नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण, नेपालले अब बाहिर गएर लाखौ खर्चनु नपर्ने
काठमाडौं २३, मंसिर । नेपालमै कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको हो। पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि अस्पतालले विस्तृत जानकारी गराएको छैन । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर मात्र प्रत्यारोपणबारे जानकारी गराइने बताए । ‘हामीलाई मन्त्रालयबाट आधिकारिक रूपमा बोल्न अनुमति छैन,’ उनले बुधबार राति भने, ‘बिहीबार पत्रकार सम्मेलन गरेर आधिकारिक रूपमा भन्छौँ ।’ दक्षिण कोरियाका १४ सहित नेपाली चिकित्सकको टोलीले एक किशोरमा कलेजो प्रत्यारोपण गरेको हो । बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म ८ घन्टा लगाएर प्रत्यारोपण गरिएको अस्पताल स्रोतले बतायो । करिब ४२ वर्षीया महिलाले बिरामी भाइलाई कलेजो दिएकी हुन् । कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा भएको कलेजो प्रत्यारोपणमा चार एनएस फिजिसियन, चार सर्जन र ६ नर्स सहभागी थिए। कलेजो रोगका नेपाली विशेषज्ञ चिकित्सक पनि शल्यक्रियामा सहभागी थिए । कलेजो प्रत्यारोपण गर्न नेपालीले विदेश नै जानुपर्ने बाध्यता छ । चिकित्सकहरूका अनुसार भारत, जापान, चीनलगायतका मुलुकमा गएर कलेजो प्रत्यारोपण गर्दा नेपालीले लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ । नयाँ पत्रिका दैनिबाट ।
एप्पलले १०.५ इन्चको आईप्याड ल्याउँने, एप्पलका अरु आइप्याडभन्दा सस्तो हुने
अमेरिका। एप्पलले सन् २०१७ मा १०.५ इन्चको डिस्प्ले भएको आईप्याड ट्याब्लेट बजारमा ल्याउने भएको छ । ‘न्युयोर्क टाइम्स’ वेबसाइटका अनुसार यो विशेष संयन्त्रको उत्पादन आगामी महिना सुरु हुनेछ । १०.५ इन्चको आईप्याड र आगामी १२.९ इन्चको आइप्याड प्रो एप्पलको ए १० एक्स प्रोसेसरबाट चल्ने ताइवानस्थित सप्लाई चेन निर्मातालाई उद्धृत गर्दै डिजी टाइम्सले जानकारी दिएको छ । १०.५ इन्चको संयन्त्रको बिक्री पहिलो त्रैमासिक अवधिमा २० लाख हाराहारी हुने अनुमान गरिएको छ । यो परिमाणबाट बढेर बिक्री सन् २०१७ को अन्त्यमा ५० देखि ६० लाख पुग्ने समाचारमा उल्लेख छ । एप्पलले शैक्षिक क्षेत्रमा लोकप्रिय हुँदै आएका कारण १०.५ इन्चको संयन्त्र ल्याउन लागेको हो । यस किसिमको प्रयोजनका लागि ९.७ इन्चको आईप्याड सानो र १२.९ इन्चको आईप्याड प्रो अत्यन्त महँगो हुने बताइएको छ । आगामीे मार्चमा ३ वटा नयाँ आईप्याड बजारमा आउनेछ । १०.९ इन्चको आईप्याड ९.७ इन्चको आईप्याड प्रोजस्तै हुने विश्लेषकले बताएका छन् । यसको स्क्रिनको आकार भने ठूलो अन्तरले कटौती गरिनेछ ।
सामाजिक सञ्जालमा बढ्यो अराजकता, नक्कली एकाउन्ट बढाएर भ्रम फैलाउँदै प्रवृत्ति अधिक
काठमाडौं २०, मंसिर । प्रधानमन्त्री, मन्त्री र मन्त्रीसरहका व्यक्तिको निजी विवरण सामाजिक सञ्जालमा व्यापारिक प्रयोजनका लागि राख्ने गरेको पाइएको छ। केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर तथा विवरण प्रयोग गरेर एउटा फेसबुक पेजले लाइक बटुल्दैछ। त्यस्तै अर्को नाम चलेको अनलाइन साइटले स्वास्थ्यमन्त्री गगन थापाको तस्बिर राखेर आफ्नो फेसबुक पेजको खुलेआम विज्ञापन गरिरहेको छ। केही समययता फेसबुक लगायतका सामाजिक सञ्जालमा यस्तो प्रवृत्ति देखा पर्न थालेको हो। फेसबुक पेजको लाइक बढाउन पैसा तिरेर प्रवद्र्धन गर्दा यस्ता विशिष्ट व्यक्तिका तस्बिर वा विवरण राखेर विज्ञापन गर्ने प्रवृत्ति बढ्दो क्रममा छ तर यस कार्यप्रति सम्बन्धित व्यक्ति र निकाय मौन छन्। यस विषयमा स्वास्थ्यमन्त्री थापाका स्वकीय सचिव शैलेश सिटौला र सल्लाहकार प्रताप पौडेललाई सोध्दा आफूहरू यसबारेमा अनभिज्ञ रहेको बताए। प्रधानमन्त्री दाहालको फोटो र विवरण राखेर ‘राष्ट्रनायक प्रचण्डलाई काम गर्न देऊ’ नाम गरेको एक अमूर्त पेजले फेसबुक प्रवद्र्धन गरेको छ भने यता गगन थापाको तस्बिर राखेर ‘स्वास्थ्य खबर पत्रिका’ अनलाइनले फेसबुक पेज प्रमोट गरेको छ। सामाजिक सञ्जालमा प्रधानमन्त्री, मन्त्री, नेता र कलाकारका नाममा नक्कली एकाउन्ट तथा पेज बनाउने प्रवृत्ति पुरानो हो तर सामाजिक सञ्जालमा खोलिएका यस्ता एकाउन्ट तथा पेजले व्यक्तिको मानप्रतिष्ठामा आँच पुर्याउने कार्य गर्न थालेपछि समस्या निम्तिन थालेको छ। यस्तै काठमाडौँ उपत्यकामा तथा मुलुकभर लोडसेडिङ अन्त्य गर्ने अभियानमा रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नक्कली एकाउन्टबाट आजित हुँदै आइतबार बिहान आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत आफूलाई असफल बनाउन फेसबुकमा ठूलो गिरोह सक्रिय भएको बताएका छन्। “चरित्र हत्या हुने गरी तथ्यहीन र भ्रामक समाचार केही अनलाइन र सामाजिक सञ्जालमा आएकाले त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँछु। मेरो नक्कली फेसबुक पेज बनाएर अनावश्यक पोस्ट गरेकोसमेत पाइएकाले त्यस्ता समाचारमा विश्वास नगर्नुहुन र मर्यादित कमेन्ट गर्नुहुनसमेत अनुरोध छ,” कार्यकारी निर्देशक घिसिङले फेसबुकमा लेखेका छन्। “फेसबुकमा, प्राधिकरणको सञ्चालक समितिको बैठक र मसँग जोडेर ऊर्जा र अर्थसचिवज्यूको चरित्र हत्या हुनेगरी तथ्यहीन र भ्रामक समाचार केही अनलाइन र सामाजिक सञ्जालमा आएकाले त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँछु,” कार्यकारी निर्देशक घिसिङको फेसबुकमा उल्लेख छ। त्यसो त नक्कली फेसबुक कुलमानको नाममा मात्र होइन, वर्तमान प्रधानमन्त्री प्रचण्डको नाममा समेत दर्जनभन्दा बढी छन्। राजनीतिक दलका चर्चित नेता, सभासद्, कलाकार, समाजसेवी र समाजमा प्रतिष्ठित व्यक्तिका यस्ता नक्कली एकाउन्ट अनगिन्ती सङ्ख्यामा भेटिन्छन्। त्यस्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, बाबुराम भट्टराई लगायतका विशिष्ट व्यक्तिको समेत फेसबुकमा त्यस्तै नक्कली एकाउन्टको सङ्ख्या दर्जनभन्दा बढी छन्। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७१र०७२ मा ३०९ उजुरी साइबर अपराधमा परेका थिए। त्यस्तै आर्थिक वर्ष २०७२र०७३ मा ६५० उजुरी परिसकेका छन्। महाशाखाका अनुसार नेपालमा साइबर अपराधमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएको छ। गोरखापत्र दैनिकबाट ।