कखरा पढेको स्कुलमा कुलमान पुगे, इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे

रामेछाप १७, माघ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उनको जन्मथलोमा आइतबार अभिनन्दन गरिएको छ । राजधानी लगायत मुलुकका मुख्य सहर र गाउँको बर्षौदेखिको अँध्यारो हटाएको भन्दै बेथानस्थित डहु माविमा सम्मान गरिएको छ । कार्यकारी निर्देशक बनेपछि पहिलोपटक गाउँ आएका उनलाई माविमा इन्टरनेट सेवा जोड्ने कार्यक्रमको मुख्य अतिथि बनाइएको थियो । उनले इन्टरनेट र सीसीटीभी सञ्चालनको शुभारम्भ गरे । गाउँकै वृद्ध प्रतापसिंह तामाङले खादा लगाएर कुलमानको अभिनन्दन गरेका थिए । सम्मान गर्न भिड लागेको थियो । ”गाउँकै धुलोमा कखरा सिकेर चर्चाको शिखरमा पुगेका कुलमानलाई यो हैसियतमा पाउँदा हामीलाई ज्यादै गर्व लागेको छ” विद्यालयका प्रधानाध्यापक दलबहादुर लामाले भने । कान्तिपुर दैनिकबाट ।

सूचना प्रविधिको विकासमा ११ अर्ब ५० करोड खर्चिदै सरकार, आर्थिक समृद्धिको लागि सबै जिल्लालाई जोड्ने

काठमाडौं, १० माघ । सरकारले सूचना प्रविधिको विकासका लागि ११ खर्ब ५० करोड रुपैयाँ खर्चिने भएको छ । मध्यपहाडी लोकमार्गसँगै कनेक्टिभिटी गरी ‘इन्फरमेशन सुपर हाइवे’ निर्माणका सरकारले सो खर्चगर्ने तयारी गरेको हो । नेपालको सूचना प्रविधिको विकासको मेरूदण्डका रूपमा उक्त हाइवेलाई विकास गर्ने लागिएको हो । देशभरिका सबै जिल्ला सदरमुकाम तथा नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर सञ्जालको ‘लिज कनेक्टिभिटी’ तयार हुँदै छ । यसका लागि मेचीदेखि-महाकालीसम्ममा कुल ७ हजार ५ किलोमिटर लामो  अप्टिकल फाइबर तयार हुँदैछ । मध्यपहाडी लोकमार्गमा बिछ्याइने अप्टिकल फाइबरले आगामी २० देखि २५ वर्षसम्मको राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बताइएको छ । सरकारी क्षेत्रबाट परियोजनामा हुन लागेको सो लागनी दूरसञ्चार पूर्वाधारको क्षेत्रमा अहिलेसम्मकै बढी भएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । नवीन  प्रविधिहरूको  अधिकतम  उपयोग  गर्दै  सूचना  तथा  सञ्चार  सेवामार्फत्  सामाजिक, सांस्कृतिक विकास तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित उक्त परियोजना अघि बढाइएको हो । चौधौ योजनाको आधारपत्रमा मुलुकभरि सूचना तथा सञ्चारको सञ्जाल स्थापना गरी सूचनाको माध्यमबाट गुणस्तरीय सेवा पहुँचलाई समावेशी बनाइ आर्थिक विकास, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षण गर्दै राष्ट्र विकासको  योगदान टेवा पु¥याउने लक्ष्य सरकारले तोकेको छ । त्यस्तै बजेट तथा सरकारको नीति तथा कार्यक्रमले समेत यो परियोजना छिट्टै कार्यान्वयनमा लैजानले प्रतिवद्धता गरिएको थियो । मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर विच्छाउनका लागि प्रदेश नम्बर एक, दुई र तीन लागि सम्झौता गरिसकिएको छ भने प्रदेश चार र पाँचमा आवेदन मूल्यांकलन भइरहेको छ । छ र सातमा टेण्डर आह्वान भइरहेको छ । पूर्वी खण्ड उत्तर–दक्षिणी सडक र तीनओटै प्रदेशका ३२ जिल्लामा ४ अर्ब ८८ करोड रुपैयाँ खर्चेर कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने भएको छ । मध्यखण्डमा फाइबर बिछ्याउनका लागि कार्यका लागि प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान  गरेको छ । उक्त खण्डमा  १ हजार ४ सय ८२ किलोमिटर भूमिगत र ६ सय ३५ किलोमिटर एडीएसएस गरी कुल २ हजार १ सय १७ किलोमिटर अप्टिकल फाइबर बिछ्याइने छ । तेस्रो खण्डमा अप्टिकल फाइबर बिछ्याउन केही दिनअघि सूचना जारी गरेको छ । सुपर हाइवेको तेस्रो प्याकेजमा कुल २ हजार ५ सय १२ किलोमिटर अप्टिकल फाइबरबाट दुवै प्रदेशका १९ जिल्लामा कनेक्टिभिटी पुर्याउने सरकारको योजना छ । उक्त खण्डमा सो परियोजनको लागि लागि ३ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान छ । सो परियोजनाबाट शहरोन्मुख बस्तीका साथै उत्तर दक्षिण जोड्ने सडक हुँदै पूर्वपश्चिम राजमार्गसमेतलाई फाइबरले जोड्ने सरकारको तयारी छ । उक्त फाइबरबाट मुलुकभर  विभिन्न किसिमका दूरसञ्चार सेवाको विकासका लागि आवश्यक पूर्वाधार तयार हुने बताइएको छ । स्वदेशी लगानीमा बन्न लागेको इन्फरमेशन सुपर हाइवे दूरसञ्चार सेवाप्रदायक तथा इण्टरनेट सेवाप्रदायक सबै कम्पनीहरूले उपयोग गर्न पाउनेछन् । यसले सबैजसो सेवा प्रदायकमा सेवाग्राहीको पहुँच पुग्नुका साथै प्रतिस्पर्धाका कारण सस्तो तथा गुणस्तरीय सेवासमेत पाउन सक्ने अनुमान गरिएको छ । देशभरि अप्टिकल फाइबर विच्छाउने स्थानमा कालोपत्र सडक सञ्जालको अभाव छ । सो कारणले फाइबर बिछ्याउने कार्य केही अप्ठ्यारो देखिएको छ । सडक पिच हुन समय लाग्ने भएकाले प्राधिकरणले अन्य विकल्पको प्रयोगबाट फाइबर विस्तार योजनालाई अघि बढाउने भएको छ । जमीनमुनि त्यतिकै बिछ्याउँदा राजमार्ग निर्माणका क्रममा क्षति पुग्ने तथा बाढी तथा पहिरोले बगाउन सक्ने सम्भावना देखिन्छ । पिच भएको सडकमा अप्टिकल फाइबर र त्यसबाहेकको क्षेत्रमा एडीएसएस पोलमा तार झुण्ड्याएर उच्च क्षमताको माइक्रोवेभ प्रयोग गरिने बताइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको क्षेत्रमा रहेका विभिन्न सेवाप्रदायकबाट प्रत्येक वर्ष वार्षिक आम्दानीको २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषामा राख्दै आएको छ । आगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको उक्त परियोजना नेपालको दूरसञ्चार पूर्वाधारमा सरकारका तर्फबाट अहिलेसम्मकै ठूलो लगानी हो ।

‘इन्टरनेट सबैका लागि’ थिममा एनसेलले ल्यायो नयाँ आकर्षक डेटा प्याकहरु

काठमाडौं, ९ माघ । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मुल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्ने विश्वास कम्पनीले लिएको छ । आजदेखि लागू हुने यस योजनामा एनसेलले भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र पाँचवटा सरल शुल्कमा समेटेको छ, जसले ग्राहकलाई आफ्नो छनौटको डेटा प्याक लिन अझ सहज बनाएको छ । योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्छन् । अल टाइम डेटा प्याक चाहने ग्राहकले रु ९ मा २० एमबि, रु २० मा ५० एमबि, रु १०० मा ३०० एमबि, रु १५० मा ५०० एमबि र मात्र रु २५० मा १००० एमबि डेटा खरिद गर्न सक्नेछन् ।   डेटा ७ पैसा प्रति एमबि देखि ४५ पैसा प्रति एमबिको आकर्षक मूल्यमा उही मूल्यमा दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याक सबै नयाँ प्याकको समयावधि ३० दिनसम्म प्याक सकिए पनि समयावधि रहुन्जेल कर सहित मात्र रु १ प्रति एमबिको दरमा इन्टरनेट चलाउन सकिने डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । अर्थात् डे डेटा प्याक खरिद गर्ने ग्राहकले रु ९ मा ४० एमबि, रु २० मा १०० एमबि, रु १०० मा ६०० एमबि, रु १५० मा १००० एमबि र मात्र रु २५० मा २००० एमबि डेटा पाउने छन् । नाइट डेटा प्याक सुचारु गर्नेले रु ९ मा ८० एमबि, रु २० मा २०० एमबि, रु १०० मा १२०० एमबि, रु १५० मा २००० एमबि र मात्र रु २५० मा ४००० एमबि डेटा पाउने छन् । यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले १३ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ७ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु कर सहित हुन् । योजना अन्तर्गतका सबै प्याकको समयावधि ३० दिन रहेको छ  र प्याकको भोल्युम चाँडै सकिएमा ग्राहकले प्याकको बाँकी समयावधि भर मात्र रु १ प्रति एमबिको ‘पे एज यू गो’ दरमा इन्टरनेट चलाउन सक्नेछन् । सुलभ दरमा डेटा सेवाको फाईदा लिन ग्राहकले एस्ट्रिक्स् १२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् । ‘‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । हामी आशा गर्दछौ, यो अफरले बढी भन्दा बढी मानिस समक्ष इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने छ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । ‘‘यो अफरलाई पे एज यु गो शुल्कले थप बिशेष बनाएको छ जस अन्तर्गत प्याकको भोल्युम सकिएपछि पनि ग्राहकले रु १ प्रति एमबिमा प्याकको समयावधि नसकिएसम्म इन्टरनेट चलाउन सक्नेछन् ।’’ आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । यो अफर ९० दिन सम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।