गुगलको एआई डीपमाइन्डका सीईओ भन्छन्– डीपसीकको एआई मोडेल राम्रो तर प्रचार ‘अतिरञ्जित’
काठमाडौं । गुगलको डीपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिसले डीपसीकको एआई मोडेल चीनबाट आएको ‘सबैभन्दा राम्रो काम’ तर प्रचार ‘अतिरञ्जित’ भएको बताएका छन् । उनले डीपसीकमा कुनै नयाँ वैज्ञानिक प्रगति नदेखिएको दाबीसमेत गरे । पछिल्लो महिनामा चीनको डीपसीकले एउटा अनुसन्धान पत्र प्रकाशित गरेको थियो, जसले विश्वव्यापी बजारलाई हल्लाइदियो । उक्त पत्रमा डीपसीकले आफ्नो एआई मोडेललाई अन्य प्रमुख एआई कम्पनीहरूको तुलनामा निकै कम लागतमा र कम विकसित एनभीडीया चिपहरू प्रयोग गरेर प्रशिक्षण दिएको दाबी गरेको थियो । डीपसीक ६ मिलियन डलरभन्दा कम खर्चमा बनेको हो । जसले गर्दा अहिले ठूला प्रविधि कम्पनीहरू एआई पूर्वाधारमा धेरै खर्च गरिरहेका छन् कि भनेर व्यापक बहस चलिरहेको छ । सीईओ हासाबिसले डीपसीकको मोडेललाई ’एक प्रभावशाली काम’ भनेर प्रशंसा गरे । ‘मलाई लाग्छ यो चीनबाट आएको सबैभन्दा राम्रो काम हो,’ हासाबिसले आइतबार पेरिसमा आयोजित गुगलको कार्यक्रममा भने । यो कार्यक्रम एआई एक्शन समिटको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो । डीपमाइन्डका सीईओले डीपसीकको मोडेलले उनीहरूले ’एकदमै राम्रो इन्जिनियरिङ’ गर्न सक्ने देखाएको र यो ’भू–राजनीतिक रूपमा पनि परिवर्तन ल्याउने’ काम गर्न सक्ने बताए । तर प्रविधिको दृष्टिकोणले हेर्दा हासाबिसले यसमा ठूलो परिवर्तन नभएको दाबी गरे । ‘प्रचार भएजस्तै, यहाँ कुनै नयाँ वैज्ञानिक खोज छैन… यो पहिल्यै प्रचलित प्रविधिहरू प्रयोग गरिरहेको छ,’ उनले भने । साथै उनले डीपसीकको प्रचार ’अलिकति अतिरञ्जित’ भएको बताए । डीपमाइन्डका सीईओका अनुसार गुगलले हालै सार्वजनिक गरेको जेमिनी २.० फ्लास मोडेलहरू डीपसीकको मोडेलभन्दा बढी प्रभावकारी छन् । डीपसीकको कम लागत र प्रयोग गरिएका चिपहरूबारेका दाबीहरू विशेषज्ञहरूले प्रश्न उठाएका छन् । उनीहरूका अनुसार चिनियाँ कम्पनीले आफ्नो मोडेल विकास गर्न अनुमान गरिएकोभन्दा बढी खर्च गरेको हुनसक्छ । एजीआई ५ वर्ष टाढा एआई जगतमा वर्षौंदेखि कृत्रिम सामान्य बौद्धिकता (एजीआई) कहिले आउँछ भन्ने बहस चलिरहेको छ । एजीआई भनेको मानिसहरूभन्दा बढी बुद्धिमान एआईलाई जनाउँछ । हासाबिसका अनुसार एआई उद्योग ’एजीआई’ को मार्गतर्फ अघि बढिरहेको छ,’ जुन उनले ’मानिसहरूसँग भएको सम्पूर्ण संज्ञानात्मक क्षमताहरू प्रदर्शन गर्ने प्रणाली’ भनेर वर्णन गरे । ‘मलाई लाग्छ, अब हामी धेरै नजिक छौं । सम्भवतः त्यस्तो प्रणाली बनाउन मात्र ५ वर्ष जति बाँकी छ, जुन निकै असाधारण हुनेछ,’ हासाबिसले भने । ‘मलाई लाग्छ, समाज यसका लागि तयार हुनुपर्छ र यसले ल्याउने प्रभावहरूबारे सोच्नुपर्छ । हामीले यसको फाइदाहरू लिनुपर्छ, ताकि पूरै समाज लाभान्वित होस्, तर हामीले यसका जोखिमहरू पनि व्यवस्थापन गर्नुपर्छ,’ उनले थपे । हासाबिसका विचारहरू अन्य एआई नेताहरूका विचारसँग मेल खान्छन् । यसै वर्ष ओपनएआईका सीईओ साम अल्टम्यानले भनेका थिए कि ‘हामीले परम्परागत रूपमा बुझेअनुसारको एजीआई कसरी निर्माण गर्ने भन्ने जान्दछौं ।’ तर, धेरै विशेषज्ञहरूले एजीआईसँग सम्बन्धित विभिन्न जोखिमहरूबारे चेतावनी दिएका छन् । सबैभन्दा ठूलो चिन्ता के हो भने मानिसहरूले आफैले निर्माण गरेका प्रणालीहरूमा नियन्त्रण गुमाउन सक्छन् । एआई वैज्ञानिकहरू म्याक्स टेगमार्क र योशुआ बेन्जियो ले हालै सीएनबीसीसँग कुरा गर्दै एजीआईको जोखिमबारे आफ्नो चिन्ता व्यक्त गरेका थिए । एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’
भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलामा अवओकनकर्ताको घुँइचो लागको छ ।आयोजकले एक विज्ञप्ति जारी गर्दै मेलामा सवै क्षेत्रका ब्यक्तिहरुले अवलोकन गरेको जनाएको छ । माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्टम’ मा प्रविधिप्रेमीहरूको घुँइचो लागेको हो । ३०औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । यो महाउत्सव सूचना प्रविधिका विकास र विस्तारलाई नजिकबाट चिन्ने अवसरको रूपमा प्रस्तुत भएको छ । आइतबारमात्रै बागमती प्रदेश सभा सदस्य इन्द्र बानियाँ, पूर्वमन्त्री गणेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, दिक्तेल नगरपालिकाका मेयर तीर्थराज भट्टराई, कम्प्युटेक ताइवानको तर्फबाट दक्षिण एसिया हेर्ने प्रतिनिधिहरू, नेपाल प्रहरीका डीआईजीहरू अरुण भण्डारी र कुमार न्यौपाने, कलाकार मिस पवी लगायतले क्यान इन्फोटेक अवलोकलन गरेका थिए । यसअघि नीति निर्माण तहका अधिकारीहरू, विभिन्न आयोगका प्रतिनिधिहरू तथा विभिन्न पालिकाका प्रमुख÷उपप्रमुख हरूले क्यान इन्फोटेक अवलोकन गरिसकेका छन् । सो अवसरमा उहाँहरूले डिजिटल नेपाल निर्माणका लागि क्यान इन्फोटेक जस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका हुने तथा सूचना सञ्चार प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। साथै नेपाली प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत उनीहरुले ब्यक्त गरे। क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, स्वदेशी स्याटलाइट, एआई उपकरण, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरूमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले जानकारी दिए । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरूमा शनिबार र आइतबार अवलोकनकर्ताको निकै भीड देखिन्थ्यो । विशेषगरी नेपाली विद्यार्थी, स्टार्टअप तथा इनोभेटरले तयार पारेका नवीनतम प्रविधि, एप्लिकेसन र प्रोजेक्टहरूमा अवलोकनकर्ता बढी झुम्मिएका छन् । यसअन्तर्गत मसिन लर्निङमा आधारित एआई टुलदेखि सेल्फ ड्राइभिङ कारसम्मका प्रडक्टमा आकर्षण देखिएको छ । त्यस्तै, स्वदेशी सफ्टवेयर निर्माताका उत्पादनमा पनि धेरैको झुकाव देखिएको छ । साथै, ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू एकै ठाउँमा पाउँदा प्रविधिप्रेमी उत्साही देखिएका छन् । नेपालीले विकास गरेका एआई प्रविधिहरूलाई विश्वव्यापी रूपमा प्रस्तुत गर्ने आवश्यकतामा सरोकारहरुले जोड दिएका छन् । डेटा आधारित विश्लेषणमार्फत प्रभावकारी, शुद्ध र भविष्यमुखी निर्णयहरू लिन सकिने भएकाले नेपाली एआई प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरूको मत छ । यसबाहेक, नेपाली नवप्रवर्तकहरूलाई समर्थन गर्न सकिएमा नेपाललाई भविष्यमा प्रविधिको महत्त्वपूर्ण केन्द्रको रूपमा उभ्याउन सकिन्छ भन्ने सरोकारवालाले जोड दिएका छन् । नेपाली स्टार्टअपहरूलाई उचित मञ्च प्रदान गर्ने, प्रशासनिक झन्झटहरू समाधान गर्ने आवश्यक प्रोत्साहन उपलब्ध गराउने जस्ता विषयहरू सरोकारवालाले उठाएका छन् । ब्राण्डिङ कम्पनीका स्टलहरू मुख्य हलभित्र रहेका छन् भने साना कम्पनीहरू ट्रसमा रहेका स्टलहरूमार्फत आफ्ना वस्तु तथा सेवाको प्रचारमा जुटेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरूले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्यसमेत गरिरहेका छन् । क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले क्यान इन्फोटेकमार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताइन् । अध्यक्ष घिमिरेका अनुसार यसपटक अनावश्यक भीडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरू बढी आएका छन् । कुल १४० स्टल रहेको क्यान इन्फोटेक २०२५ मा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । सोमबार प्रदर्शनीकर्ताहरूले थप विशेष अफर ल्याउने तयारी गरेका छन् । साथै रोबोटिक्स एसोसिएसन नेपालले लाइभ रोबोटिक्स कम्पिटिसन तथा अवार्ड कार्यक्रम गर्नेछ । यसैबीच क्यान इन्फोटेकको आज (सोमबार) अन्तिम दिन रहेकाले अवलोकनकर्तालाई मध्यनजर गर्दै ६ बजेसम्म टिकट खुला गरिएको छ ।
आफ्नै स्याटेलाइट निर्माण र एआइ नीति ल्याउने योजनामा छौं : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटी क्षेत्रमार्फत लिनुपर्ने बताएका छन् । भारतीय दूतावासले आयोजना गरेको ‘सेकेण्ड इण्डिया–नेपाल स्टार्टअप कनेक्ट कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले अहिले सूचना प्रविधिको युग भएकाले दुई देशबीचको सम्बन्ध जोड्ने आधार सूचना प्रविधि रहेको बताए । उनका अनुसार नेपाल र भारतबीचको सांस्कृतिक, भावनात्मक र खुला सिमानाको अन्तर सम्बन्धलाई अब नवीन कार्यमा रुपान्तरण आवश्यक छ । आइटी क्षेत्रमार्फत दुई देशबीचका युवाबीच ‘इनोभेटिभ’ कार्यमा सहकार्यको आवश्यकता उनले औँल्याए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपालले आइटी क्षेत्रमा पूर्वाधार निर्माण, बजार विस्तार र ‘डिजिटल फ्रेमवर्क’मा कार्य सम्पादन गर्दै आएको उल्लेख गरे । उनले नेपालको आफ्नै स्याटेलाइट निर्माण गर्ने, ‘डिजिटल लिटरेसी’ विस्तार गर्ने, एआइ नीति ल्याउने सरकारको योजना रहेको जानकारी दिए । ‘हामीले अब नेपाल र भारतबीच नवप्रवर्तन मार्फत सहकार्य गर्न सक्छौँ । यसले दुई देशको सम्बन्ध विस्तारसँगै अर्थतन्त्रमा टेवा पुर्याउँछ,’ उनले भने । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाली र भारतीय नवप्रवर्तनबीच सहकार्य गरेर उद्यमशीलतामा प्रोत्साहन गरिने बताए । भारतीय सरकारले नवप्रवर्तनमा युवा विशेष लगानी गर्दै आएको र नेपालले पनि प्रयास गरेको देखिएकाले दुवै देशबीचको सहकार्यमा थप उपलब्धिपूर्ण बनाउन सकिने धारणा राखे । राजदूत श्रीवास्तवले भारतमा आगामी अप्रिल ३ देखि ५ तारिखमा हुन लागेको नवप्रवर्तन महाकुम्भमा सहभागी भइ एकअर्काको सिर्जनात्मक कार्य साझेदारी गर्न अनुरोध गरे ।