एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्य र ती कार्यको प्रभावको सम्मान हो । साथै, यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूका लागि प्रदान गरिएको एनसेलले जनाएकाे छ । ‘यो हाम्रो टिम एनसेलले गरेको सामुहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं । एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,’ खड्काले भनिन् । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशै भरी १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ । रिङरोडको कोटेश्वर–कलंकी १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्याण्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरूमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरू हुन् । आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदाय स्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ । एनसेलले विभिन्न सामाजिक पहलहरुमा रु २ अर्ब भन्दा बढिको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक-आर्थिक विकासमा योगदान पु¥याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भइसकेको छ । वुमन्स ट्याब्लोइड अवार्डले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरु, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायहरूको उल्लेखनीय उपलब्धिहरुको सम्मान गर्दछ । वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेस म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ ।

खल्तीबाट ‘सारेगमप लिल च्याम्प्स २’ को भोटिङ सजिलै गर्न सकिने

काठमाडौं । नेपालको मोबाइल वालेट तथा भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ‘सारेगमप लिल च्याम्प्स’ नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ । खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई एपमार्फत सजिलै भोट गर्न सक्नेछन् । पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शोको एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेश फाेर के च्यानल र डोको प्लेटफर्म मार्फत प्रसारण हुनेछ । यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहने छन् । आईएसओ २७००१:२०१३ बाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको आठौं वर्षमा छ । खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेकाे कम्पनीले जनाएकाे छ । खल्तीले डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

सरकारको एआईसम्बन्धी अवधारणा पत्रमा महत्त्वपूर्ण विषय समावेश नभएको विज्ञहरूको गुनासो

काठमाडौं । सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीचको अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएकाे छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले बिहीबार आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरूले अवधारणा-पत्रको स्वागत गरे पनि यसमा कतिपय महत्त्वपूर्ण विषय समावेश नभएको औंल्याएका थिए । कार्यक्रममा एआईको प्रयोग, नियमन र व्यवस्थापनबारे जानकारी र रुची राख्ने अध्यापक, सूचना प्रविधि विज्ञ, अधिवक्ता, सेवा प्रदायक कम्पनी, डिजिटल अधिकारको पक्षमा काम गर्ने अभियन्ता लगायतका व्यक्तिहरू उपस्थित थिए । छलफलमा उठेका विषय र सुझावहरूको प्रतिवेदन बनाएर सरकारलाई बुझाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हाे । ‍एआईको नियमन आवश्यक भए पनि यसलाई नियन्त्रण गर्न नहुनेमा वक्ताहरूले साझा मत जाहेर गरेका थिए । नेपाल खुला विश्वविद्यालयको स्कुल अफ टेक्नोलोजीका प्रमुख भोजराज घिमिरेले अवधारणा पत्र आफैमा स्वागतयोग्य भए पनि यसमा खुद्राखुद्री र सैद्धान्तिक कुराहरू धेरै भएको टिप्पणी गरे । एआई डेटामा आधारित हुने भए पनि अवधारणा-पत्रमा डेटा स्ट्यान्डर्डाइजेसन, डेटा सेयरिङ, डेटा क्लिन्जिङ, डेटा प्राइभेसी र सेक्युरिटीजस्ता महत्त्वपूर्ण विषय गौंड रहेको उनले बताए । डिजिटल राइट्स नेपालकी सन्जिना क्षेत्रीले पनि डेटा संरक्षणको विषयबारे अवधारणा  पत्रमा कुनै चित्रण नभएको उल्लेख गरिन् । यसका साथै, देश संघीय संरचनामा प्रवेश गरिसकेको अहिलेको परिप्रेक्षमा अवधारणा-पत्रले तीन तहका सरकारको भूमिका स्पष्ट नपारेको उनले धारणा राखिन् । ‘नागरिक समाज र प्रविधि क्षेत्रका प्रतिनिधि मात्रै नभएर यो अवधारणा पत्रमा सरकारी तहमै पनि प्रदेश र स्थानीय तहको भूमिका र जिम्मेवारीबारे खासै उल्लेख छैन,’ उनी भन्छिन्, ‘एआईको प्रयोग हरेक तहमा भइरहेकाले प्रदेश र स्थानीय तहको जिम्मेवारी र भूमिका यसमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने हो ।’ सूचना प्रविधि विज्ञ तथा नेपाल प्रहरीका पूर्वडीआईजी राजीव सुब्बाले आजभन्दा १८ वर्षअघि ई-कमर्स क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय कारोबार ऐन ल्याइएकोमा पछि सो कानुन साइबर अपधराध नियन्त्रणको लागि प्रयोग गरिएको स्मरण गरे । ‘त्यो कानुन पनि पहिले ई-कमर्स क्षेत्रको विकासका लागि भनेर परिभाषित गरिएको थियो, पछि गएर त्यसलाई साइबर अपराधको व्यवस्थापनमा पो लगाइयो,’ उनले भने, ‘एआई सम्बन्धी अहिलेको बहशलाई पनि सही दिशा दिन सकिएन भने त्यसैगरी दिग्भ्रमित हुने खतरा रहन्छ ।’ डिजिटल मिडिया फाउन्डेसनका संस्थापक प्रवेश सुवेदीले पनि एआईका लागि छुट्टै निकाय आवश्यक भए पनि यसलाई सञ्चार मन्त्रालय मातहत राख्न नहुने प्रशंग उजागर गरे । अवधारणा-पत्रमा एआईसम्बन्धी गतिविधि समन्वय गर्नुका साथै साक्षरता फैलाउने र अनुसन्धानका लागि नोडल एजेन्सी स्थापना गर्न प्रस्ताव गरिएको छ । ‘यो अवधारणा-पत्रले सुझाएका मार्गनिर्देशन अनुरूप नीति वा कानुन निर्माण गर्दा सञ्चार मन्त्रालयले अन्य मन्त्रालय र निकायका क्षेत्राधिकारसमेत मिच्ने समस्या आउन सक्छ,’ उनले भने, ‘यसले हाम्रो संघीयता, सांस्कृतिक र भाषिक विविधतालाई पनि चिन्दैन । यो जेनेरिक छ, हाम्रो पृथकतालाई यसले प्रतिनिधित्व गर्दैन ।’ कार्यक्रममा ग्लोबल कलेज इन्टरनेसनलका एसोसिएट प्रोफेर समिर खरेल, क्यान महासंघका उपाध्यक्ष उमेश रघुबंशी, एभरेस्ट इन्जिनियरिङ कलेजका निश्चल रेग्मी, एआई इन्स्ट्रटर उदिप कुमार महतो, हुवावे नेपालका गौरव थापा, पत्रकार सुदीप रायमाझी, फेसेट टेक्नोलोजका प्रमुख सुरेश पोखरेल, सोध तथा तथ्यांक विश्लेषक खेमराज पोखरेल, ट्रिलिफ टेक्नोलोजीका असोक कुमार पन्त, अध्यापक उत्तम कार्की, सूचना प्रविधि व्यवस्थापक अनुकुल रेग्मी लगायतले धारणा राखेका थिए। कार्यक्रममा उठान गरिएका विषयहरू टिपोट गरी प्रतिवेदन बनाउन क्यानले काठमाडौं विश्वविद्यालयअन्तर्गत कम्प्युटर साइन्स विभागका प्राडा सुदन झा, क्यान महासंघकी वुमन ईन आईटी कमिटीकी कोर्डिनेटर गंगा भण्डारी र वर्ल्ड एसोसिएसन अफ गर्ल गाइड एन्ड गर्ल स्काउट्सको इन्टरनेट सेफ्टी प्रोग्राममा आवद्ध दिक्षा राउतलाई जिम्मेवारी दिएको छ । उक्त प्रतिवेदन मन्त्रालयलाई बुझाउने क्यान महासचिव तथा एआई कन्सेप्ट पेपरका संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिए । ‘यो अवाधारणा पत्रका विषयहरूमा विमर्श गरी आज उठेका विषयहरूको प्रतिवेदन तयार गर्न समिति बनेको छ,’ उनले भने, ‘त्यो प्रतिवेदन हामी मन्त्रालयमा बुझाउनेछौं ।’