एनसीएचलएल अफर : पुस १६ सम्म नेपालपे इन्स्टन्टमार्फत् निःशुल्क फण्ड ट्रान्सफर
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्टन्टको फण्ड ट्रान्सफर निःशुल्क गरेको छ । एनसीएचएल डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा लागि परेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यमा ट्रान्सफर नि: शुल्क गरिएको हो । अब नेपालपे इन्स्टन्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरू तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पौष १६ गतेसम्मका लागि नेपालपे इन्स्टन्टमार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरूमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन्। नेपालपे इन्स्टन्टमार्फत एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो, जसमा लाभग्राहीको भर्जुअल प्राइभेट एड्रेस (भीपीए)को आधारमा फण्ड ट्रान्सफर गर्न सकिन्छ, जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ । हाल नेपालपे इन्स्टन्टको सुविधा कनेक्ट आइपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरूमा उपलब्ध रहेको छ ।
ईसेवा महाउत्सवः रवि बोमजनले जिते नामी कार
काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाको दशैं-तिहार र छठ पर्व लक्षित ‘ईसेवा महाउत्सव’मा रवि बोमजनले नामी कार जितेका छन् । गत असोज १ गते ईसेवाले ईसेवा महाउत्सव घोषणा गरेको थियो । सोही घोषणाबमोजिम मकवानपुरनिवासी बोमजङले नामी कार जितेका हुन् । गोलाप्रथाको माध्यमबाट उनी चुनिएका हुन् । ललितपुरको पुल्चोकस्थित एलिस कन्फ्रेन्समा आयोजित एक औपचारिक कार्यक्रमबीच उपहार विजेता घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेपाल क्रिकेट टीमका कप्तान रोहित पौडेल, ईसेवाका कार्यकारी अधिकृतहरू, प्रेस प्रतिनिधि, सेलिब्रेटी र कन्टेन्ट क्रिएटरलगायतकाे उपस्थिति थियो । २०८१ साल असोज १ देखि कात्तिक ३० गतेसम्म चलेको ईसेवा महा-उत्सव चलेको थियो । ईसेवा महा-उत्सवका अन्य विजेताहरूको नाम सोमबार नै इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको थियो । सरोजकुमार पाण्डे र अविन गुरुअचार्यले आईफोन १६ जितेका थिए । उनीहरूले १०० रुपैयाँको खेलमा सहभागी भई आईफोन जितेका हुन् । यसैगरी, अनिल चालिसे, दीपक महतो र अनिल सिंहले ईसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ हात पारे ।
टिकटकको ‘सेफ्टी एम्बेसडर’ कार्यक्रम सम्पन्न, डिजिटल सुरक्षाबारे छलफल
काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर, सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत सहितको प्यानल छलफल प्रस्तुत गरिएको थियो । प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरे । विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको यस प्लेटफर्मको नेपालमा सेफर टुगेदर अभियान सकारात्मक कदम हो । उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो । प्रश्न-उत्तर सत्रको क्रममा दर्शकहरूले क्रियटरहरूसँग अन्तरक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरे । यो अभियान टिकटकको जीवन्त र विविधतायुक्त कम्युनिटीहरूका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा हो । सेफर टुगेदर पहलमार्फत् टिकटकका प्रयोगकर्ताहरूले प्लेटफर्ममा उपलब्ध विभिन्न इन- एप सुरक्षा सुविधाहरूको फाइदा कसरी लिन सक्छन् भन्ने बारे जागरुकता सिर्जना गर्ने लक्ष्य राखेको छ । प्रयोगकर्ताहरूको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको छ । प्लेटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गर्दछ जसले प्लेटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन टिकटकले लागू गर्ने सबै कार्यहरू सम्बन्धि नवीनतम जानकारीहरू प्रदान गर्दछ । सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइड सहित टिकटकका सुरक्षा सुविधा र उपायहरूबारे सबै टुल्स र सुझावहरू पनि समावेश गर्दछ । यसबाहेक, सेफ्टी सेन्टरलाई अनुकुल राख्न यसका प्रयोगकर्ताहरूका लागि तयार दिशानिर्देशहरू नियमित रूपमा अद्यावधिक पनि गरिन्छ । टिकटकसँग अनुपयुक्त सामग्री र व्यवहारलाई मध्यस्थता गर्न सामुदायिक दिशानिर्देशहरूको बलियो सेट रहेको छ । सामुदायिक दिशानिर्देशनहरू उल्लङ्घन गर्ने कुनै पनि सामग्री वा अन्य प्रयोगकर्ताविरुद्ध हिंसालाई उक्साउने हानिकारक सामग्रीको लागि शून्य सहनशीलताका साथ टिकटकले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न कुनै कसुर बाँकी राख्दैन । सेफ्टी एम्बेसडर कार्यक्रमले नेपालमा डिजिटल सुरक्षाको लागि टिकटकको प्रतिबद्धतालाई सुदृढ बनाउँछ किनभने यस प्लेटफर्मले प्रयोगकर्ताहरूको अनलाइन र अफलाइन सुरक्षाका लागि निरन्तर लडिरहेको छ । यो अभियान प्रयोगकर्ताहरूलाई सुरक्षा, गलत सूचना र प्रामाणिक सामग्रीको शक्तिको बारेमा शिक्षित गर्ने टिकटकको सक्रिय प्रयासहरूको एक उदाहरण पनि हो । टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो लगायतका शहरहरूमा विश्वव्यापी कार्यालयहरू छन् ।