एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर, निःशुल्क लर्निङ र गेमिङ सुविधा

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि ‘पहिलो सिम’ अफर सञ्चालनमा ल्याएको छ ।

यस अफरअन्तर्गत विद्यार्थीहरूले करसहित ५० रुपैयाँमै प्रिपेड सिम लिन सक्नेछन् भने विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन पाउनेछन् ।

‘पहिलो सिम’ लिने विद्यार्थीहरूले आफ्नो रोजाइअनुसार मोबाइल नम्बर छनोट गर्न सक्नेछन् । सिमसँगै २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेट टक टाइम तथा २८ दिनका लागि निःशुल्क डिजिटल सेवा उपलब्ध हुनेछ ।

यसअन्तर्गत ‘मेरो स्कुल’ मार्फत अनलाइन सिकाइका सामग्रीहरू प्रयोग गर्न सकिनेछ भने ‘गेमिङ प्रिमियर लिग (जीपीएल)’ मा विभिन्न खेलहरू खेल्न सकिनेछ ।

त्यस्तै, प्रयोगकर्ताले ‘खल्ती’ डिजिटल वालेट पनि निःशुल्क प्रयोग गर्न सक्नेछन्, जसमा डाटा शुल्क लाग्ने छैन । साथै ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनका लागि ५०० एमबी बोनस डाटा पनि उपलब्ध हुनेछ ।

एसईई दिएका विद्यार्थीहरूले देशभरका एनसेल सेन्टरबाट यो सिम लिन सक्नेछन् । सिम लिनका लागि एसईई प्रवेशपत्र र अभिभावकको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले ‘पहिलो सिम’ अफरलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । यसले विद्यार्थीहरूलाई साथीभाइ र परिवारसँग सम्पर्कमा रहन तथा डिजिटल माध्यमसँग जोडिन सहयोग गर्ने विश्वास गरिएको छ ।  

Share News