डीआईटी सोलुसन र आदिम कलेजबीच सहकार्य हुने, विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउने

काठमाडौं । दुर्गा इन्फर्मेसन टेक्नोलोजी सोलुसन प्रालि (डीआईटी सोलुसन) र चाबहिलस्थित आदिम नेशनल कलेजबीच समझदारी भएको छ । दुईबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक अनुभव, इन्टर्नशीप र रोजगारीको अवसर प्रदान गर्न सहकार्य गर्ने समझदारी भएको हो । शैक्षिक र व्यावसायिक क्षेत्रबीचको खाडल पुर्ने उद्देश्यले सहकार्य हुने भएको हो । दुवै संस्थाहरूले विद्यार्थीलाई उद्योगमै प्रयोग हुने सीपहरू सिकाउने र उनीहरूलाई रोजगारीका लागि तयार गर्ने प्रतिबद्धता जनाएका छन् । डीआईटी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुदीप घिमिरेले यस सहकार्यले आईटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताएका छन् । आदिम नेशनल कलेजका कार्यकारी निर्देशक मीना भट्टाराईले यो सहकार्यले विद्यार्थीलाई आईटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करिअरमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेकी छन् । डीआईटी सोलुसन र आदिम नेशनल कलेजबीचको यो सहकार्यले आईटी शिक्षा र उद्योगको सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत गर्नेछ । यसले नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्तिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। समझदारीका मुख्य विशेषताहरू इन्टर्नशीप कार्यक्रम: विद्यार्थीहरूलाई संरचित इन्टर्नशीप अवसर प्रदान गरिनेछ जसले उनीहरूलाई व्यावहारिक अनुभव र प्राविधिक सीप हासिल गर्न मद्दत पुग्नेछ । रोजगारीका अवसरहरू: योग्य स्नातकहरूलाई रोजगारीमा प्राथमिकता दिइनेछ । विद्यार्थीको प्रदर्शन र संस्थाको आवश्यकतालाई ध्यानमा राखेर रोजगारीका अवसरहरू सिर्जना गरिनेछ । सीप विकास: उद्योगका विशेषज्ञहरूद्वारा तालिम र कार्यशाला सञ्चालन गरिनेछ। विद्यार्थीहरूले प्रत्यक्ष परियोजनामा सहभागी भई अनुभव बटुल्न सक्नेछन् । ज्ञान साझेदारी: नयाँ प्रविधि र आईटी क्षेत्रका ट्रेन्डबारे अतिथि व्याख्यान र परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । कलेजले योग्य विद्यार्थीहरूलाई नामांकित गराउन सहयोग गर्नेछ । यो सहकार्यले विद्यार्थीहरूलाई के-के फाइदा ? प्रत्यक्ष परियोजनामा अनुभव उद्योगका विशेषज्ञहरूसँग नेटवर्किङको अवसर रोजगारीका लागि तयार हुने व्यावसायिक सीप

रिचार्ज कार्ड अभावको समस्या सुल्झिएको टेलिकमको दाबी

काठमाडौं । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा उक्त समस्या समाधान भएको नेपाल टेलिकमले जनाएको छ । हाल पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भईसकेको उल्लेख गरेको  छ । कम्पनीले केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन/प्रसारण भएको भन्दै उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत जिकिर गरेको छ । रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकहरुले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल पोइन्ट अफ सेल्स (एमपोस) र नमस्ते पे, ईसेवा, खल्ती र आइएमईपे लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको बताएको छ । रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीका प्रवक्ता हरि ढकालले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

जुम्लाको पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार

काठमाडौं ।  नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी यही मङ्सिर १६ गते देखि टुजीरफोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो । जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं.१, २ र ३  अन्तर्गतका  गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् । दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ । यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।