एनसेलले ल्यायो मोबाईल टिभी प्याक, अब मोवाईलबाटै अनलाइन टिभी हेर्न सकिने
काठमाडौं, १० कार्तिक । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक सेवा सुरु गरिएको जनाउँदै कम्पनीले भनेको छ–‘एनसेलले नविन सेवासहित दुरसञ्चार क्षेत्रमा एउटा कोसेढुङ्गा स्थापना गरेको छ ।’ चाडपर्वको अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्ने कम्पनीले जनाएको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मार्फत अनलाइन टिभी हेर्न सक्नेछन् । नेट टिभी, एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्ट्रिम्ज्सँग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ । यो मोबाईल टिभी प्याक बुधबार (कार्तिक १०) देखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क ३५ रुपैयाँ तोकिएको छ । १ घण्टाको प्याकको ६० रुपैयाँ, २ घण्टा र ३ घण्टा प्याकको मुल्य क्रमशः १०० रु १५० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । प्याकका शुल्कहरुमा कर समाबेश गरिएको कम्पनीले जनाएको छ । यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नविकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नविकरण हुनेछ । प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरिद गर्न सक्छन् । ‘‘मोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नविन सेवा ल्याउन पाएकोमा हामी निकै खुसि छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकितृत रुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मुल्य प्रदान गर्नेछ ।”
नेपाल टेलिकमको नयाँ एक्सचेन्ज रुपन्देहीको नहरपुरमा
काठमाडौं, १० कात्तिक । नेपाल टेलिकमले रुपन्देही जिल्लाको नहरपुरमा नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने बताएका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताइन् । साथै थ्रिजी सेवालाई प्रत्येक क्षेत्रमा पुर्याउन र फोरजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताइन् । बुधबार उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको बताएको छ ।
तपाईलाई अल्छि अनुभव भइरहेको छ, गुगलमा ‘आई एम फिलिङ क्युरियस’ सर्च गर्नुस्
काठमाडौं, ७ कात्तिक। गूगलले भर्खरै आफ्नो लोगो परिवर्तन गर्दै नयाँ फिचर पनि सार्वजनिक गरेको छ । नयाँ फिचरले आवश्यक जानकारी दिनुका साथै आलस्य भएको समयमा पढ्नका लागि रमाइला सामग्री पनि प्रस्तुत गर्छ । यसका लागि गूगलको सर्च इञ्जिन अर्थात् खोजका लागि टाइप गरिने बाकसभित्र अङ्ग्रेजीमा ‘आई एम फिलिङ क्युरियस’ वा ‘फन फ्याक्ट’ टाइप गर्नुपर्छ । यसो गरेपछि गूगलले पढ्दा रमाइला लाग्ने अनौठा प्रश्न र तिनको रोचक उत्तर पनि प्रस्तुत गर्छ । गूगलको फिचरले हाम्रा सामु राख्ने प्रश्नका बारेमा हामीले शायदै सोचेका हुन्छौं । यसो गर्दा कुनै एक विषयका बारेमा जान्ने अवसर त प्राप्त हुन्छ नै, लगत्तै तल अर्को प्रश्न सोध्ने विकल्प पनि प्रस्तुत हुन्छ । स्क्रिनमा लेखिएको ‘आक्स अनदर क्वेशन’मा क्लिक गरी आफ्नो चाहनाअनुसार विभिन्न विषयका बारेमा जानकारी लिन सकिन्छ । फुर्सदमा रहेर गूगलबाट केही जानकारीमूलक सामग्री पढ्न चाहने जो कोहीका लागि यो फिचर उपयोगी छ । अहिलेका लागि गूगलले अङ्ग्रेजी भाषामा मात्रै कमाण्ड लिइरहेको छ । तर, निकट भविष्यमा नै अन्य भाषामा समेत कमाण्ड दिन सकिने सम्भावना प्रबल छ । एजेन्सीको सहयोगमा