दूरसञ्चार प्राधिकरणलाई ६१ कम्पनीले टेरेनन्, तत्काल ४ प्रतिशत रोयल्टी तिर्न ताकेता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी विभिन्न ६१ वटा कम्पनीलाई असोजभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो । प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवर र सो विवरण अनुसार बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत रकम ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम छुट्याउनु पर्ने हुन्छ । यसअघि गत पुसभित्र उक्त रकम बुझाउन ताकेता गरेको भएपनि हालसम्मपनि दाखिला नगरेको प्राधिकरणले जनाएको छ । त्यसैले सेवाप्रदायक ६१ कम्पनीले आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको कूल आम्दानीको रोयल्टी र कोष वापतको रकम र वित्तीय विवरण सहित बुझाउन प्राधिकरणले निर्देशन दिएको हो ।

मोबाइलबाटै काट्न सकिन्छ काठमाडौंबाट ४३३ गन्तव्यको टिकट

काठमाडौं । दसैँका लागि काठमाडौं उपत्यकाबाट देशका विभिन्न गन्तव्यमा जानका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । शनिबार टिकट खुलेसँगै भारी वर्षाका बाबजुद पनि यात्रुहरू बसपार्क र उपत्यकाका अन्यत्र रहेका टिकट काउन्टरमा लाइन लागेर टिकट काटिरहेका छन् । प्रविधिमा जानकार रहेका केहीले भने अनलाइनबाटै टिकट काटिरहेको भए पनि यसबारे जानकारी अभावका कारण झरी र जोखिमको पर्वाह नगरी धेरै मानिस टिकट काउन्टरसम्म धाइरहेका छन् । यसैबीच, अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भने प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न अनुरोध गरेको छ । विगत केही दिनदेखिको निरन्तर भारी वर्षाका कारण उपत्यकाका धेरै सडक क्षतिग्रस्त भएको र पूर्ण रूपमा मर्मत भई आवागमन सहज नभइसकेको अवस्थामा टिकट काउन्टरमा लाइन लागेर समय खर्च गर्नुको सट्टा घरैबाट आफैँसँग भएको मोबाइलबाट टिकट काट्न सकिने व्यवस्था बससेवाले गरेको हो । बससेवाले शनिबारदेखि नै देशभरका विभिन्न ४३३ गन्तव्यका लागि टिकट बुकिङ खुलाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने कम्पनीले जनाएको छ । यति मात्रै होइन, देशका जुनसुकै स्थानबाट पनि काठमाडौंबाट छुट्ने गाडीको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । यसका साथै बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्तासँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ । लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ । सरकार तथा यातायात व्यवसायीले यस पटक अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकताअनसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । ‘विगतमा अनलाइनमार्फत् काटिने टिकटको कोटा थोरै हुँदा अपेक्षित रूपमा टिकट उपलब्ध गराउन असहज हुने गरेको थियो,’ खनालले भने, ‘तर अहिले त्यो समस्या हटेको छ । आवश्यकताका आधारमा टिकट उपलब्ध छ ।’ खनालका अनुसार बससेवामार्फत काठमाडौंबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ । ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमै बसेर टिकट बुकिङ गर्न सक्ने बताइएको छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई धेरै सहज हुने विश्वास कम्पनीले लिएको छ ।

नेपाल टेलिकमको दशैंलक्षित अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले दशैंतिहार तथा छठलगायतका पर्वको अवसरमा अफर सार्वजनिक गरेकाे छ । अफर असोज १३ गतेदेखि सुरु भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुने टेलिकमले जनाएकाे छ । अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५०० रुपैयाँ मिनाहासमेत गरिएको छ । यसैगरी, दशैं अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै २५० रुपैयाँमा एक हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको एक हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा एक हजार अन नेट एसएमएस सुविधाको एक हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।