ब्लूस्काईले जानकारी खुलासा गर्ने नियम उल्लंघन गरेको ईयूको आरोप

काठमाडौं । सामाजिक मिडिया प्लेटफर्म ब्लूस्काईले महत्त्वपूर्ण विवरणहरू खुलासा नगरी यूरोपियन यूनियन (ईयू) का नियमहरू उल्लंघन गरेको ईयूका प्रवक्ताले आरोप लगाएका छन् । सोमबार दैनिक ब्रिफिङका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । प्रवक्ताले ब्लूस्काई थ्रेसहोल्डभन्दा तल रहेको र ईयूको डिजिटल सेवा ऐनअन्तर्गत’ विशाल प्लेटफर्म’ का रूपमा वर्गीकृत नभएकाले यूनियनले हालसम्म कम्पनीलाई प्रत्यक्ष सम्पर्क गरेको छैन । यसैगरी, यूनियनले २७ वटा राष्ट्रिय सरकारहरूलाई ब्लूस्काईको कुनै पनि प्रमाण फेला पार्न सकिन्छ कि भनेर जाँच्न सम्पर्क पनि गरेको छ । ब्लूस्काईले तुरुन्तै ईमेलमार्फत गरिएको टिप्पणीको अनुरोधमा प्रतिक्रिया दिएको छैन । ब्लूस्काई एक्स (पूरानो ट्वीटर)का फाउन्डर ज्याक डोर्सेको हो । यसको सुरुवातमा ट्वीटरका पूर्वकर्मचारीहरू पनि संलग्न भएका थिए, जसमा ट्वीटरको सीईओसमेत रहेका पराग अग्रवाल पनि थिए । २०२२ को अन्त्यतिर एलन मस्कले ट्वीटरको जिम्मा लिएपछि उनले ब्लूस्काईको प्रविधि प्रयोग गरेर विकेन्द्रीकृत प्लेटफर्महरूको वेबमा ट्वीटरलाई समेट्ने पूर्वसम्झौता तुरुन्तै खारेज गर्दै त्यो प्रविधि समावेश गर्न काम गरिरहेका व्यक्तिहरूलाई बर्खास्त पनि गरेका थिए । पछिल्लो समय ब्लूस्काईका प्रयोगकर्ताकाे संख्या बढ्दै गइरहेको छ ।

आइसिटी अवार्डमा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक, पब्लिक भोटिङ सुरु

काठमाडौं । आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ । उत्कृष्ट ५ छनौटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरू १४ जना विज्ञ जुरीसमक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुति दिएका थिए । उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा बसियो सर्भिसेस प्रालि, क्रिमसन टेक प्रालि, फ्यान्टासी गेम्स प्रालि, जियोभेसन नेपाल प्रालि र हेल्थ याद आयो प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्डअन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ईनिर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन् । त्यस्तै, राइजिङ स्टार इन्नोभेसन विधामा बालि विज्ञान, डा फिस, हाइपर्स, स्पीकअप नेपाल र राइट अन एआई परेका छन् । साथै यसै वर्षदेखि थप भएको सोसल इन्नोभेसन विधामा कताहो, ईकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन् । आइसिटी अवार्ड २०२४ का यी ४ विधाहरूमा ३०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो । सेमिफाइनलिष्टहरूले मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट र गत कात्तिक २९ र ३० गते भएको टेकस्पायर स्टार्टअप आईडिया फेस्ट २०२४ मा सहभागी हुने अवसरसमेत प्राप्त गरेका थिए । उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरु भएको छ । पब्लिक भोटिङ हाम्रो पेमार्फत गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ । साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ मा सहभागी हुन पाउनेछन् । हाम्रो पेबाटै आफूलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्टहरूलाई आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान गरिने छ । यसैगरी, आइसिटी अवार्ड २०२४ अन्तर्गत अन्य व्यक्तिगत र संस्थातर्फका विधाहरूमा पनि छनौट प्रक्रिया जारी रहेको छ । व्यक्तिगततर्फ प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड तथा संस्थागततर्फ डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा छनौट प्रक्रिया सञ्चालन भइरहेको छ । साथै साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा पनि छनौट प्रक्रिया चलिरहेको छ । यस विधामा सार्क राष्ट्रबाट १०० बढीको आवेदन प्राप्त भएको थियो भने सर्वोत्कृष्ट छनौटको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरु रहेका छन् । यसबाहेक सातै प्रदेशका एक-एक स्टार्टअपलाई प्रोभिसियल स्टार्टअप आइसिटी रिकग्निसनसमेत प्रदान गरिने छ । यसले मोफसलमा स्टार्टअप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका लागि सातै प्रदेशमा केही समय अगाडि स्टार्टअप मिटअपसमेत आयोजना गरिएको थियो । सन् २०१६ बाट लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको यो नवौं संस्करण हो । सर्वोत्कृष्ट छनौटका लागि ६ महिनासम्म निरन्तर सञ्चालन हुने यस कार्यक्रम सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित छ । अवार्डमा १४ जना विज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको विशिष्ट सल्लाहकार समिति रहको छ । ६ महिनासम्म विभिन्न २५ बढी जुरी मिटिङ र दर्जन बढी प्रि-इभेन्टहरू हुने गरेका छन् ।

एनपीएलको टिकटिङ पार्टनर ‘खल्ती’मा अनलाइन टिकट खुला

  काठमाडौं । नेपालको डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महाउत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्नेछ । क्रिकेटप्रेमीहरूले खल्ती एपमार्फत सजिलैसँग टिकट काट्न सक्ने छन् । पहिलो दिन प्लेअफ र त्यसपछिका खेल हुने दिनबाहेक प्रतिदिन साधारण टिकटको मूल्य ३०० रुपैयाँका साथै भिआइपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुष्ठ सिजन पास पनि लिन सक्नेछन्ः साधारणको मूल्य ४ हजार ४८० रुपैयाँ र भिआइपी टिकटको मूल्य ८ हजार २४० रुपैयाँ रहेको छ । मंसिर १५ बाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुन गइरहेको एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी हुनेछन् ।