एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्ड’

काठमाडौं, २५ कार्तिक । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दुरसंचार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । उक्त अवार्ड एनसेललाई अन्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’ को एक भव्य समारोहमा बुधबार प्रदान गरेको हो । नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरुलाई प्रदान गरिएको हो । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । “ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विविध संचार सेवाको आवश्यकतालाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक सम्मान पाएकोमा हामी हर्षित छौं । यो अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्यसम्पादनको प्रमाण हो,” पर्किन्सले भने । कम्पनीहरुको वास्तविक बजार सम्पादन सूचकहरु, समग्र विकास, नविनता र नेपाली अर्थतन्त्रमा पुर्याइको योगदान लगायतका आधारमा कडा मापदण्ड भित्र रहेर अवार्ड पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो । “एनसेलको सफलता नेपालको सामाजिक तथा आर्थिक विकासका लागि काम गरिरहेका हाम्रा सम्पुर्ण कर्मचारी तथा साझेदारहरुको कठिन परिश्रम र समर्पणको फल हो । हामी हाम्रा ग्राहकहरुको भरोसा, प्रतिक्रिया तथा संलग्नताको लागि आभारी छौं, जसले गर्दा एनसेलले स्वदेशमा तथा विदेशमा विभिन्न सम्मान पाउन सफल भएको छ,’’ पर्किन्सले भने । एनसेल उत्कृष्ट तथा दिगो सेवा प्रदान गर्न कटिवद्ध रहेको कुरा पर्किन्सले बताए । सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गत फेबु्रअरीमा एनसेलले मोबाईल इन एमर्जन्सी एण्ड ह्युम्यानिटेरियन सिचुयसन्स् विधा अन्र्तगत जिएसएम एसोसिएसनले प्रदान गरेको ग्लोबल मोबाईल अवार्ड र गत महिना सिङ्गापुरमा फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।

टेलिकमको नाममा झुटो ‘लोटरी’ फैलियो, टेलिकमले भन्यो ‘सावधान’!

काठमाडौं, २३ कात्तिक। नेपाल टेलिकमले कुनै पनि प्रकारको लोटरी कार्यक्रम सञ्चालन नगरेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ । +९२३००५३५८६६४ जस्ता नम्वरबाट कल करी नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको लोटरी कार्यक्रममा ठूलो रकम परेको भन्दै बैंक खाता नम्वर माग्ने गरेको भन्दै त्यसबाट बच्न आग्रह गरेको हो । ‘रकम ट्रान्सफर गर्न भन्दै बैंक खाता,एटिएम पिन मागेर बैंकको रकम ठगि गरिएको पाइएको छ’ टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ । टेलिकमले कुनै पनि व्यक्ति वा संस्थासँग मिलेर यस्तो कार्यक्रम सञ्चालन नगरेकोले यस्ता ठगीबाट बेलैमा बच्न सतर्क गराएको हो ।

माइक्रोसफ्टद्वारा ‘विन्डोज ७’ र ‘विन्डोज ८’ को उत्पादन र विक्रि बन्द

काठमाडौं, २३ कात्तिक। अमेरिकन टेक जाइन्ट माइक्रोसफ्टले उसको अघिल्लो भर्सनको विन्डोज ७ र विन्डोज ८ को विक्रि बन्द गरेको घोषणा गरेको छ। अब यी अपरेटिङ सिस्टमहरु नयाँ कम्प्युटर र ल्यापटपमा इन्स्टल गरेर विक्रि नगर्ने कम्पनीले जनाएको छ। विश्वचर्चित म्यागेजिन फोब्सले बताएअनुसार कम्पनीले अब ओरिजिनल विन्डोज ७ र विन्डोज ८ को विक्रि वितरण र विश्वका कुनैपनि देशमा सिपमेन्ट नगर्ने जनाएको छ। उत्पादन र विक्रिवितरण बन्द गरेपनि  कम्पनीले विन्डोज ७ अपरेटिङ सिस्टमको अपडेट सन् २०२० सम्म उपलब्ध गराउने र विन्डोज ८ को भने सन् २०२३ सम्म उपलब्ध गराउने जनाएको छ। उसले विन्डोज १० को विक्रि बढाउनका लागि पुरानो भर्सनको विन्डोज अपरेटिङ सिस्टमलाई वन्द गरेको जनाएको छ। इलेक्ट्रोनिक्स कम्पनी डेल र तोसिवामा विन्डोजको अपरेटिङ सिस्टम सुरुमा नै राखिएर आउनेगर्थ्यो तर अब उनीहरुले पनि राख्नेछैनन् र यसको ठाउँमा ‘विन्डोज १०’ हुने जनाइएको छ। कम्पनीले यस बर्षको सुरुवातमा विन्डोज १० का लागि महत्वपूर्ण दुईवटा अपडेट गर्ने जनाएको थियो। माइक्रोसफ्टले विन्डोज ७ लाई सन् २००९ मा सार्वजनिक गरेको थियो भने विन्डोज ८ र ८.१ लाई सन् २०१२ मा सार्वजनिक गरेको थियो।