यही पाराले टेलिकम चल्दैन, २५ प्रतिशत सेयर जनतालाई दिनुपर्छ : मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी) ले आफ्ना कामको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टेलिकमको आम्दानी बर्षेनी घट्दै गएको र निजी क्षेत्रबाट सञ्चालित कम्पनी अगाडि आइरहेको सन्दर्भमा टेलिकमले गहिरो गरी समीक्षा गर्नुपर्ने बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले भने, ‘सरकारी कम्पनीमध्ये टेलिकमप्रति हामीले गर्व गरिरहेका छौँ, तर प्रतिस्पर्धी बजारमा यही पाराले टेलिकम चल्दैन, यही बेलामा हामीले समीक्षा गर्न सकिएन भने पछि पछुतो हुनसक्छ ।’ मन्त्री गुरूङले बढ्दो प्रविधिको प्रयोगलाई टेलिकमले अवलम्बन गर्दै सेवा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । उनले जनताप्रति उत्तरदायी बनाउनका लागि टेलिकममा कम्तीमा २५ प्रतिशत सेयर जनताको हुनुपर्ने बताए । ‘सुशासनसँग जोडिएको विषय इ-गभर्नेन्स हो, त्यसको लागि फोर-जी गाउँ-गाउँमा पुग्नु पर्‍यो, त्यसो गरेको खण्डमा यो क्षेत्रको विकास धेरै हुन्छ,’ मन्त्री गुरूङले भने । उनले अहिले पनि ग्रामीण स्थानमा टेलिकमको टावरको समस्या भइरहेको बताउँदै गुणस्तरीय र प्रभावकारी सेवामा ध्यान दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिए । बढी जनसङ्ख्या भएको मधेसका २२ वटा जिल्लामा अहिले पनि टेलिकमको उपस्थिति कमजोर रहेको जनाउँदै यो वर्ष मधेसमा पर्याप्त टेलिकमको पूर्वाधार विकास गरी अवरोधरहित सेवा-प्रवाह गर्न पनि मन्त्री गुरूङले निर्देशन दिए । उनले सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नका लागि सरकारले ‘सामाजिक मिडिया प्रयोग र नियमन गर्ने विधेयक’ संसद्मा दर्ता गरेको बताए । नेपाललाई ‘आइटी हब’ को रूपमा विकास गर्नका लागि सञ्चार, सूचना र प्रविधिसँग जोडिएका अन्य ऐनरकानुन निर्माण तथा संशोधन गर्ने तयारीमा रहेको उनको भनाइ छ । सरकारका प्रवक्ता गुरूङले मुलुकको आवश्यकताको आधारमा जनताको हितको निम्ति सरकारले अध्यादेशमार्फत विधेयक ल्याउनुपरेको प्रष्ट पारे । सञ्चार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष राधिका अर्यालले भौगोलिक रूपमा अत्यन्त विकट गाउँमा टेलिकमले सेवा विस्तार गरिरहेको सन्दर्भ उल्लेख गर्दै मुलुकलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा सहयोग पुर्‍याउन सबैलाई आग्रह गरे ।

एनटीसीलाई एनसेलको शुभकामना- सँगै सहयात्रा गर्न पाउँदा गौरवान्वित छौं

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम (एनटीसी) आजदेखि २० वर्ष पुरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । विभिन्न कार्यक्रमको आयोजना गरी कम्पनीले २१औँ वार्षिकोत्सव मनाइरहेको छ । कम्पनीको २१औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल लगायत सरोकारवाला सबैले कम्पनीलाई शुभकामना व्यक्त गरेका छन् । दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकमको एक्लो प्रतिस्पर्धी हो एनसेल । एनसेलले आफ्नै प्रतिस्पर्धी नेपाल टेलिकमको २१औं वार्षिकोत्सवको शुभकामना दिएको छ । यसरी आफ्नै प्रतिस्पर्धी कम्पनीलाई शुभकामना व्यक्त गरेको कुनैपनि क्षेत्रमा विरलै देखिन्छ । तर, एनसेलले भने व्यावसायीक प्रतिस्पर्धालाई टाढै राखेर शुभकामना दिने गरेको छ । ‘देशको दूरसञ्चार क्षेत्रको विकासमा सधैं सँगै योगदान पुयाउँदै उज्ज्वल डिजिटल भविष्य निर्माणका लागि मेरुदण्ड बनेर निरन्तर सहयात्रा गर्न पाएकोमा हामी अत्यन्तै गौरवान्वित छौं,’ नेपाल दूरसञ्चार कम्पनीलाई २१औं वार्षिकोत्सवको शुभकामना दिँदै भनेको छ, ‘सुखद अवसरमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं ।’ दूरसञ्चार क्षेत्रलाई खुला प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ र भरपर्दो अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउन नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीमा परिणत भएपछि यस कम्पनीले ‘नेपाल टेलिकम’को नामबाट आफूलाई परिचित गराई व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । वि.सं. १९७३ मा ओपन वायर म्याग्नेटो सिस्टम प्रयोग गरी मुलुकमा दूरसञ्चार सेवा प्रारम्भ भएको मानिन्छ । वि.सं. १९७४ देखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्नसक्ने व्यवस्था भएको थियो भने वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि वि.सं. १९९२ देखि मात्र दूरसञ्चार सेवा निजी प्रयोगमा समेत उपलब्ध हुन थालेको देखिन्छ । वि.सं. २००५ मा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । यसको कार्यालयलाई ‘आकाशवाणी हेड अफिस’ को नामबाट चिनिन्थ्यो । वि.सं. २०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत ‘दरसञ्चार विभाग’ को स्थापना भएको थियो । यस विभागलाई वि.सं. २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो र वि.सं. २०३२ साल असार १ गते नेपाल दरसञ्चार संस्थानमा परिणत गरिएको थियो । वि.सं. २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भयो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दरसञ्चार कम्पनी लिमिटेडमा रूपान्तरण गरिएकाे हाे ।

नेपाल टेलिकम : सवा ६ अर्ब नाफा, कुल आय ४२ अर्ब ११ कराेड

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । टेलिकमले २१ औं वार्षिकोत्सवकाे अवसरमा जारी गरेकाे तथ्यांकले यस्ताे देखाएकाे हाे। टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रहेकाे छ । टेलिकमले गत वर्षको आम्दानीबाट सरकारलाई विभिन्न ११ शीर्षकमा ४१ अर्ब ५९ करोड रुपैयाँ कर तथा दस्तुर तिरेको छ । कम्पनीले अग्रिम आयकर १ अर्ब ७० करोड, मूल्य अभिवृद्धि कर ३ अर्ब ४६ करोड, दूरसञ्चार सेवा शुल्क ३ अर्ब १४ करोड, स्वामित्व शुल्क ८६ करोड, भन्सार शुल्क १७ करोड, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क २ अर्ब १५ करोड फ्रिक्वेन्सी दस्तुर २ कम्पनीले नाफा कमाएवापतको लाभांश ६ अर्ब ५८ करोड सरकारी कोषमा दाखिला गरेको छ भने सम्पत्ति र सवारीसाधन कर ५ करोड ८२ लाख तिरेको छ ।