प्राकृतिक विपद् सम्बन्धी पूर्व जानकारीः टेलिकमले मोबाइलमा पठाउँछ सन्देश
काठमाडौँ । बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी दिन मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको हो । हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिएको छ । यस अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराइरहेको जनाएको छ । विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । प्राकृतिक विपद्बाट सकेसम्म कम क्षति हुने वातावरण निर्माण गर्नुलाई दुवै संस्थाले दायित्वका रुपमा लिएका छन् ।
यात्रुको डाटा चोरेका अभियोगमा ब्रिटिस एअरवेजलाई २२ करोड ९० लाख डलर जरिवाना
लण्डन । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमान कम्पनीको मातृ समूह इन्टरनेशनल एअरलाइन्स ग्रुप(आएजी) ले सोमबार जनाएको छ । कम्प्युटरका घुस पैठ (ह्याकर)हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो । आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ ।” आइएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर हो । रासस/एएफपी
अनलाइन सेवा विस्तार हुँदै, सञ्चालनमा आयाे ६६ कार्यालय
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचना प्रविधिको उच्चतम प्रयोग गरी हालसम्म ६६ वटा कार्यालयमा अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । करिब दुई वर्ष अगाडि शुरु गरिएको यस किसिमको सेवा सबै मालपोत तथा भूमिसुधार कार्यालयमा सञ्चालन गरी जग्गा प्रशासनमा सुशासन कायम गरिने लक्ष्य राखिएको छ । जग्गा प्रशासनसम्बन्धी कागजपत्र भौतिकरुपमा क्षति भएमा त्यसको तथ्याङ्कलाई केन्द्रमा सुरक्षित गर्न सकिने व्यवस्था मिलाइएको छ । आगामी दिनमा अन्य कार्यालयमा पनि विस्तार गर्दै लैजाने योजना रहेको मन्त्रालयले जनाएको छ । मालपोतमा कुनै पनि कारोवारलाई व्यवस्थित गर्न शुरु गरिएको यस सेवाले राजश्व सङ्कलनमा पनि सहजता कायम गर्नेछ । ‘आधुनिक जग्गा प्रशासन, पारदर्शिता र सुशासन’ भन्ने नाराका साथ मालपोत कार्यालयमा आफ्नो जग्गासम्बन्धी कारोवार गर्न घरबाटै इन्टरनेटमार्फत लिखत तयार गरी कार्यालयमा पेश गर्न सकिने व्यवस्थासमेत केही कार्यालयबाट शुरु गरिएको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिएका छन् । कलङ्कीस्थित कार्यालयमा एउटै कोठाबाट सबै काम गर्न सकिने, पुराना लिखत, मोठ, स्रेस्ता सबै कम्प्युटरमा राखी सजिलै खोज्न र भिडाउन सकिने, कम्प्युटरबाटै स्रेस्ता पूर्जा तयार गर्न सकिने लगायतका कार्यको शुरुआत भएको छ । यसबाट सेवाग्राहीले भोग्दै आएका कठिनाइ, तेस्रो पक्षको सहभागिताका कारण सिर्जना हुने झण्झटको अन्त्य भई सरल, सहज र पारदर्शी सेवा प्रवाह हुने विश्वास गरिएको छ । रासस