२८ देशमा आईफोन सेभेन बिक्री सुरु, आईफोन लिनका लागि रातभर लाइन

काठमाडौं, १ असोज। एप्पलले शुक्रवारदेखि विश्वका २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरू गरेको छ । अमेरिका, चीन, अस्ट्रेलिया, जापान र हङकङ समेत २८ देशमा आईफोन सेभेन आइपुगेको हो । यो पटक पनि मानिसहरु आईफोनको नयाँ सेट किन्नका लागि विभिन्न देशका एप्पल स्टोर अगाडि पाल टाँगेर दुई दिन अघिदेखि बसेका छन् । समाचार अनुसार भारत, नेपाल र नेदरल्यान्डबाट मानिसहरु आईफोन किन्न लण्डन पुगेका छन् । तर एप्पल स्टोर अगाडि लामो लाइन लागेर पुगेकाहरु आफ्नो मन पर्ने जेट ब्ल्याक कलर बिकिसकेको खबरले भने निराश भइरहेका छन् । शुक्रवारदेखि २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरु भएको हो । ७ सेप्टेम्बरबाट आईफोन सेभेन र आईफोन सेभेन प्लस ३२ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भएको सेट एप्पलले लन्च गरेको थियो ।  बिना हेडफोन ज्याकवाला आईफोनको अमेरिकामा मूल्य ६८ हजार सात सयबाट सुरु भएको छ । अमेरिकामा स्टोर बाहिर रातभर उभिएकाहरुलाई भेट्न एप्पलका सीईओ टिम कुक पनि पुगेर उनीहरुको हौसलाको प्रसंशा गरे । चीनको संघाईमा सयौं मानिस स्टोर बाहिर बसिरहेका छन् । उनीहरु कम्तिमा दुईवटा फोन किन्ने हेतुले एप्पल स्टोरबाहिर धर्ना हालेर बसेका हुन् । न्यूयोर्कस्थित फिफ्थ एभेन्यू इलाकामा एप्पल स्टोर बाहिर आईफोन प्रेमीहरु बिहीबार रातिदेखि लाइन लागेर बसेका छन् । जर्मनीको ह्याम्बर्ग र बर्लिनमा पनि मानिसहरु चसो मौसमको प्रवाह नगरी आईफोनकै लागि एप्पल स्टोर अगाडिको सडकमा बसेर रात बिताए । वासिङ्गटनमा पनि आईफोनको गजबको क्रैज देखियो । यहाँ पनि मानिसहरु लाइनबाट हट्न तयार छैनन् । टर्की जस्ता देशबाट पनि आईफोन किन्न मानिसहरु अमेरिका पुगेका छ्न । लण्डनमा वर्षातका बाबजुत आईफोन प्रेमीको जोशमा कमी देखिएको छैन । मानिसहरु साप्ताहिक विदामा रमाउन छाडेर एप्पल स्टोर बाहिर उभिएका छन् । यहाँ ४९ वर्षीया पोल ड्यु बफलाई आईफोनको पहिलो सेट मिलेको छ ।   एजेन्सीको सहयोगमा

सामसुङलाई फेरि झट्का, ग्यालेक्सी एस ७ एज पनि पड्कियो !

काठमाडौं, १ असोज। कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेरि समस्या भोग्नुपरेको छ। हालै कम्पनीको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ को ब्याट्री पड्केपछि अब फेरि एस ७ एज पनि पड्केको छ।   कम्पनीले यसअघि नै नोट ७ नकिन्न र नचलाउन अनुरोध गरिसकेको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार बेलायतकी एक युवतीले ग्यालेक्सी एस७ एज पड्केको बताएकी हुन्। ३० वर्षीय सारा बेलायतको विथम शहरस्थित एक क्याफेमा उनले आफ्नो फोन तातेको र बेलुनजस्तो फुलेको महसुस गरिन्। उनको फोनबाट धुँवा आउन थाल्यो र केही छिनमै पग्लियो। यो घटना क्याफेको सिसिटिभी क्यामरामा पनि कैद भएको बताइएको छ। साराले बेलायती अखबार द सनलाई आफ्नो फोन तातेपछि टेबलमा राखेको र केही समयमा नै फोन पग्लेको बताएकी छन्। साराले यो विषयमा सिसिटिभी फुटेजसहित सामसुङलाई गुनासो पठाएको बताएकी छन्। यसबारे सामसुङले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

नचायो नारायणी किनारमा एनसेल मेलाले, पोखरा, बुटवल, धरान र बिर्तामोडमा पनि नचाउँदै

काठमाडौं, ३०, भदौ । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन बिहीबार नारायणी किनारमा एनसेल मेलाको आयोजना गरेको छ । बिहान ११ बजे शुरु भएको उक्त मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा आगन्तुकहरुले विविध कार्यक्रम, गतिविधि र कन्सर्टको भरपुर आनन्द लिएका थिए । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मनोरञ्जनका साथ साथै मेलाका आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर लिन सकेका थिए भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्नहरुको भीड लागेको थियो । मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई, एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्ले आ—आफ्नो प्रस्तुती गरेका थिए । डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई नचाएका थिए । मेलाको विषेश आकर्षण रहेको कन्सर्टमा, गायक सुगम पोख्रेलले आफ्नो उत्कृष्ट गीतहरु जस्तै झिल्के, प्रेम गीत लगायतका गीतहरुले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । शिव परियारले क्या दामी भो, संगी डुब्दै छु गाउँदा दर्शकहरु उनीसँगै गाउँदै नाचेका थिए । मिलन अमात्यको गाला रातै, स्लोली स्लोली अनि लाउरेको नेपहपको बाटो, साथी हो र एक्स व्याण्डको लुक्न देउ, चियाबारीमा जस्ता प्रस्तुतीहरुले दर्शकहरुलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेको थियो भने कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्घ भएका थिए । मेलामा आउने जुन सुकै उमेर समुहका दर्शकलाई उक्त मेलामा मनोरञ्जनका कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि मेलामा समावेश गरिएका थिए । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु रहेका थिए र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । दर्शकहरुले मेलामा विविध रोचक गतिविधीहरु बाहेक नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरुमा विभिन्न परिकारहरुको मज्जा लिएका थिए । नारायणघाट पश्चात एनसेल मेला अब असोज १ गते पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ । “एनसेल मेला मार्फत खुसीयाली साट्न तथा नजिकिदै गरेको चाडपर्वको अवसरमा आदरणीय ग्राहकहरु माझ पुगेर शुभकामना आदानप्रदान गर्न पाउदा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यही शिलशिलामा हामी मनोरन्जनले भरिपूर्ण यो मेला लिएर पोखरा, बुटवल, धरान र बिर्तामोड पुग्दै छौ । ”