प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड २ लाख ७० हजार सहयोग
काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ रकम जम्मा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् । अविरल वर्षाका कारणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको बाढी-पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतस्वरूप टेलिकमले कोषमा रकम जम्मा गरेको हाे । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशनसमेत दिएक थिए ।
एनसीएचएल र स्मार्ट च्वाइस टेक्नोलोजीबीच नेपालपे कार्डका लागि समझदारी
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच नेपालपे कार्ड जारी तथा पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान तथा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरे । नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्ध रूपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र नेश्नल पेमेन्ट सिस्टम कार्यान्वयनको लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ । उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नको लागी एस्सीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरेपश्चात एनपीएस-एनसीएस एसएफको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र इन्टिग्रेट गर्न सक्नेछ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ, स्विचिङ तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमार्फत हुनेछ । एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंक वित्तीय संस्थालाई अन्य कार्ड स्कीमको प्रोसेसिङ र कार्ड सर्भिसिङकाे सुविधा प्रदान गर्दै आएको छ भने एस्सीटीले बैंक वित्तीय संस्थाहरूलाई कार्ड प्रोसेसिङको सेवा दिँदै आएको छ ।
एनसेल फाउन्डेसनले गर्यो बाढीपीडित प्रभावित ठाउँमा राहत वितरण
काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परी प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका ५ सयजना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरूप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएकाे हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामाग्रीहरू गुमाएका थिए । सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । यसैअनुरूप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको हाे । फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी, पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्डेसनले हालै मात्र राहत वितरण गरेको छ । यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरूसहित प्रभावित वडामा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री वितरण गरेको हो । एनसेलले सीएसआर परियोजनाहरू सञ्चालन गर्न आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको थियाे । कम्पनीले सीएसआर अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ । कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरुमा रु २ अर्ब भन्दा बढि योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १ करोड ३० लाख भन्दाबढिलाई लाभ प्रदान गरिसकेको दावी गरेकाे छ ।