबलकार (गैडाकोट, चितवन) र अचार घर (कमलपोखरी, कुपन्डोल) रहेका छन् । डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भनिन्, 'भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।' डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्ड र आउटलेटहरूसम्म सेवा विस्तार गर्ने योजना बनाएको छ। यस अन्तर्गत थप अफरहरू र श्रेणीहरू समावेश गरिनेछन् । डिशहोमका सक्रिय ग्राहकहरूले ‘माइ डिशहोम एप’ (प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गरी) प्रयोग गरेर आफ्नो भर्चुअल कार्ड देखाई साझेदार आउटलेटहरूमा छुट पाउन सक्नेछन् ।
एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । यससँगै अब ग्राहकहरूले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी सधैं अन रहन सक्छन् । एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीहरुलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार गर्दै, सोमबारबाट लागु हुनेगरी भारत जाने ग्राहकहरूका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो । भोल्टे दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । यसले फोरजी नेटवर्कमार्फत अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्दछ । यो सेवा थपिँदा पहिला नै उत्कृष्ट रोमिङ अफरको फाइदा लिइरहेका एनसेलका ग्राहकहरूका लागि भारत रोमिङ अझै परिस्कृत भएको छ । विभिन्न उद्देश्यका साथ नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकसमेत सबै ग्राहकलाई उत्कृष्ट डेटा र भ्वाइस सेवा अनुभव प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ । ग्राहकहरुलाई भारत भ्रमणका बेलामा गुणस्तरीय सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गर्न पाएकोमा कम्पनी खुसी रहेको र थप अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षणहरू गरिरहेको एनसेलले जनाएको छ । एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल, र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलस लगायतका प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको छ । इनबाउन्ड भोल्टे रोमिङका लागि, एनसेलले एयरटेल र जियो (भारत), चाइना मोबाइल (चीन), ओरेडू (कुवेत), मोबिली (साउदी अरेबिया), एटी एन्ड टी (अमेरिका) र भियटेल (भियतनाम)का ग्राहकहरूलाई भोल्टे रोमिङ सेवा दिँदै आएको छ ।
इन्टरनेट सेवामा शीर्ष ५ कम्पनीको प्रभुत्व, कसका ग्राहक कति ?
काठमाडौं । इन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरुको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार शीर्ष पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् । प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्म हाल देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स ब्रोडब्याण्ड इन्टरनेट ग्राहक रहेकामा सबैभन्दा धेरै ग्राहक संख्या वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका छन् । १० लाख भन्दा बढी ग्राहक बनाएर अग्रस्थानमा रहेको यो कम्पनीको बजार हिस्सा ३१.१७ प्रतिशत पुगेको छ । ग्राहक संख्याको हिसाबले दोस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडले पनि पछिल्लो समय तिब्र रुपमा बजार विस्तार गरेको छ । डिस मिडियाका ३ लाख ६१ हजार ३९४ ग्राहक छन् भने बजार हिस्सा ११.१२ प्रतिशत ओगटेको छ । यस्तै तेस्रो स्थानमा सरकारको प्रत्यक्ष लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ३ लाख ५४ हजार ४३८ ग्राहक रहेका छन् । सरकारी कम्पनीले एनटीसीले १०.९१ प्रतिशत बजार हिस्सा ओगटेको छ । बजार हिस्साको रुपमा चौथो स्थानमा रहेको भायानेट कम्युनिकेसन लिमिटेडका ग्राहक ३ लाख १९ हजार रहेका छन् । भायानेटले नेपाली इन्टरनेटको दुनियाँमा ९.८२ प्रतिशत बजार हिस्सा ओगटेको छ । अर्को कम्पनी सुबिसु केबलनेट लिमिटेडका ग्राहक २ लाख ९९ हजार रहेका छन् । यो कम्पनीले ९.२१ प्रतिशत बजार हिस्सा ओगटेको छ । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संख्या बढाउन चर्को प्रतिष्पर्धा चल्ने गरेको छ । क्लासिक टेकका ग्राहक संख्या हेर्ने हो भने १ लाख ८७ हजार १३७ रहेका छन् । यो कम्पनीको बजार हिस्सा ५.७६ प्रतिशत रहेको छ । यस्तै, वेबसर्फर नेपालका १ लाख ७५ हजार ६५९ ग्राहकहरु रहेका छन् । यसले ५.४१ प्रतिशत बजार हिस्सा ओगटेको छ । यस्तै, टेकमाइन्ड्स नेटवर्क इन्टरनेट प्रयोगकर्ता १ लाख ०१ हजार ५८० रहेका छन् । यो कम्पनीको बजार हिस्सा ३.१३ प्रतिशत रहेको छ । चौधरी ग्रुपको लगानी रहेको सिजी कम्युनिकेसन्सका ग्राहक ८२ हजार ८६० रहेका छन् । यसले २ दशमलव ५५ प्रतिशत बजार हिस्सा ओगटेको छ भने पछिल्लो समय सस्तोमा इन्टरनेट दिएको दावी गर्ने वाइफाइ नेपालका ग्राहक ८० हजार ३७१ रहेका छन् । यो कम्पनीले २.४७ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै ब्रोडलिंक नेटवर्कले १.६४, फाइबरवल्र्ड कम्युनिकेसनले १.३१, सजिलो नेटले १.६ प्रतिशत बजार हिस्सा ओगटेका छन् । एकप्रतिशत भन्दा कम बजार हिस्सा ओगट्नेमा फस्र्टलिंक कम्युनिकेसन, कनेक्ट नेपाल नेटवर्क, एरोनेट, चित्रवन युनिक नेट, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस नेटवर्क, आइ, जोनलगायतका कम्पनीहरु रहेका छन् ।