जाजरकोटमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध, निर्माणधीन सात टेलिफोन टावर अलपत्र

जाजरकोट । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् । नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । टावरको कभरेज कम भएकाले टावर आए पनि नेपाल टेलिकमको सदरमुकामस्थित टावरबाट करिब एक किमि दूरीमा रहेका स्थानीयका घरमा समेत टेलिकमको टुजी चल्दैन । खलङ्गा बजारभित्रै पनि फोनको गतिलो पहुँच नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । इन्टरनेट सेवा कमजोर हुँदा काममा समस्या भएको छ । मोबाइल फोन, नेटवर्क र इन्टरनेटको समस्या स्थानीय बासिन्दालाई मात्र नभइ सरकारी कार्यालय, वित्तीय संस्था, स्थानीय तहमा समेत परेको छ । सदरमुकाम खलङ्गा बजार क्षेत्रमा पर्ने थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्याणपुरलगायत स्थानमा समेत नेपाल टेलिकम मोबाइल सेवाको काम नगर्दा समस्या हुँदै आएको छ । टेलिकमले नियमित टावर मर्मत, नयाँ टावर निर्माण, क्षमता विस्तार, पावर अपडेट, लाइन सुधार गर्नेलगायत काम नगर्दा फोन तथा इन्टरनेटको सुविधा भरपर्दो नभएको स्थानीयवासी प्रकाश शाहीले बताए  । यसरी, टेलिफोन र इन्टरनेटकै कारण दुर्गमका सेवाग्राहीले सरकारी सेवा लिन सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा आवश्यकताअनुसार टावर निर्माण तथा मर्मत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा पनि टेलिफोन सेवाबाट वञ्चित भएका छन् । कुशे गाउँपालिकाको लाताचुली र जुनीचाँदे गाउँपालिका मजकोटको स्काई टावर बिग्रिएको एक वर्ष बितेको छ तर सम्बन्धित निकायले पुरानो टावर मर्मत र नयाँ टावर निर्माणमा बेवास्ता गरेको स्थानीय जुनीचाँदेका रेशमबहादर खड्काले बताउनुभयो । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकाका बासिन्दालाई फोनमा कुरा गर्न दुई घण्टा उकालो चढेर डाँडामा पुग्नुपर्ने बाध्यता छ । निर्माणाधीन सात टेलिफोन टावर अलपत्र जिल्लामा निर्माणाधीन सात ठाउँमा टावर अलपत्र अवस्थामा परेका छन् । रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माणाधीन टावर अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले लापरवाही गरेको टेलिकमले जनाएको छ । टावर निर्माणका लागि ठेकेदार कम्पनीसँग दुई वर्षअघि सम्झौता भएको थियो । नलगाड नगरपालिका–२ को गडी, बारेकोट गाउँपालिका ५ को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका ८ को लाँताचुली, शिवालय गाउँपालिका ५ को चिउँदुवा र जुनीचाँदे २ स्थित भैरीलेकको नमस्ते मोबाइल टावर निर्माण अलपत्र छन् । टावर निर्माणका लागि टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै काम सक्ने गरी भारतीय कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले टावर निर्माणमा लापरवाही गरेको मध्यपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले बताएका छन् । बाटुले, छेडा, चाल्ना, लाता, जिन्ताला, पाँचकाटीया, सक्ला, काप्ती, घाट, दह, गर्खाकोट, मनघाट, मोर्कबजार, चौखाबजार, बानियागाउँ, स्यानाखोलालगायत गहिरो स्थानका गाउँमा मोबाइल फोन सेवाको पहुँच पुगेको छैन । दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । नेटवर्क कमजोर हुँदा समस्या भएको टेलिकमका निमित्त प्रमुख लोकेन्द्र भण्डारी बताउँछन् । उनले भने, “रातामाटा टावरको लिंकमा बारम्बार डिस्टर्ब हुँदा थप समस्या छ, टावरको क्षमताभन्दा मोवाइलकर्ताको सङ्ख्या बढी हुँदा पनि नेटवर्कको समस्या भएको हो ।” बजारबाट वितरण भएका सिमको गणना हुन नसकेको उनी बताउँछन् । त्यस्तै, छिमेकी जिल्ला डोल्पाको मुड्केचुलाको नकुमा निर्माण गर्ने टावरका सामग्री वर्ष दिनदेखि रुकुमको त्रिवेणीमा अलपत्र अवस्थामा परेको छ । रासस

इन्टरनेटको मूल्य घट्ने, सेवा प्रदायकले फिर्ता लिए निर्णय

काठमाडौँ । माग बमोजिम दूरसञ्चार नियमावलीमा संशोधन भएपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । यससँगै विगत एक वर्ष अघिदेखि इन्टरनेटको मूल्य बढाउने र फिर्ता लिने प्रवृत्ति पनि अन्त्य भएको छ । मन्त्रिपरिषद्को यही साउन ६ गतेको बैठकले दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेपछि बढेको १३ प्रतिशत मूल्य घटाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल(आइस्पान)का निवर्तमान अध्यक्ष विनय बोहराले जानकारी दिए । नियमावली संशोधन भएपछि इन्टरनेटको मूल्य वृद्धि फिर्ता लिने भएका छौँ, उनले भने । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शूल्क लगाउने निर्णय गरेपछि सङ्घले गत वर्षको साउन १ गते नै मूल्य बढाउने घोषणा गरेको थियो । यद्यपि सरकारले तत्काल वार्ता गरी दूरसञ्चार नियमावलीमा आवश्यक संशोधन गर्ने र राउटरलगायत उपकरणको बिक्रीमा छुट्टै बिलिङ गर्न सक्ने र सो शुल्कमा दूरसञ्चार सेवा शुल्क नलाग्ने सम्झौता गरेपछि उक्त निर्णयबाट सङ्घ पछाडि हटेको थियो । यद्यपि सम्झौताअनुसार कार्यान्वयन नभएको भन्दै सङ्घले गत पुसमा पनि फेरि इन्टरनेटको मूल्य बढाउने घोषणा गरेको थियो । चालू आर्थिक वर्षको बजेटमा पनि इन्टरनेटमा सेवा शुल्क कायम भएपछि सङ्घले असार अन्तिम हप्ता मागबमोजिम नियमावली संशोधन नभएकाले फेरि इन्टरनेटमा उक्त १३ प्रतिशत सेवा शुल्क जोडेर मूल्य बढाउने निर्णय गरेको थियो । दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९ज० मा ‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिगे्रमा प्राधिकरणले तोकिदिएको स्तरअनुरूप निःशुल्क मर्मतसम्भार गर्नुपर्ने’ व्यवस्था भएकोले सरकारसँगको अघिल्लो वर्षको सम्झौताअनुसार बिलिङ गर्न पाउने र सो कुरा नियमावली संशोधन गरेर सम्बोधन हुनुपर्ने सङ्घको माग थियो । सोही माग बमोजिम साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन स्वीकृत गर्ने निर्णय गरेको हो । संशोधनपछि सेवा शुल्कबापतको ५० प्रतिशतमा भ्याट र कुनै कर लाग्ने छैन । सेवा शुल्कबापत बढ्ने १३ प्रतिशत मूल्य भने इन्टरनेट सेवा प्रदायकले हालकै मूल्यमा समायोजन गर्नुपर्नेछ । सरकारले पछिल्लोपटक जेठ ३० गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राउटरसहित इन्टरनेट लिज लाइन, डाटा कनेक्टिभिटी र मर्मत शुल्कमा समेत लगाइँदै आएको दूरसञ्चार सेवा शुल्क छुट गर्ने निर्णय गरेको थियो । घटेको मूल्य घरेलु इन्टरनेट प्रयोगकर्ता अर्थात् फिक्स्ड वायर प्रयोगकर्तालाई लागू हुनेछ । मोबाइल प्रयोगकर्ताको हकमा यो लागू हुने छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

इन्स्टाग्राममा नेपालको पर्यटकीय क्षेत्रको प्रचार, पर्यटक बढाउन सघाउने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम खासगरी तस्विरहरु पोस्ट गर्नका लागि चर्चित छ । नेपालमा सर्वसाधारणदेखि सेलिब्रिटीले इन्स्टाग्रामको प्रयोग गर्दै आएका छन् । इन्स्टाग्राम केवल रमाइलो र समय कटाउनका लागि मात्रै होइन केही राम्रा कामका लागि पनि सदुपयोग हु“दै आएको पाइन्छ । यसमा फोटो र भिडियो दुबै अपलोड गर्न सकिन्छ । नेपालका कतिपय इन्स्टाग्राम प्रयोगकर्ताहरूले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफ्नो तर्फबाट विशेष पहल गरिरहेका छन् । ती मध्ये एक हुन्, नेपाल पर्यटन बोर्र्डका रिसर्च, प्लानिङ एण्ड मोनिटरिङ विभागका सिनियर म्यानेजर सुनिल शर्मा । घुमघाममा निकै सोख राख्ने शर्मा समय मिल्यो कि क्यामेरा भिरेर नेपालका कुना कन्दरा दौडिन पुग्छन् । मिडियामा नआएका, खासै प्रचार–प्रसार नभएका नयाँ र/नयाँ गन्तव्य उनको प्राथमिकतामा पर्छन् । नयाँ ठाउँ पुगेर त्यहाँको वस्तुस्थिति, रहनसहन बुझ्नु, स्थानिय बासिन्दास“ग गफिनु र सुन्दर तस्विरहरू कैद गर्नु उनको रुची हो । आफू घुम्ने मात्र होइन । यसरी घुम्दा खिचिएका आकर्षक तस्विरहरुलाई उनी इन्स्टाग्राममा पोस्ट गर्छन् । पर्यटनका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था, पर्यटनसँग सम्बन्धित निकायलाई ट्याग गर्छन् । जसले गर्दा उनका तस्विरहरुमाथि धेरैको नजर पर्छ । ‘अबको समय नै सामाजिक सञ्जालको हो ।’ शर्माले प्रष्ट्याए, ‘चिरपरिचित मानिसहरुमाझ पुग्न यो भन्दा प्रभावकारी माध्यम अरु हुनै सक्दैन ।’ नेपाल पर्यटन बोर्र्डका शर्मा जस्तै नेपालमा अरु युवाहरु पनि छन्, जसले इन्स्टाग्राममार्फत नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने कोशिश गरिरहेका छन् । कुनै गन्तव्यलाई प्रचारप्रसार गर्न इन्स्टाग्राम निकै प्रभावकारी माध्यम हो । इन्स्टाग्रामरहरुले नेपालका हिमाली क्षेत्रहरु र अरु मानिसहरु सहजै घुम्न, पुग्न, नसकिने स्थानका तस्विरहरु पोस्ट गर्दै आएका छन् । इन्स्टाग्राममा एड्भेन्चर फोटोहरु पोस्ट गरेर चर्चामा आउनेहरुमा मोहन के दुवाल, सन्तोषराज पाठक, प्रकाश बुढा, रिसभ अधिकारी, उज्जवल राई, अनुज डि. अधिकारी रहेका छन् । मनै लोभ्याउने यी तस्विरहरू देख्दा जो कोहीलाई घुमौंघुमौं लाग्छ । यी इन्स्टाग्रामरहरुले पोस्ट गरेका तस्विरमा आउने विदेशी नागरिकहरुका प्रतिक्रियाले पनि त्यसको पुष्टि गर्छ । घुम्नका लागि नेपाललाई प्राथमिकतामा राखेका प्रतिक्रिया प्रशस्त पढ्न पाइन्छ । केही हदसम्म यसले नेपालको पर्यटन गन्तव्यको प्रचार प्रसारमा इट्टा थप्ने काम गरेको मान्न सकिन्छ । नेपालमा २ हजार भन्दा बढी ट्रेकिङ एजेन्सीहरु छन् । तिमध्ये अधिकांशले पर्यटकहरुलाई अन्नपूर्ण र सगरमाथा बेस क्याम्प घुमाउ“छन् । दुई वर्षअघि खुलेको माउन्टेन मेनिया टेक्स एण्ड एक्सपेडिसन्सले भने नयाँ/नयाँ रुटलाई प्राथमिकता दिएको छ । माउन्टेन मेनियाले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत नयाँ ट्रेकिङ रुटहरुको प्रचार–प्रसार गर्दै आएको छ । ‘हाम्रो अफिसियल इन्स्टाग्राम फोटो हेरेरै पनि पर्यटकहरु घुम्न आएका छन् ।’ माउन्टेन मेनियाका रुपक पराजुली भन्छन् ‘ट्राभल व्यवसाय चल्ने भनेकै फोटो र भिडियोकै कारणले हो । मानिसहरु पहिला फोटो नै हेर्छन् । पछि घुम्ने निर्णय गर्छन् ।’ इन्स्टाग्रामले राम्रै प्रभाव पारिरहेको छ । नेपालमा विदेशी पर्यटकहरु आएको थुप्रै उदाहरणहरु रहेको उनी बताउ“छन् । माउन्टेन मेनियाले ट्रेकिङका लागि पहिल्यैदेखि चलिरहेका रुट भन्दा नयाँ रुटलाई बढी प्राथमिकता दिन्छ । हरेक गन्तव्यका तस्विरहरुलाई आफ्नो अफिसियल इन्स्टाग्राममा पोस्ट गर्छ । ‘अरु भन्दा फरक हुन मन लाग्यो ।’ पराजुली भन्छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने तयारी भइरहेको छ । यस्तो बेला नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगमार्फत नेपालको पर्यटन प्रचार–प्रसार गर्न एकदमै जरुरी रहेको पराजुली सुझाउँछन् । सामाजिक सञ्जालको प्रयोगमार्फत गरिने यस्तो प्रचारले आउँदा दिनमा पक्कै त्यसको प्रभाव पर्नेमा उनी विश्वस्त छन् । इन्स्टाग्राममार्फत नेपालको प्रचार–प्रसार गर्नेहरुलाई माउन्टेन मेनिया टेक्स एण्ड एक्सपेडिसन्सले आफ्नो वेवसाइटको लिस्टमा राख्ने गरेको छ । माउन्टेन मेनियाका अनुसार इन्स्टाग्रामरहरुलाई उत्साह दिन र उनीहरुमा आत्मविश्वास थप्न यस्तो गरिएको हो । ओड्से नेपाल, नेपाल एट वन्डर लगायतको एकाउन्टहरुले पनि इन्स्टाग्राममार्फत नेपालको प्रचार–प्रसार गरिरहेका छन् । नेपाल बाहिरबाट सञ्चालित स्टोरी अफ हिमालयज्ले पनि नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सघाइरहेको छ । सन् २०१० को अक्टोवरमा लन्च गरिएको इन्स्टाग्राम विश्वभरी फैलिसकेको छ । फोटो र छोटो भिडियो सेयरिङका लागि प्रख्यात इन्स्टाग्राम केभिन सेस्ट्रोम र माइक क्रेइजरले निमार्ण गरेका हुन् । जसको स्वामित्व पछि फेसबुकले खरिद ग¥यो । यसले सर्टी अवार्डस् फर एप्स हात पारेको थियो । हाल ३६ वटा भाषामा यो उपलब्ध छ । एक वेवसाइट https://napoleoncat.comले प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा ११ लाख २३ हजार ४ सय प्रयोगकर्ताहरु छन् । जुन नेपालको जनसंख्याको ३.७ प्रतिशत हो । नेपालमा १८ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरु इन्स्टाग्रामका प्रयोगकर्ताहरु छन् । विश्वमा सबैभन्दा बढी लोकप्रियता हासिल गरेको इन्स्टाग्रामका प्रयोगकर्ताहरु दिनहुँ बढिरहेका छन् । अरु सोसल मिडिया भन्दा यसमा इङ्गेजमेन्टको दर पनि बढी (२.३ प्रतिशत) नै छ । त्यसो त पछिल्लो समय मार्केटिङका लागि सामाजिक सञ्जालहरु प्रभावकारी माध्यम बनेका छन् । परम्परागत सञ्चार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिकामा पहिले भन्दा तुलनात्मक रुपमा विज्ञापन दिने क्रम घट्दो छ । त्यसको स्थान फेसबुक, युट्युब, इन्स्टाग्रामले लिन थालेका छन् । विश्वमा विभिन्न सेलिब्रिटीहरुले चर्चित ब्राण्डका प्रोडक्टको इन्फ्लुयन्सरका रुपमा पनि काम गरिरहेका छन् ।