स्मार्ट च्वाइस टेक्नोलोजिजको सीईओमा घिमिरे नियुक्त, बैंकिङ अनुभव १५ वर्षको
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज घिमिरे नियुक्त भएका छन् । सीईओ घिमिरेले बिहीबारमात्रै कम्पनीका अध्यक्ष रविनकुमार नेपालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बैंक अफ एशिया (हालको एनआईसी एशिया बैंक) बाट आफ्नो बैकिङ करिअर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिसकाे रूपमा कार्यरत थिए । बैंकिङ तथा डिजिटल भुक्तानी (कार्ड, क्युआर मोबाइल बैंकिङ) इत्यादिमा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आइरहेकाे छ ।
अब विदेशी पर्यटक झण्झटमुक्त, पर्यटन क्षेत्र पारदर्शी बन्ने
काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाे छ । आन्तरिक अर्थतन्त्र चलायनमा बनाउने मात्रै होइन, विदेशी मुद्रा भित्र्याउनका लागि पनि यो क्षेत्रले अग्रणी भूमिका खेल्दै आएको छ । तर, यो क्षेत्र पारदर्शी नभएको भन्दै बेलाबखत प्रश्न पनि उठ्ने गरेको छ । पर्यटकहरूले पनि विभिन्न ठाउँमा भुक्तानीको मात्रै होइन, अन्य धेरै किसिमका सकस खेप्नुपरेको छ । यो समस्यालाई मध्यनजर गर्दै पर्यटन व्यवसायीहरूले पटकपटक आवाज उठाउँछन्, विदेशी पर्यटकका लागि भुक्तानी सहज बनाइदिनुपर्याे । विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रमा भुक्तानी सहज होस् भनेर नेपाल राष्ट्र बैंकले पनि हालै क्रसबोर्डर डिजिटल पेमेन्ट अर्थात् अन्तरदेशीय भुक्तानी प्रणालीको व्यवस्था गरेको छ । राष्ट्र बैंकको नीतिलाई सहज र विदेशी नागरिक (पर्यटक)हरूलाई जोड दिएर फोकसवान पेमेन्ट सोल्युसन्स प्रालिले क्रसबोर्डर डिजिटल पेमेन्ट सूचारु गरेको छ । चाइनिज डिजिटल भुक्तानी कम्पनी अलीपे प्लससँगको सहकार्यमा फोकसवान पेमेन्ट सोल्युसन्सले मोको क्यूआर विस्तार गर्ने भएको छ । अलीपे प्लस एप चलाइरहेका विदेशी पर्यटकहरूले नेपाल भ्रमणका क्रममा फोकसवान पेमेन्ट सोल्युसन्सले जारी गरे मोको क्यूआरमा भुक्तानी गर्न सकिने भएको हो । अलीपे प्लस चाइनाको ठूलो भुक्तानी नेटवर्कमध्येमा पर्छ । मोको वालेटका सञ्चालन तथा भुक्तानी विभाग प्रमुख सरोज बस्नेतका अनुसार अलीपे प्लस एप दक्षिणपूर्वी एशियालगायत १४ देशका १.५ अर्बभन्दा बढी उपभोक्ताहरूले भुक्तानीको रूपमा प्रयोग गरिरहेका छन् । अलीपे (चीन), अलीपे एचके (हङकङ), टिनाबा (इटाली), एमपे (मकाओ), माईपीबी (मलेशिया), हिपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नावर पे र टस पे (दक्षिण कोरिया), र ट्रूमनी (थाइल्याण्ड) मा सेवा दिइरहेको छ । साथै, काकाओ पे र टच एन गो इवालेट जस्ता थप भुक्तानी एपहरू पनि चाँडै यस सूचीमा समावेश हुने जनाएको छ । यी देशका पर्यटकहरू नेपालमा आउँदा उनीहरूले चलाइरहेको एप्लिकेसनबाटै फोकसवानले प्रदान गरेका मर्चेन्टहरू क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्ने उनको भनाइ छ । यो एप प्रयोग गर्ने व्यक्ति नेपाल आउँदा नगद बोक्नुपर्ने समस्याबाट मुक्त हुने भुक्तानी विभाग प्रमुख बस्नेतले बताए । ‘विदेशी नागरिक नेपालमा आएको बेला नगद बोक्नु परेन, उहाँहरू एउटा मोबाइलका आधारमा देशभर घुम्न सक्नुहुन्छ । मोबाइल बैंकिङ र एपबाटै फोकसवानअन्तर्गत बैंकले अनवोर्ड गरेको मर्चेन्टमा वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुन्छ । उहाँहरूले आफ्नै मुद्रामा भुक्तानी गर्नुहुन्छ । तर, मर्चेन्टरले भने नेपाली रुपैयाँमा बैंक खातामा रिसिभ गर्नुहुन्छ,’ उनले भने । मोको वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय राजभण्डारीका अनुसार अलीपे प्लससँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउँछन् । उनका अनुसार पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट देश हो । बर्सेनि लाखौं पर्यटक घुम्नका लागि नेपाल आउँछन् । अलीपे प्ल प्रयोग गरिरहेका व्यक्तिले अब नगद बोक्नु परेन, विदेशी मुद्रा सटही गर्नु परेन । किनभने मोको क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सकिने उनको भनाइ छ । ‘पर्यटकहरू काठमाडौंमा मात्रै बस्दैनन्, देशभरि भ्रमण गर्नुहुन्छ । १४ दिनसम्म ट्रेकिङ गर्नुपर्ने ठाउँ छन्, त्यहाँ कार्ड चल्दैन, पैसा मात्रै कति बोक्नु ? पैसा बोक्दा चोरी वा हराउने सम्भावना हुन्छ,’ उनले भने, ‘अब कार्ड र नगद बोक्नु पर्दैन, मोबाइल एप भए क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्नुहुन्छ ।’ सीईओ राजभण्डारीका अनुसार नेपालका पर्यटकीय क्षेत्रमा डेढ/दुई लाख साना तथा मझौला उद्यमीहरू छन् । उनीहरूले आफ्नो सामान बिक्री गरेर भुक्तानीका लागि मोकोको क्यूआर एउटा माध्यम मात्रै बनेको उनकाे भनाइ छ । एउटा पर्यटकले दैनिक ४० डलर खर्च गरिरहेका हुन्छन् । अब क्यूआर सञ्चालनमा आएपछि पर्यटकको खर्चको आकार पनि बढ्ने उनको दाबी छ । साथै पर्यटन क्षेत्र पनि पारदर्शी व्यवसायका रूपमा उदाउने उनले बताए । ‘हामी पहिला क्यूआरको संख्या विस्तार गर्छाैं, बौद्ध, ठमेल, पोखरा, ट्रेकिङ रुट, लुम्बिनी, सोलुखुम्बु, चितवन, बर्दिया लगायत देशभर भुक्तानी सेवा विस्तार गर्छाैं, नेपाल पर्यटन बोडसँग पनि सहकार्य गरेर प्रचार प्रसार गर्छाैं,’ सीईओ राजभण्डारीले भने । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बैंकहरूले क्रस बोर्डर डिजिटल कारोबारमा जोड दिइरहेको बताउँछन् । विगतमा कार्डबाट विदेशी मुद्रामा कारोबार गर्ने गरेको र अब कार्डलाई मर्चेन्टमा विकास गरिने उनको भनाइ छ । उनका अनुसार क्यूआर प्रयोगकर्ता एशियामा सबैभन्दा धेरै रहेका छन् । जबकि यूरोपमा पनि त्यति धेरैले क्यूआर प्रयोग गर्दैनन् । नेपालमा बढी पर्यटक एशियाबाट आउने गरेका छन् । ‘युवापुस्ताले कार्ड पनि बोक्न छाडे, उनीहरू क्यूआरबाटै कारोबार गर्न रुचाउँछन् । सानो पसल, होटल, मर्चेन्ट पसलमा क्यूआर बढी प्रयोग हुन्छ । तर, ठूलो कारोबार हुने गर्छ,’ उनले भने, ‘अब चाइनिजसहित अन्य देशका पर्यटकलाई भुक्तानी गर्न सहज हुनेछ ।’ राष्ट्र बैंकका निर्देशक विनोदराज आचार्य अलीपेको सेवाबाट नेपाली उपभोक्तासँगै विदेशी नागरिक पनि लाभान्वित हुने बताउँछन् । तर, कम्पनीले सुरक्षित र भरपर्दाे सेवामा जोड दिनुपर्ने उनको भनाइ छ । साथै उपभोक्तालाई जति सक्दो सहुलियत सेवा दियो त्यति नै कम्पनीको व्यवसाय वृद्धि हुने उनले सुझाव दिए । ‘राष्ट्र बैंकका नीति निर्देशनभित्र रहेर सेवा प्रवाह र विस्तार गर्नुपर्छ, भुक्तानी कारोबामा तलमाथि गर्नुहुँदैन, यदि कुनै किसिमको दुविधा पर्याे भने राष्ट्र बैंकसँग सहजीकरण गर्न तयार छ,’ उनले भने, ‘हामीले संयुक्त रूपमा काम गर्नुपर्ने हुन्छ, भविष्यमा अप्ठ्याराे स्थिति नआओस् भनेर सहज गर्न तयार छौं ।’ डिजिटल पूर्वाधार र नेपालीको ज्ञानका आधारमा डिजिटलमा ठूलो क्षति हुन्छ कि भन्ने चिन्ता रहेकाले सुरक्षामा जोड दिन उनले कम्पनीलाई सुझाव दिए ।
नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्वपूर्ण हुने सरोकारवालाको जोड
काठमाडौं। सूचना प्रविधिको युग सुहाउँदो नेपालको बिजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सको संयुक्तरूपमा आयोजना गरेको ‘एआई र डाटा साइन्सः एआई र डाटा विज्ञानः डिजिटल युगमा सशक्त बनाउँदै नेपाली व्यवसाय’ प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सरोकारबालाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एआई नै अबको बिजनेस बढाउने साधन हुने जिकिर गरे । उनले भने, ‘यो डिजिटल दुनियाँमा अब एआईको जसले भरमग्दुर सदुयोग गर्नसक्छ, उसैको बिजनेसले फड्को मार्छ। त्यसकारण एआई प्रविधिलाई सदुपयोग गर्नुस् र फाइदा उठाउनुस् ।’ नेपाल चेम्बर अफ कमर्स, आइटी कमिटीका अध्यक्ष विज्ञानराज शर्माले नेपालका शैक्षिक क्षेत्रहरू एआईका रिसर्च र विकास गर्नका लागि ठूलो अवसर बन्न सक्ने बताए । उनले भने, ‘ एआईको रिसर्च र अनुसन्धान गर्नका लागि नेपाली शैक्षिक क्षेत्रलाई ठुलो अवसरको रुपमा आउनेछ । यसले प्रविधि र प्रडक्टलाई एकसाथ अगाडि बढ्न थप मद्दत गर्नेछ। साथै व्यापार र लगानी दुवै सुरक्षित बनाउन सहयोग हुनेछ ।’ अबको नेपाली अर्थतन्त्रलाई उकास्ने गरी उद्योग र विश्वविद्यालयको खाडल एआईले पूरा गरिदिने क्यान महासंघका महासचिव एव साइबर सेक्युरिटी विज्ञ चिरञ्जीवी अधिकारीको भनाइ छ । उनले भने, ‘भविष्यमा नेपाली अर्थतन्त्रलाई उकास्न र उद्योगहरूलाई चलायनमान बनाउन एआईको भूमिका महत्वपूर्ण हुनेछ जसमा विश्वविद्यालय क्षेत्र पनि संलग्नता हुनेछ । यसले उद्योग र शिक्षालाई आपसमा सँगसँगै लैजान पनि अहम भूमिका एआईले गरिदिनेछ ।’ यसले बजार, व्यापार र शिक्षाको लागि उर्वर रर ऊर्जावान बनाउने एआई एउटा महत्वपूर्ण कडीको रुपमा स्थापित हुने अधिकारीको भनाइ छ । यस्तै, वाइज याकका सहसंस्थापक डा. हेमन्त श्रेष्ठले एआईलाई स्थानीय उद्योगमा कसरी लागु गर्न सकिन्छ भनेर आफ्ना अनुभवहरू सुनाएका थिए । सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले डेटा साइन्सले सरकारलाई दिने दीर्घकालीन सेवा र फाइदाका बारेमा अनुभवहरू साटेका थिए । काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. मनोज शाक्यले शैक्षिक क्षेत्र अब एआईका कारण खोज र अनुसन्धानमा लागेर उद्योगलाई सघाउन सक्ने अवसरको रूपमा परिवर्तन हुन सक्ने बताए । खल्तीका सीईओ विनय खड्काले भने एआईले नेपाली विजनेसलाई सजिलैसँग माथि उठाउन मद्दत गर्ने दाबी गरे । उनले यसको लागि खल्ती प्लेटफर्म नै अहिलेको महत्वपूर्ण पेमेण्डको रूपमा स्थापित भइरहेको पनि बताए । सन् २०१० मा स्थापना भएको सनवे कलेजले ४ वर्षे एआई र डेटा साइन्सको कोर्ष बेलायतको बर्मिङगन युनिभर्सिटीको सहकार्यमा अध्यापन गराउँदै आएको छ । जसमा एक वर्ष पेसागत सुरक्षा र उद्योग र शैक्षिक क्षेत्रको खाडललाई पुर्ने लक्ष्य रहेको छ ।