प्रदेश नं ४ र ५ मा फाइवर विस्तारका लागि टेण्डर अाह्वान, कसले भाग लिन पाउँछन

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले प्रदेश नं ४ र पाँचमा अप्टिकल फाइवर विस्तार गर्नका लागि टेण्डरको आह्वान गरेको छ। प्राधिकरणले नुवाकोटको पाथिभन्ज्याङदेखि दैलेख जिल्लाको दुल्लुसम्मका लागि फाइवर विस्तार गर्नका लागि वोलपत्र मागेको हो। प्राधिकरणले प्रदेश नं १, २ र ३ मा नेपाल टेलिकमलाई अप्टिकल फाइवर विस्तार गर्न सम्झौता गरेको दुई दिन वित्न नपाउँदै पश्चिम क्षत्रको प्रदेश नं चार र पाँचका लागि पनि अप्टिकल फाइवर विस्तारका लागि टेण्डर आह्वान गरेको हो। दुवै प्रदेशका २१ जिल्ला समेट्नेगरी  फाइवर विस्तार हुनेछ। प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषमार्फत देशका पहाडी जिल्लामा अप्टिकल फाइबर पुर्याउने योजना अघि बढाएको हो। मध्य पहाडि लोकमार्ग भएर विस्तार हुने फाइवर प्रत्येक जिल्लाको सदरमुकाम हुँदै गाउँगाउँ पुग्नेछ। प्राधिकरणले प्रदेश ४ मा नुवाकोट र गोरखाको सिमानादेखि दैलेख जिल्लासम्म नौसय ९३ किलोमिटरका लागि र प्रदेश ५ मा नवलपरासीदेखि बर्दियासम्मको एकहजार एकसय २४ किलोमिटरका लागि नयाँ टेन्डरको तयारी गरेको हो। प्राधिकरणले यो प्रोजेक्टका लागि हाल भ्वाइस सेवा दिइरहेका मोवाइल अपरेटर र दश वटा नेटवर्क अपरेटरहरुलाई पनि प्रतिस्पर्धामा ल्याउनेगरी नियम बनाएको प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उनले नेटवर्क अपरेटरहरु लगानी र सहवित्तियकरणका लागि संयुक्त रुपमा जान सक्नेगरी प्राधिकरण सञ्चालक समितिले नियम पारित गरेको बताए। यसमा बढीमा तीन वटासम्म सेवा प्रदायकहरु भाग लिन सक्नेछन्। ग्रामिण दूरसञ्चार कोषमा भएको करिव १३ अर्ब रुपैयाँले अप्टिकल फाइबरसँगै गाउँगाउँका स्कुल,स्वास्थ चौकी र सार्वजनिक स्थानसम्म इन्टरनेटको पहुँच विस्तार गर्नुपर्ने प्रावधान छ। यसअधि १३ अर्ब रुपैयाँवाट प्रदेश नं १,२  र तीनका लागि टेलिकमले पाँच अर्ब रुपैयाँ पाइसकेको छ। अप्टिकल फाइबरमार्फत् प्रत्येक जिल्लामा सहज इन्टरनेटको पहुँच पुर्याउन २०५१ सालदेखि दुरसञ्चार सेवा प्रदायकहरुले कोषमा रकम जम्मा गर्दै आएका छन्। क कसले भाग लिन पाउँछन ? प्रदेश ४ र ५ का लागि भ्वाइस सेवा दिइरहेका नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएल, हेल्लो नेपाल र सिजी टेलिकमले भाग लिन पाउनेछन्। त्यस्तै नेटवर्क सर्भिस प्रोभाइडरवाट वर्डलिन्ङक कम्युनिकेसन, मर्कन्टाइन कम्युनिकेशन, हिमालयन अनलाईन सर्भिस, भायनेट कम्युनिकेसन, वेभसर्फर कम्युनिकेसन, सुविसु केवल नेट, ब्रोडलिन्क कम्युनिकेसन, रेडियस कम्युनिकेसन लगायत अप्टिकल फाइबरमा सहभागी हुन पाउने प्रवक्ता अर्यालले बताए।

गुगलले दक्षिण एसियाका लागि भारतमा डेटा सेन्टर राख्ने

अमेरिका। गुगलले भारतमा माइक्रोसफ्ट र अमेजनको भन्दा ठूलो डेटा सेन्टर बनाउने भएको छ। उसले सन् २०१७ सम्ममा सक्नेगरी क्लाउड बेस्ड डेटाबेस सेन्टर बनाउन लागेको हो। अमेरिकन टेक्नोलोजी जाइन्ट गुगलले सरकारी कार्यालय र फाइनान्सियल सर्भिस दिने कम्पनीहरुलाई लक्षित गरेर यो सेन्टर सञ्चालनमा ल्याइने जनाएको छ। गुगलले यसलाई ग्लोवल अनाउन्समेन्टको एउटा पार्ट भनेको छ। हरेक महादेशमा एउटा क्लाउड डेटा सेन्टर राख्ने योजनाअनुरुप उसले भारतपछि विश्वका आठ स्थानमा थप डेटा सेन्टर खोल्ने जनाएको छ। माइक्रोसफ्टले यसअघि नै भारतका तीन ठाउँमा डेटा सेन्टर खोलिसकेको छ भने अमेजनले गत जुन महिनामा भारतमै लोकल डेटा सेन्टर खोलेको थियो। यी दुवै कम्पनीहरुले भारतमा आफ्नो बर्चस्व हुने बताइरहेका छन्। गुगलका सिनियर भाइस प्रेसिडेन्ट उरस होल्जीले दक्षिण एसियामा गुडलको डेटा सेन्टरका मोटिभेटेड भएर माग भएको र धेरै जनासङ्ख्या भएका कारण प्रतिस्पर्धी कम्पनीसँग काम गर्नका लागि तयार रहेको बताएका छन्। गुगलले यसअघि नै क्लाउड डेटामा अरु कम्पनीसँग धेरै प्रतिस्पर्धा गरिसकेको छ। होल्जीले भारतमा निर्माण हुन लागेको सेन्टरमा अटोमेसनसहितको सुविधा रहेने र यो क्षेत्रका जनताको हिसावमा डेटा स्टोरेजको मूल्य पनि धेरै नपर्ने जानकारी दिए। गुगलले यसअघि नै आफ्नो क्याउडमा एक विलियन प्रयोगकर्ताको डेटा रहेको जनाएको छ। जसमा स्न्याप च्याट, पोकेमोन गो, टेलुस इन्टरनेशनल, विप्रो, अशोक लेलैण्ड, महिन्द्रा एण्ड महिन्द्रा, दैनिक भाष्कर ग्रुपको डेटावेस रहेको जनाएको छ। गुगलका भाइस प्रेसिडेन्ट ब्रेन स्टिभेन्सले यो क्षेत्रमा हाल भइरहेको लिटेन्सी रेटमा ८० प्रतिशत पुर्याउने बताए। उनले सन् २०१७ मा नै भारतपछि सिंगापुर, अष्ट्रेलिया र ब्राजिलमा नयाँ डेटा सेन्टर खोल्ने बताएका छन्। गुगलले नयाँ क्लाउड बेस्ड डेटा सेन्टर खोलेपछि नेपालमा पनि विद्यमान अवस्थामा रहेको लिटेन्सीको दर घट्ने र गुगल ब्राउज गर्दा कम समय लाग्नेछ।

डोल्पा र हुम्लामा पुग्यो थ्रीजी सेवा, अब ७५ वटै जिल्लामा, दसै र तिहारको अबसरमा प्रति एमबी १२ पैसामा डाटा अफर

काठमाडौं, २० असोज । आधुनिक सूचना र प्रविधिको सेवा अब डोल्पा र हुम्ला जिल्लामा पनि पुगेको छ । हिजो (असोज १९ गते) डोल्पाको दुनै र आज ‘२० गते’ देखि हुम्लाको सिमिकोटमा थ्रीजी सेवा शुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको कम्पनीले जनाएको छ । थ्रीजी अहिलेसम्म नेपालमा प्रयोगमा आएको प्रविधि मध्ये अत्याधुनिक हो । टेलिकमले फोरजी सेवा सञ्चालनको लागि तयारी गर्दैछ । ‘नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो’ टेलिकमद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल टेलिकमले जीएसएम मोवाइलमा थ्रीजी सेवा २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो । थ्रीजी सेवा मार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । त्यसै गरी कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसा सम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराइरहेको छ । नाइट डाटा अफर राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गते सम्म उपलब्ध गराइने छ । नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि स्पेशल५००एमबी वा स्पेशल१२००एमबी लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा पठाउनु कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीका प्रबक्ता प्रतिभा बैद्यले बताईन् ।