एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति प्रदान
काठमाडौ । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ । यस ‘पहिलो सिम’ योजना अन्तर्गत, एनसेलले तयारी कक्षा संचालन गर्ने १६ वटा ब्रिज कोर्स इन्स्टिट्युटहरुका ३/३ जना उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ । आफ्नो प्रतिबद्धता अनुरुप, एनसेलले योग्यता पुगेका अरु थप विद्यार्थीहरुलाई पनि यो योजना रहुञ्जेल आंशिक छात्रवृत्ति प्रदान गर्दै जानेछ । ब्रिज कोर्स इन्स्टिट्युटहरुले विभिन्न समयमा लिएको आन्तरिक परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरु आंशिक छात्रवृतिका लागि छानिएका हुन् । २०७३ सालका एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै एनसेलले ‘पहिलो सिम’ योजना अन्र्तगत उत्कृष्ट विद्यार्थी छनोट तथा छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न ब्रिज कोर्स इन्स्टिट्युटहरुसँग सहकार्य गरेको छ । एनसेलका अनुसार, आंशिक छात्रवृत्ति माध्यामिक शिक्षा पछिको उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षामा सहभागी भईरहेका विद्यार्थीहरुको मिहेनतको फल हो । ‘पहिलो सिम’ योजना अन्र्तगत परीक्षार्थीहरुले लिएको सिमले उनीहरुको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै आफ्ना साथीभाई तथा परिवारसँग सम्पर्कमा रहि रहन मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ । असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्छन् र माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्छन् ।
आम्दानीको ५ प्रतिशत भन्दा कममा इन्टरनेट पाइने, डेढ वर्षपछि ३७७ रुपैयाँमै इन्टरनेट
काठमाडौ । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा ३ सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ। सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार हाल इन्टरनेट सेवा प्रदायकहरूले करिब १ हजार वा त्यसभन्दा बढी शुल्क लिएर प्रवाह गरिरहेको यो सेवालाई ३७७ रूपैयाँमा झार्नुपर्नेछ। यो व्यवस्था अुनसार इन्टनरेट सेवाप्रदायकले हाल एक हजार रुपैयाँमा प्रदान गरिएको शुल्क नेपालीको बार्षिक राष्टिय आयको ५ प्रतिशत भन्दा कम हुनुपर्ने छ । अन्नपूर्ण पोस्टबाट ।
सार्वजनिक गाडीमा एनटी बस इन्टरनेट सेवा सञ्चालन हुने, टेलिकम र साइबरनेटिक्सबीच सम्झौता
काठमाडौं । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बस लगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सञ्चालन हुने भएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन भन्ने उद्देश्यले टेलिकम र साइबरनेटीक्स प्रा.लि.का बीच एनटी बस इन्टरनेट सञ्चालन सम्बन्धमा केही दिन अघि सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्याय र साइबरनेटीक्स प्रा.लि. को तर्फबाट अध्यक्ष जेम्स न्याछ्योँले हस्ताक्षर गरेका थिए । एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा कम्पनीका कर्पोरेट तथा व्यावसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले यस सहकार्यबाट लामो तथा छोटो दुरीका वस यात्रुहरुले यात्राका क्रममा वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडियोलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताए । उक्त अवसरमा साइबरनेटीक्स प्रा.लि. का अध्यक्ष जेम्स न्याछ्योँले एनटी बस इन्टरनेट सेवा सम्बन्धी विस्तृत जानकारी गराएका थिए । एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ । यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिन्छ । यसका लागि बस कम्पनीहरुले साइवरनेटीक्स प्रा. ली. सँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्नुपर्छ । एनटी बस इन्टरनेट सेवाबाट कुनै पनि सवारी साधनहरु जस्तै: बस, माइक्रोबस, कार आदिमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिन्छ । एनटी बस इन्टरनेट सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सकिनेछ । एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेमहरु एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । साथै आफ्नो सवारी साधन कहाँ छ, सोको जानकारी जिपिएस प्रविधि मार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ । यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्ड सहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउने छ ।